Logo

विकास / पूर्वाधार

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित


GDP नेपाल
   २ कार्तिक २०७८, मंगलबार


काभ्रेपलाञ्चोक ।

‘खाद्य हरियाली सहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो ।

विश्वका १३६ देशका सहर सदस्य रहेको सङ्गठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ । विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिनुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका ब्याञ्जूले महासभालाई सोमबार सम्बोधन गर्नुभएको थियो । “संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय हो”, उहाँले भन्नुभयो ।

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलस्समेत सूचीकृत छन् ।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको ब्याञ्जूले बताउनुभयो । धुलिखेल संसारका ठूला र सफा सहरको सूचीकृत हुनु गौरवको विषय मानिएको छ ।

यसअघि नगरले जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको थियो । नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउँदा दिनमा समेत नगरद्वारा जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

यसैबीच, सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका बीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगोरुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको ब्याञ्जूले बताउनुभयो । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ ।”

यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएकोे छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह