काठमाडौं । कैलाली उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतासमाथि राज्यले गरेको व्यवहार पूर्वाग्रहप्रेरित रहेको टिप्पणी गरेको छ ।
राज्यले आह्वान गरेको टेन्डरमा विधिपूर्वक प्रतिस्पर्धा गरी सम्झौतासमेत भइ काम गरिरहेको अवस्थामा विभिन्न आरोप प्रत्यारोप लगाउँदै निर्माणाधीन संरचनाहरु भत्काइनु विरोधाभाषपूर्ण र पूर्वाग्रहप्रेरित रहेको संघको भनाइ छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोबल गिराउने काममात्र गरेको छैन, आफैंले गरेका निर्णयहरु लत्याउने र कानुनी राज्यको खिल्ली उडाउने काम भएको छ ।
संघले सञ्चारमाध्यममा आएका टिप्पणीकै भरमा बतास अर्गनाइजेसनलाई स्पष्टीकरणको मौकासमेत नदिइएको भन्दै असन्तुष्टि जनाएको छ ।
राज्यले यस्ता गतिविधि रोक्नुपर्ने र व्यवसायीलाई क्षतिपूर्ति दिएर लगानीको वातावरण बनाउनुपर्ने संघको माग छ । लोकप्रियताकै लागि व्यक्तिमाथि खनिने प्रवृत्तिलाई संघले निन्दा गरेको छ ।
प्रतिक्रिया