Logo

बिजनेस होम

चेम्बरविरुद्ध महासंघ आक्रामकः उद्योग वाणिज्य संघ–काठमाडौं गठन, नेतृत्वमा पनि हेभीवेट


appharu
   ३० भाद्र २०७५, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौं जिल्लामा छुट्टै उद्योग वाणिज्य संघ गठन गरेको छ । उपत्यकामा ललितपुर र भक्तपुरमा छुट्टै जिल्ला उद्योग वाणिज्य संघ भए पनि काठमाडौंमा उद्योग वाणिज्य संघ गठन भएको यो पहिलो हो ।

काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले नै उद्योगी व्यवसायीको नेतृत्व सम्हाल्दै आएकोले महासंघले चेम्बरलाई नै काठमाडौं उद्योग वाणिज्य संघका रुपमा मान्यता दिँदै आएको थियो ।

तर, चेम्बरले महासंघसँगको आवद्धता त्याग्दै देशभर समानान्तर संगठन विस्तार थालेपछि महासंघ काठमाडौंमै संघ गठन गरेर चेम्बरविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

महासंघले गठन गरेको उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा महासंघको प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठ रहेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट प्रमाणपत्र पाएको यो संघको तदर्थ समितिका अध्यक्ष श्रेष्ठ महासंघमा वस्तुगत समूहबाट उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा महासंघका कार्यकारिणी समिति सदस्य तथा कृष उद्यम केन्द्रका सहसभापति हेमराज ढकाल छन् भने उपाध्यक्षमा अर्का कार्यकारिणी समिति सदस्य जय शिवाकोटी रहेका छन् । २५ सदस्यीय कार्यसमितिको महासचिवमा रमानाथ श्रेष्ठ र कोषाध्यक्षमा सुषमा महतारा रहेको जनाइएको छ ।

महासंघको काठमाडौं जिल्ला उद्योग वाणिज्य संघमा हेभीवेट व्यक्तित्व रहेकाले चेम्बरमाथि ठूलो चुनौती थपिएको छ । खासगरी भन्सार र अन्य राजस्वसँग सम्बन्धित विषयमा नीति निर्माण तहमै हालसम्म चेम्बरले अगुवाई गरिरहे पनि श्रेष्ठ महासंघभित्र नै राजस्व र कानुनका ज्ञाता मानिन्छन् ।

गहन अध्ययन र सुक्ष्म विश्लेषणको खुबीका कारण उनी व्यवसायीमाझ बौद्धिक र मेहनतीका रुपमा स्थापित समेत छन् । यता चेम्बर भने देशभर सञ्जाल विस्तारका कारण पछिल्लो समय राजस्व र करसँग सम्बन्धित विषयमा आवाज उठाउन केही पछि पर्दै गएको व्यवसायीहरुको अनुभव छ ।

प्रकाशित : ३० भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह