Logo

विकास / पूर्वाधार

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


डडेल्धुरा ।

वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ ।

राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय डोटीले जानाएको छ ।

सडकमाथि ठूलो चट्टान छ । चट्टानभन्दा केही माथि गाउँ रहेको छ । चट्टान काटेर सडक बनाइने सडक डिभिजन कार्यालयको योजना भए पनि स्थानीयले काट्न दिएका थिएनन् । स्थानीयले काममा अवरोध गरेपछि आज चट्टानभन्दा मुनितिरबाट सडक बनाउन थालिएको कार्यालयले जनाएको छ ।

चट्टानमुनितिरबाट सडक बनाउन निकै कठिन रहेको जनाइएको छ । खोलातिरको भाग भाँसिदै गएको छ भने माथिबाट चट्टान खस्ने सम्भावना भएकाले काम गर्न निकै गाह्रो भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताउनुभयो ।

आज बिहानदेखि सडक बनाउन थालिएको हो । पहिरो खसेको पूर्वसकायलतर्फबाट पनि डोजर लगाइने जनाइएको छ । तल नभाँसिएमा र माथिबाट पहिरो नखसे आज बेलुकी वा सोमबारसम्म राजमार्ग सञ्चालन हुने सम्भावना छ । नभए केही दिन अरु लाग्ने उहाँले बताउनुभयो ।

रडुवाखोलमा खसेको पहिराका कारण अहिले यात्रु रडुवाबाट माथिपट्टी गन्यापधुराको गाउँ भएर पैदल ओहोरदोहोर गरिरहेका छन् । पहिरो खसेको स्थानबाट पैदल आवतजावत पनि गर्न सकिएको छैन । डडेल्धुरालगायत अन्य स्थानबाट रडुवासम्म मात्रै गाडी सञ्चालनमा छन् । त्यहाँबाट सकायलसम्म पैदल हिँडेपछि डडेल्धुरा, डोटी, अछाम र बाजुरा जाने गाडी पाइने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह