Logo

कर्पोरेट-बजार

एपेक्स कलेजमा कान्तिपुर मिडिया ग्रुपको लगानी, डिजिटल एपेक्स विङको घोषणा


GDP Nepal
   ७ पुस २०७८, बुधबार


काठमाडौं । कान्तिपुर मिडिया गु्रप (केएमजी) ले राजधानीको एपेक्स कलेजमा लगानी गरेको छ । केएमजीको भगिनी कम्पनी एमएनएस नेक्स्ट भेञ्चर कोर्पले यससम्बन्धी सम्झौता गरेको हो ।

केएमजीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एपेक्समा लगानी गरेको औपचारिक जानकारी गराएको हो । तर, कलेजको कूल स्वामित्वमध्ये कति हिस्सा लिइएको हो भन्ने खुलाइएको भने छैन ।

“केएमजीले उच्चकोटीको प्रतिवद्ध शैक्षिक संस्था एपेक्स कलेजसँग सहकार्य गर्न थालेको सुनाउन पाउँदा हामीलाई खुशी लागेको छ,” विज्ञप्तिमा भनिएको छ ।

सन् २००० देखि सञ्चालित एपेक्स कलेजमा ३२ जना पूर्णकालिन प्राध्यापक एवम् ३८ जना व्यवस्थापकीय कर्मचारीसहितको टिम रहेको छ । केएमजीले यसलाई थप समुन्नत बनाउँदै यहाँ अध्ययनरत् विद्यार्थीहरुलाई अतिरिक्त अवसरहरु उपलव्ध गराउने उद्देश्यसहित यसमा लगानी गर्ने निर्णय लिएको जनाएको छ ।

अघिल्लो सातामात्र केएमजीको भगिनी कम्पनी एमएनएस नेक्स्ट भेञ्चर कोर्पले यससँग एक सम्झौता गरी एपेक्स कलेज स्टार्टअप सेन्टर बनाउन १ करोड रुपैयाँको कोष खडा गर्ने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ । यो धनराशी यस कलेजका विद्यार्थी एवम् पूर्वविद्यार्थीहरुको नवीन सोचमा आधारित परियोजनालाई सघाउन उपयोग गरिने जनाइएको छ ।

एपेक्सबाट दीक्षित विद्यार्थीलाई प्रतिष्ठित उद्योग–प्रतिष्ठानहरुले प्राथमिकताका साथ रोजगारीमा लिने प्रबन्ध मिलाउन यसबीचमा छुट्टै समझदारी–पत्रहरुमा पनि हस्ताक्षर गरिन लागेको उल्लेख छ । एपेक्सका उत्कृष्ट विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानआर्जनका निम्ति पेड इन्टर्नसीपमा पठाउने तथा त्यहींबाट नियमित काममा राख्न सकिने व्यवस्थासमेत मिलाइने जनाइएको छ ।


“हाम्रा विद्यार्थीहरुको क्षमता अभिवृद्धिको वातावरण बनाउन एपेक्सभित्र चाँडै नै बिजिनेश इन्टेलिजेन्स सेन्टरको स्थापनाका साथै मार्केट–रिसर्च र प्रकाशनको काम पनि थालिनेछ,” विज्ञप्तिमा भनिएको छ, “यो सेन्टरले नियमित रुपमा विभिन्न उद्योग–प्रतिष्ठानहरुमा आधारित केस स्टडीहरु पनि गर्नेछ, जो उद्यमी, व्यवसायी, बजार अध्येतादेखि परिवर्तनका बाहकसम्म सबैलाई निकै उपयोगी हुनेछ । हामी एपेक्स परिवारका सबैलाई यस सेन्टरमार्फत गहन अनुसन्धान गर्न एवम् बजारमा बढ्दा समस्याहरुको सामना गर्न यसबाट निस्कने निष्कर्शहरुलाई उपयोग गर्न प्रोत्साहित गर्नेछौं ।”

एपेक्सले यसबीचमा आफूलाई एउटा पेपरलेस अर्गनाइजेसन बनाउन सकेको भन्दै कम्पनी यसमा गर्व गर्दछ भनिएको छ । एपेक्सले हाल आफ्नो प्राज्ञिक प्रशासन, परीक्षा, पुस्तकालय, लेखा, वित्तीय प्रबन्ध आदि ईआरपी सोलुसनमार्फत् व्यवस्थापन गर्दै आएको छ ।

यस्तै, एपेक्सले हालैको कोभिड–१९ का कारण लकडाउन हुँदा जस्तो प्रतिकूल परिस्थिती आउँदा समेत सहज ढंगले कक्षा सञ्चालन गर्न र विद्यार्थीले चाहेको बेलामा पुनः कक्षा लिन मिल्ने सिस्टम बनाउन चाँडै नै डिजिटल एपेक्स विङ पनि स्थापना गर्न लागेको जनाइएको छ । विद्यार्थीको सिकाई क्षमता बढाउन, परीक्षाको प्रभावकारी तयारी गर्न र विभिन्न बिषयमा विस्तारित अध्ययन गर्न चाहने विद्यार्थीलाई तद्नुरुप सुविधा उपलव्ध गराउन पनि यो डिजिटल विङले काम गर्ने उल्लेख छ ।

केएमजीले भनेको छ, “कुनै पनि मुलुकको प्रगतिका वाहक भनेका त्यसका शिक्षित जनशक्तिहरु हुन्, जसको उन्नत सोचमा आधारित विकासले आम जनताको समुन्नती गर्दछ । एपेक्स कलेजसँग हातेमालो गर्ने केएमजीको निर्णय यही सोचमा आधारित छ । यसलाई परिणाममुखी बनाउन हामी प्रतिवद्ध छौं ।”

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह