काठमाडौं ।
नबिल बैंक लिमिटेडले पुस ३० गते ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९:३० बजे बस्ने जनाइएको छ ।
सभाले बैंकको सञ्चालक समितिले घोषणा गरेको ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश गरि कुल ३८ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै, सभाले अधिकृत पुँजी वृद्धि गरी १९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्तापुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुर्याउने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न तथा वैदेशिक रणनीति साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्यिारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित गर्नेछ ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया