Logo

विकास / पूर्वाधार

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा


GDP नेपाल
   २४ कार्तिक २०७८, बुधबार


काभ्रेपलाञ्चोक ।

बनेपा नगरपालिकाको भैँसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायाङ्कनस्थल ९स्टुडियो०को निर्माणार्थ आवश्यक प्रक्रिया पूरा भएको छ ।

यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)लगायत आवश्यक तयारी पूरा भई निर्माणको प्रक्रिया अघि बढाएको चलचित्र विकास बोर्डले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको १० र १३ नं वडासिमास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ् स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माणको प्रक्रियागत काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो ।

“भैँसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको छ, सबैभन्दा पहिला सुटिङ्का लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सूटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुनेछ ।

इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथो प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्यूजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ ।

स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आवश्यक प्रशासनिक कार्यका लागि रु दुई करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । “बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो”, उहाँले भन्नुभयो । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाइ काम सुरु गरिने जनाइएको छ ।

“नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ” अध्यक्ष दाहालले भन्नुभयो ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह