ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले गत वर्ष यही अवधिमा १० करोड ७८ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २४ दशमलव २३ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्ष यस अवधिमा १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तसलनामा कम्पनीको बीमाशुल्क आर्जन पनि १८ दशमलव ६२ प्रतिशतले बढेको छ ।
यस्तै, कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष कम्पनीले ३७९ दशमलव ५६ प्रतिशत बढी कुल दाबी भु्क्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
कम्पनीले यस वर्ष अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले फागुन ६ गतेको वार्षिक साधारण सभाबाट पारित गर्दैछ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ५१ प्रतिशत बढी रू। ७२ करोड ९० लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ५ अर्ब १४ करोड ४४ लाखभन्दा बढी छ ।
कम्पनीले यस वर्ष ५६ करोड ४५ लाख रुपैयाँभन्दा बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको हो । गत वर्षको तुलनामा कर्जा प्रवाह ७६ दशमलव ३० प्रतिशतले बढेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ दशमलव १८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३६ दशमलव ८८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया