Logo

विचार/दृष्टिकोण

बिमस्टेक सार्कको विकल्प हुन सक्दैन


appharu
   ७ भाद्र २०७५, बिहिबार


काठमाडौं । परराष्ट्रविद डा. दिनेश भट्टराईले यही भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो विमस्टेक शिखर सम्मेलनलाई नेपालले अवसरको रुपमा उजागर गर्नुपर्ने बताएका छन् ।
उनले भने,‘यो सम्मेलनमार्फत नेपालले आफ्नो मुलुकको अन्तर्राष्ट्रिय व्यक्तित्व उजागर गर्नुपर्छ । यसको लागि शिखर सम्मेलन महत्वपूर्ण अवसर हो ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले विमस्टेक शिखर सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. भट्टराईले भने,‘नेपालको लागि विमस्टेकका सदस्यहरुमासमेत विश्वासमा आधारित सम्बन्ध अघि बढाउन यो महत्वपूर्ण अवसर हुनेछ । नेपालले सोही अनुसारको आफ्नो तयारी गर्नुपर्छ ।’

‘सन् २०१४ मा हामीले मुलुकमा संक्रमणकाल हुँदापनि सफल रुपमा सार्कको सम्मेलन सम्पन्न गरेका थियौं । अहिले चुनावपछिको परिवर्तित अवस्थामा नेपालले विमस्टेकको शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको छ । यो एउटा अन्तर्राष्ट्रिय जमघट पनि हो । यसलाई हामीले ठूलो अवसरको रुपमा लिएर मुलुकको हितमा उपयोग गर्नुपर्छ,’ देवकोटाले भने ।

विमस्टेकलाई क्षेत्रिय संगठनमात्रै नभएर यसलाई अलिकति ठूलो बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘अलिकति हामीले भू–राजनीतिक अवस्थालाईपनि ध्यान दिएर विमस्टेकको क्षेत्र र दायरालाई बढाउनुपर्छ ।’

डा. भट्टराईले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई ‘रिभाईभ’ गर्नको लागिपनि विमस्टेकको यो चौथो शिखर सम्मेलनलाई उपयोग गर्नुपर्ने सुझाव दिए । उनले भने,‘विमस्टेक सार्कको विकल्प हुनै सक्दैन् ।’

त्यस्तै उनले विमस्टेकको यो शिखर सम्मेलनमार्फत नेपालले आफ्नो देशको प्राथमिकताहरु यी–यी हुन भनेर सार्वजनिक गर्न सक्नुपर्नेपनि धारणा राखे । उनले भने,‘यो सम्मेलनमार्फत नेपालले आफ्ना प्राथमिकताहरुसमेत सार्वजनिक गर्नुपर्छ । हाम्रा प्राथमिकताहरु हामीले यो हो भन्न सक्नुपर्छ ।’ नेपाल सरकारले विमस्टेक क्षेत्रका घट्नाहरुको सही विश्लेषण गर्न सक्नुपर्नेपनि उनको सुझाव छ ।

विमस्टेकको चौथो शिखर सम्मेलनको थिम अनुसार अबका कार्यक्रम र गतिविधिहरु अघि बढाउनुपर्नेपनि भट्टराईको भनाई छ । उनले भने,‘विमस्टेकका सदस्य राष्ट्रहरुबीच यो साझा विषय भनेको बुद्धिज्म नै हो । यो विषय सन् २०१४ मा म्यानमारमा सम्मेलन हुँदा तत्कालिन् प्रधानमन्त्री सुशील कोइरालालेनै बुद्धिष्ट सर्किटको प्रस्ताव अघि सार्नुभएको हो। यसको साथै हामीले विश्व सम्पदाहरुलाई पनि अझै व्यापक प्रर्वद्धन गर्नुपर्ने छ।’

जतिसुकै मतभिन्नताहरु भएपनि लोकतान्त्रिक प्रक्रिया र विधि अनुसार आपसी अविश्वासलाई हटाउनुपर्ने बताउँदै यो कुरा विमस्टेकको यो शिखर सम्मेलनमा काठमाडौं घोषणापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने डा. भट्टराईको सुझाव छ । उनले भने,‘हामीले ईनवार्ड लुकिङभन्दापनि क्षेत्रिय संगठन भनेको पनि अन्तर्राष्ट्रिय कोअपरेशनभित्रै पर्छ भन्ने हिसावले अघि बढ्नुपर्छ । कुटनीतिमा समय, सन्दर्भ, शब्द र स्थानको ठूलो महत्व हुन्छ । हामीलेपनि यी कुराहरुलाई विशेष ध्यान दिनुपर्छ ।’ नेपालले आफ्नो राष्ट्रिय अडान यो भनेर प्रस्तुत हुनुपर्ने उनको भनाई छ ।

नेपालले आतंकवादविरुद्ध निन्दामात्रै गरेर नहुने बताउँदै उनले भने,‘यस सम्बन्धमा ईमानदार सहकार्यको सुरुवातपनि गर्नुपर्छ ।’ त्यस्तै विमस्टेकमा पर्यटन र कनेक्टिभिटीलाई बढि जोड दिनुपर्नेपनि उनको भनाई छ । भट्टराईले भने,‘पर्यटन र कनेक्टिभिटी भनेको त यो क्षेत्रका जनताको लाईफलाईन नै हो ।’

प्रकाशित : ७ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह