Logo

विकास / पूर्वाधार

स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालन गर्न पहल


GDP नेपाल
   १७ कार्तिक २०७८, बुधबार


रसुवा ।

स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ । छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ ।

स्थानीय प्रशासनले नदी किनारको सडक सुधारको पहल सुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैशीलगायत सुरक्षा निकायसमेतको टोलीले स्थलगत निरीक्षण गरी हिउँदयामभर नदी किनारको छोटो मार्ग तत्काल सञ्चालनमा ल्याउन जिम्मेवार निकायलाई आग्रह गरेको हो । नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्न सडकखण्डमा बगेको पानीलाई एकत्रित गर्ने, खाल्डाखुल्डी सम्याउने तथा सडक ग्राभेल गर्ने काम यथाशक्य छिटो गराउन सडक सुधार आयोजनालाई प्रजिअ जैशीले निर्देशन दिनुभएको छ ।

“चाडपर्व सकिँनासाथ निर्देशन कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ”, सहायक प्रजिअ दुर्गा थापाले भन्नुभयो । स्याफ्रुबेँसीबाट मैलुङसम्मको १७ किमी सडकको तत्काल सुधार गर्नुपर्ने देखिएको छ । गत असारको भारी वर्षाका कारण स्याफ्रुबेँसी–मैलुङ सडकखण्डमा क्षति पुगेको थियो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक विस्तार आयोजनाले सुधारका सबै काम स्थगन गरेपश्चात सवारीसाधन आवतजावत बन्द गरिएको थियो ।

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सहयोगमा वर्षायामको अवरोध दसैँअगावै हटाइ यातायात सञ्चालन सहज पार्न धुञ्चे पुछारको त्रिशूली खोलामा फलामे पुल निर्माण गरिएको छ । गल्छीबाट त्रिशूली, मैलुङ, स्याफ्रुबेँसीसम्म त्रिशूली तथा भोटेकोसीको किनारको सडक व्यवस्थित गर्न गत वर्षदेखि काम अगाडि बढाइएको हो । कोरोना सङ्क्रमण र बाढीपहिराका कारण उक्त सडकको काम अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह