Logo

बैंक / बिमा /शेयर

अमेरिकामा अब नेपाली लगानीको बैंक !


appharu
   १० भाद्र २०७५, आइतबार


काठमाडौं । नेपालीहरुको लगानीमा अब अमेरिकामा पनि बैंक खुल्ने भएको छ । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ ।

अमेरिकाको न्युयोर्कबाट पहिलो बैंकिङ सुरु गरेर अमेरिकाको विभिन्न सहरमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो ।

अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ ।

एभरेस्ट फेडरल क्रेडिट युनियनका संस्थापक सदस्यहरूले तीन वर्षदेखि लगातार रूपमा कानुनी प्रक्रिया, रिक्वायरमेन्ट, सर्भे, बिजनेश प्लान, फाइनान्सियल प्लान, मार्केटिङ प्लान, बाइलज, पोलिसिज, एफबीआई इन्भेस्टिगेसन, एनसीयूएसँग विभिन्न तहका मिटिङ र समझदारी गरेको हो ।

नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनहरूको सर्वोच्च नियामक फेडरल गभर्मेन्टअन्र्तगत रहेको नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसन (एनसीयूए)सँग समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको छ ।

संस्थाका बोर्ड अफ डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्युयोर्कस्थित व्यापारिक केन्द्र वाल स्ट्रिट नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वालस्ट्रिटलाई संसारकै आर्थिक–व्यापारिक केन्द्रका रूपमा चिन्ने गरिन्छ ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवं आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवं कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

अमेरिकी सरकारले यस्ता सामुदायिक बैंकलाई कर छुट दिने भएकाले अन्य बैंकका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउनेछ । साथै, बचतमा बैंकको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरू नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुने जनाइएको छ ।
संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउन्ट, सेभिङ एकाउन्ट, रिटायरमेन्ट एकाउन्ट, विशेष मुनाफा वितरण हुने विशेष एकाउन्ट, डेबिट कार्ड, सवारीसाधन ऋण, व्यक्तिगत ऋणजस्ता सुविधा पाउनेछन् ।

साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य बैंकिड सुविधाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । अमेरिकाभर बसोबास गर्ने नेपाली समुदायभित्रका सबै व्यक्तिहरूलाई संस्थामा सदस्य र डिपोजिटर बनाएर सुविधा प्रदान गर्ने लक्ष्य एभरेष्ट फेडरल क्रेडिट युनियनले लिएको छ र त्यहीअनुसार सबै राज्यहरूमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पु¥याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।

हालसम्म एभरेस्ट फेडरल क्रेडिट युनियनले न्युयोर्क, ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट दर्ता प्रक्रियासम्मका लागि काम गर्दै आएको छ । अब नेसनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसनबाट अनुमति पाएसँगै वित्तीय कारोबारका लागि युनियनले छुट्टै भवन खोज्ने प्रक्रिया शुरु गरिसकेको छ ।
न्यूयोर्क, क्विन्सस्थित ज्याक्सन हाइट्सबाट पहिलो बैंकिङ कारोबार सुरु गर्ने एभरेस्ट फेडरल क्रेडिट युनियनले नेपालीभाषीको घनाबस्ती रहेका राज्यहरू टेक्सस, क्यालिफोर्निया, डिसी भर्जिनिया मेरिल्याण्ड, म्यासच्युसेट, प्mलोरिडा, जोर्जिया, वासिंटन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायतका अन्य राज्यका सहरमा आवश्यकताअनुसार शाखा विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

प्रकाशित : १० भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह