Logo

कर्पोरेट-बजार

किन टिक्दैनन् महासंघमा प्रमुख ?


appharu
   २० चैत्र २०७४, मंगलबार


जिडिपी नेपाल । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा सचिवालयको नेतृत्व सामान्यतया महानिर्देशक (डिजी) ले गर्ने प्रचलन रहेकोमा पछिल्लो पटक नयाँ पद सिर्जना गर्दै महासचिव बनाइयो ।

नेपाल सरकारका सचिव भइसकेका सुरेशमान श्रेष्ठले निजामति सेवामा डिजी भनेको सहसचिवसरहको पद भएको र आफूले सरकारी निकायमा जाँदा अपमानित महशुस गर्नुपरेको भन्दै महासचिव पद पाउनुपर्ने माग गरेपछि उनकै आग्रहमा यो पद सिर्जना गरिएको हो । निजामति सेवामा सचिव हुँदा औषत क्षमता देखाएका श्रेष्ठले महासंघको महासचिव भएर स्मरण गर्न लायक काम भने गर्न सकेनन् । अन्ततः महासंघ नेतृत्वसँग असहमत भएर राजीनामा नै दिएर हिँडे ।

महासंघका महासचिव श्रेष्ठले राजीनामा मात्र दिएनन्, महासंघको वर्तमान नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै महासंघभित्र हुर्कंदो गुटबन्दी र राजनीतिकरणका सम्बन्धमा प्रतिवेदन नै दिएका छन् । अघिल्लो वर्षको जेठ ७ गते तीन वर्षका लागि नियुक्त भएका श्रेष्ठ र महासंघ अध्यक्ष भवानी राणाबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । महासंघका सर्वशक्तिमान अध्यक्षसँगै असहमति भएपछि श्रेष्ठको राजीनामा भने अपेक्षित नै थियो ।

यसअघि पनि तत्कालिन अध्यक्ष पशुपति मुरारकासँग असहमति जनाउँदै महानिर्देशक पदबाट धरणीधर खतिवडाले राजीनामा दिएका थिए । खतिवडा पनि सरकारका पूर्वसचिव नै हुन् । महासंघमा उनले पनि एक वर्षसम्म काम गरेनन् । उनले राजीनामा दिएपछि वरिष्ठ निर्देशक मीना श्रेष्ठले निमित्त महानिर्देशकको हैसियतामा साधारणसभा सञ्चालन गरेकी थिइन् । महासंघको विधानअनुसार साधारणसभाको निर्णय महानिर्देशकले प्रमाणित गरेपछि मात्र लागू हुन्छ ।

श्रेष्ठ र खतिवडामात्र होइन, त्यसअघिका महानिर्देशक डा. हेमन्त दवाडीसमेत महासंघमा आफ्नो दोस्रो कार्यकालको बीचमै हिँडे । कुशकुमार जोशीको कार्यकालमा महानिर्देशक नियुक्त दवाडीले सुरज वैद्यको कार्यकालभर काम गरे पनि त्यसपछि उत्पन्न परिस्थितिथमा दोहोरो मारमा परेपछि राजीनामा दिएका हुन् । महासंघ प्रवेशअघि एनआरएन सचिवालयमा महानिर्देशक रहेका डा. दवाडी फेरि सोही पदमा फर्किएका छन् । उनले केही समय समृद्धि नामक गैरसरकारी संस्थामा काम गरे, जसको अध्यक्ष सुरज वैद्य छन् ।

महासंघ बाहिरबाट हेर्दा जति आकर्षक लाग्दछ, भित्रभित्र भने कुनै आकर्षक नरहेको जानकारहरु बताउँछने । आर्थिक रुपमा महासंघ कहिल्यै बलियो नभएकाले यसलाई धनीहरुको गरिब संस्थाका रुपमा समेत हेर्ने गरिएको छ । राजीनामा पत्रमा श्रेष्ठले पनि यसको आर्थिक पक्षबारे उल्लेख गरेका छन् । उनले आथिएक रुपमा महासंघ टाट पल्टिन लागेको उल्लेख गरेका छन् ।
हुन पनि महासंघ नेतृत्वमा रहेकामध्ये वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकालको आर्थिक हैसियत मुलुककै औंलामा गन्न सकिने अर्बपतिको सूचिमा छ भने उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रदान पनि उदयीमान धनाढ्यको सूचिमा पर्दछन् ।

प्रकाशित : २० चैत्र २०७४, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह