Logo

विकास / पूर्वाधार

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने



निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।

सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनीयर डिभिजनल इञ्जिनीयर) सौरभ बज्राचार्यले बताउनुभयो ।

ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ । त्यो खुलेपछि बोलपत्र कम हाल्नेलाई सम्झौताका लागि बोलाइने र स्वीकृत गरेपछि एक महिना समय दिनुपर्छ । उहाँले भन्नुभयो, “प्रक्रिया सबै टुङ्गाएर ठेक्कामा नै जान फागुन अन्तिमसम्ममा हुनसक्ने देखिएको छ ।”

देशकै पहिलो सुरुङका रुपमा रहेको नागढुङ्गा सुरुङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो । यो सुरुङको पहिलो उद्देश्य सिद्धबाबामा वर्षेनी हुने पहिराको जोखिम कम गर्नु नै रहेको सिनीयर डिभिजनल इञ्जिनीयर बज्राचार्यले बताउनुभयो । हरेक वर्ष सो स्थानमा आउने पहिराले यहाँबाट यात्रा गर्नेको मृत्यु हुने गरेकामा त्यसलाई कम गराउनु नै सुरुङको मुख्य लक्ष्य हो ।

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ ले पहिराको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारीसाधन सुरुङबाटै जाने उहाँले बताउनुभयो ।

निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ एक हजार १२६ मिटर र बाटोको लम्बाइ जम्मा दुई दशमलव पाँच किमी हुन्छ । सरकारले यसका लागि रु १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । यसको जम्मा लगानी भने निर्माण कम्पनीले कति रकममा कबोल गर्छन् त्यसैका आधारमा मात्रै यकिन हुने केन्द्र्रले जनाएको छ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लावासीलाई सुविधा पुग्नेछ ।

सुरुङ सम्पन्न भएर सञ्चालनमा आउँदा यहाँ हुनसक्ने सम्भावित दुर्घटना कम गराउनेसँगै सवारी साधनमा लाग्ने लागत कम हुने अपेक्षा गर्न सकिन्छ । गाडि खाल्डामा गुड्दा लाग्ने खर्च राम्रो सडकबन्दा कम हुने बज्राचार्यले बताउनुभयो । त्यससँगै यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनमा यसले सहयोग पुर्‍याउन सक्नेछ । सिद्धबाबा मन्दिर अहिले पनि पर्यटकीय केन्द्रका रुपमा रहेकामा यातायातको सजिलो पहुँच हुँदा त्यो बढ्न सक्नेछ । पहिलो ‘रकसेड’ भएकाले त्यो पनि आकर्षक बन्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठाउँको सुन्दरता बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

सुरुङमार्ग र ‘रकसेड’ निर्माणका लागि स्वीस सरकारले परियोजना अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको हो । सो डिजाइनका आधारमा निर्माण शुरु भएको पाँच वर्षमा संरचना निर्माण सकिनेछ । सुरुका तीन वर्षमा सुरुङ सकिने र बाँकी तीन वर्षमा ‘रकसेड’ सकिने उहाँले बताउनुभयो ।

निर्माण हुन लागेको ‘रकसेड’ ले माथिबाट झर्ने ढुङ्गा सकेसम्म झर्न नदिने र झर्दा पनि विस्तारै झार्ने काम गर्ने सिनियर डिभिजनल इञ्जिनीयर बज्राचार्यले बताउनुभयो । त्यहाँ पहिरो झरेमा त्यसले गर्ने क्षति कम गर्न सकिन्छ । यसअघि नै नागढुङ्गामा देशको पहिलो सुरुङमार्ग निर्माण शुरु भइसकेको छ र सम्भवतः यो नै पहिलो सम्पन्न हुने सुरुङमार्ग बन्नेछ । नागढुङ्गा जापान सरकारको सहुलियत ऋणमा निर्माण भइरहेकामा सरकारको लगानीमा निर्माण हुने सिद्धबाबा पहिलो सुरुङ हुने बताइएको छ ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले विसं २०७६ कात्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितताको माग गरेकोे थियो । राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै चार किलोमिटर क्षेत्रलाई पहिराको अति जोखिमयुक्त मानेर सुरुङ बनाउने योजना अघि बढाइएको थियो ।

वर्षेनी पहिराका कारण सडक अवरुद्ध हुँदा नागरिकले सास्ती भोगरहेका छन् । यस वर्ष सिद्धार्थ राजमार्गको पिपलडाँडामा असारको १ गते सडक अवरुद्ध बनेको थियो । असार २४ गते सो राजमार्गको सिद्धबाबा क्षेत्रसँगै झुम्सा, हिउडे खोला, कालीमाटी र पिपलडाँडामा पहिराले सडक अवरुद्ध बनेको थियो ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह