नेपाल हस्तकला महासंघको हालै सम्पन्न ४२ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका प्रचण्ड शाक्यले हस्तकलाका क्षेत्रमा साढे तीन दशकको अनुभव सँगालिसकेका छन् । वि. सं. २०५८ सालदेखि महासंघमा सक्रिय शाक्य यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका थिए भने हस्तकला डिजाइन तथा विकास केन्द्रको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेका छन् । विगतका वर्षहरुमा हुने गरेका हस्तकला मेलाको मुख्य जिम्मेवारी लिएर सफलतापूर्वक सम्पन्न गरेको श्रेय उनलाई जान्छ भने उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । नवनिर्वाचित अध्यक्ष शाक्यसँग उनका योजना, कोभिड महामारीपछि हस्तकला क्षेत्रमा थपिएको चुनौती र यस क्षेत्रका विभिन्न पक्षबारे जीडीपीनेपालडटकमले गरेको कुराकानीः
हस्तकला महासंघमा अध्यक्ष निर्वाचित भएपछिका यहाँका प्राथमिकता के हुन् ?
हस्तकला क्षेत्र विगत दुई वर्षदेखि कोभिडका कारण समस्यामा परेको छ । यसको निर्यात पनि खस्केको छ । हस्तकला क्षेत्रलाई प्रोत्साहन दिनु जरुरी छ, निकासी बढाउनु परेको छ । अहिले आइरहेका समस्या समाधान गर्दै पहिलेकै अवस्थामा फर्कनु पर्ने छ भने उत्पादन र निर्यातमा परिमाणात्मक वृद्धि गर्नुपर्ने छ । हस्तकला ग्रामको पूर्ण सञ्चालन पनि हाम्रो प्राथमिकता हो, यसमा संघीय र प्रदेश सरकारको पनि सहभागिता सुनिश्चित गर्न खोजेका छौं । हस्तकलाका क्षेत्रमा स्वर्ण वर्ष मनाउने कार्यक्रम पनि छ ।
महासंघ निर्वाचनमा पक्ष–विपक्ष देखियो । यसको असर आउँदा दिनमा कत्तिको पर्ने देख्नुहुन्छ ?
निर्वाचनको समयमा दुई पक्षजस्तो देखिए पनि हामी सबै महासंघको छाताभित्र छौं । पदाधिकारीको रुपमा कोही समेट्न नसकेको र कोही छुटेको अवस्था भए पनि समग्रतामा उहाँहरु कुनै न कुनै रुपमा महासंघभित्रै हुनुहुन्छ र हामी हिजोका सबै कुरा बिर्सेर यो क्षेत्रलाई माथि उठाउन लागिपर्ने छौं । हामीले चुनावी प्रतिस्पर्धालाई हृदयतापूर्वक स्वीकार गर्नुपर्छ ।
कोभिड महामारीले हस्तकला क्षेत्र थलिएको छ । यो क्षेत्रलाई लयमा फर्काउन सरकारले के गर्नुपर्छ ? निजी क्षेत्र के गर्दैछ ?
हामीले हस्तकला क्षेत्रलाई पहिलेभन्दा सबल र सक्षम बनाउनु छ । नेपालमै जनशक्ति छ, साधन स्रोत छ, कच्चा पदार्थ पनि छ भने यसमार्फत रोजगारी सिर्जना गर्ने र निकासी बढाएर मुलुकमा विदेशी मुद्रा पनि भित्र्याउने काम गर्नु पर्छ । यसका निमित्त संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारहरुले सहयोग र सहकार्य गर्नुपर्छ । बेरोजगारीको समस्या हल गर्दै रोजगारी सिर्जना गर्ने यो क्षेत्रमा हामी व्यवसायीहरुले त नयाँ ढंगले बजारीकरण गर्नेछौं भने सरकारले पनि हामीलाई साथ दिनुपर्छ ।
हस्तकलाको बजार भनेको नेपाल आउने विदेशी पर्यटक पनि हुन् । तर, पर्यटक आगमन नै निराशाजनक अवस्थामा रहेको स्थितिमा कत्तिको असर परिरहेको महशुस गर्नुभएको छ ?
निश्चय पनि नेपाल आउने विदेशी पर्यटकले मन पराएर यहाँका हस्तकलाजन्य सामग्री किनेरै लैजान्थे । यसले एकातिर हाम्रा उत्पादनको सित्तैमा बजारीकरण हुने र अर्कोतिर हामीले सामान बेच्न टाढासम्म जानै नपर्ने स्थिति रहन्थ्यो । तर, पर्यटक नै नआएपछि यसरी बिक्री हुने कुरा भएन । यसले असर परिरहेको छ । अहिले पर्यटन क्षेत्र पनि चलायमान हुन थालेसँगै हाम्रो क्षेत्रमा पनि केही सकारात्मक प्रभाव पर्न थालेको छ । हामीले यो असर न्यूनीकरणका लागि नेपाल सरकारसहित प्रदेश र स्थानीय सरकारहरुसमक्ष सरकारी कार्यालयमा सजावटका लागि नेपाली हस्तकलाका उत्पादन राख्ने, सरकारी तहबाट उपहार र पुरस्कार दिँदा पनि हस्तकलाकै सामग्री दिने लगायतका माग राखेका थियौं र त्यसमा पनि केही काम भने भइरहेको छ ।
सरकारले नेपाली बस्तु १५ प्रतिशत महँगो भए पनि खरीद गर्नुपर्ने व्यवस्था गरेको दशक भइसके पनि कार्यान्वयन हुन सकेको छैन । तपाइँको नयाँ नेतृत्वले यस विषयमा केही तदारुकता देखाउँछ ?
हामीले विगतदेखि नै यसमा पहल गरिरहेका छौं । कानुनमा लेखिँदैमा हामीले त्यो सुविधा पाउने अवस्था छैन । हाम्रा केही साथीहरुले सरकारी कार्यालयमा बिक्री गर्न खोज्दा उहाँहरुले भ्याटमा दर्ता भएको खोज्ने र हामीलाई भ्याटमा दर्ता हुनु नपर्ने नीति भएका कारण समस्या परिरहेको छ । यो व्यवस्था कार्यान्वयन हुन सकेमा हस्तकलाको विकास र विस्तार सम्भव छ ।
सरकारको नीति त निर्यातमैत्री नै छ, तर कार्यान्वयमा जाँदा हस्तकलाका वस्तुहरु निर्यातमा कत्तिको सहज अवस्था पाउनु भएको छ ?
समस्याहरु नभएका होइनन् । एक्जिम कोडकै समस्या छ । उद्यमी साथीहरु एक्जिम कोड दर्ता गर्दा तीन लाख शुल्क लाग्छ भनेर हल्लाको पछि लाग्दा निकासी गर्न डराए पनि त्यो आयातका लागि मात्र हो भनेर हामीले महासंघमार्फत सर्कुलर गरिसकेका छौं । भन्सारमा एकद्वार प्रणाली लागू भइसके पनि त्यसलाई सञ्चालन गर्न नसकेका कारण व्यवसायी समस्यामा छन् भने कुरियर शुल्क कोभिडपछि तीन÷चार गुणा नै बढिसकेका कारण अर्को समस्या छ । यसलाई केही स्थिर बनाइनुपर्छ र बढी भएको अवस्थामा सहुलियत दिनु आवश्यक छ ।
रसिया–युक्रेन युद्धको असर अर्थतन्त्रका धेरै क्षेत्रमा परेको छ, हस्तकलामा कत्तिको परिरहेको अवस्था छ ?
अहिलेसम्म त त्यति ठूलो असर परेको छैन तर यसका संकेतहरु देखिन थालेका छन् । विशेषगरी हाम्रो मुख्य बजार युरोपको अर्थतन्त्रमा युक्रेन युद्धका असरहरु गहिरिन थाले भने त्यसले हामीलाई समस्या निम्त्याउँछ ।
नेपाली हस्तकलाको मुख्य चुनौती भनेकै नयाँ पुस्तालाई आकर्षित गराइरहनु हो भनेर कतिपयले भनिरहेका छन् । यसमा तपाइँहरुका योजना के छन् ?
हामीले विगतदेखि नै हस्तकलाका क्षेत्रमा युवालाई आकर्षित गर्ने कार्यक्रमका लागि सरकारसँग सहकार्य गर्दै आएका छौं । सरकारको बजेटमा पनि यो कार्यक्रम परेको छ र अहिले पनि हामी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो क्षेत्रलाई जीवन्त राख्न नयाँ पुस्ताको आकर्षण हुनु जरुरी छ, हामी त्यसमा प्रतिबद्ध छौं ।
हस्तकलाका क्षेत्रमा युवाको आकर्षण बढ्दो क्रममा छ कि घट्दो ?
भूकम्पअघि त धेरैलाई त्यति चासो थिएन । तर, भूकम्पपछि भने चासो बढेको छ । हाम्रा मठ मन्दिर लगायतका सम्पदामा क्षति पुगेपछि धेरैले यसमा चासो राख्न थाले र संरक्षणमा पनि जागरण पैदा भयो । त्यसलाई नै क्यास गरेर हामीले कलाकृतिमा नयाँ जनशक्ति ल्याउनसक्ने अवस्था छ ।
निकासीमा नगद अनुदानको व्यवस्था पनि छ, हस्तकला क्षेत्रले यसलाई कत्तिको उपभोग गरिरहेको छ ?
निकासीमा नगद अनुदानको सुविधा नीतिमा छ र दावी ग¥यौं भने पाउने अवस्था पनि छ तर धेरै हस्तकला निकासीकर्ताले यो सुविधा पाउन सकेका भने छैनन् । यसमा प्रशासनिक झमेला बढी भएकाले त्यो झमेलामा फस्नुभन्दा बरु बढी उत्पादन गरेर निकासी गर्नसक्छु भन्ने सोच हाम्रा साथीहरुमा देख्न सकिन्छ । विभिन्न कार्यालय धाउनुपर्ने र अनेकौं कागजात जुटाउनुपर्ने अवस्थाको अन्त्य नहुँदासम्म हस्तकला व्यवसायी त्यो सुविधा लिन जाँदैनन् । हामी यसको प्रक्रियागत सरलीकरणका लागि उद्योग मन्त्रालय जाने योजनामा छौं ।
निकासीजन्य वस्तुमा भ्यालू एडको विषय सधैँ विवादित बन्ने गरेको छ । हस्तकलाका क्षेत्रमा कत्तिको भ्यालू एड भएको पाउनु हुन्छ ?
नेपाली हस्तकलाका बस्तुमा भ्यालु एड त पक्कै पनि छ । हस्तकलाका बस्तुअनुसार भ्यालू एड फरक पर्ने भए पनि नेपालकै कच्चा पदार्थ उपयोग गर्नेदेखि कच्चा पदार्थ आयात गर्नेसम्मका उद्योगको आफ्नै सिस्टम छ । यद्यपि, हामीले हाम्रो भ्यालू एडलाई जति पारदर्शी बनाउन सक्छौं, उत्ति नै विदेशी बजारमा लैजान सक्ने भएकाले हाम्रो पहल त्यसतर्फ पनि हुनु जरुरी छ ।
हस्तकलाका उत्पादनलाई मूलतः निकासीजन्य वस्तु भन्ने गरिन्छ । स्वदेशी बजारमा यसको माग कत्तिको छ ? यहाँ खपत बढाउने कुनै योजना छ कि ?
हामीले तथ्यांक हेर्ने हो भने कोभिडअघि हाम्रो वार्षिक निकासी १० अर्बको हुन्थ्यो र कोभिडपछि पहिलो वर्ष ६ अर्ब र दोस्रो वर्ष ८ अर्बमा रह्यो । हाम्रो अनुमानमा जति निकासी हुन्छ, हाम्रो आन्तरिक बजार पनि सोही हाराहारीमा रहेको छ । आन्तरिक खपत पनि ८ अर्ब हाराहारीमै छ ।
हस्तकला क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?
यो क्षेत्र नेपालको तुलनात्मक लाभको क्षेत्र नै हो । यसमा सानो पुँजीले ठूलो संख्यामा रोजगारी सिर्जना र निकासीको लाभ पाउन सकिन्छ भने यसको भविष्य पनि उज्वल छ । अहिले पनि दक्ष जनशक्ति अभावमा विदेशबाट ल्याउनु परिरहेको स्थितिलाई हृदयंगम गरेर हामीले यस क्षेत्रमा जनशक्ति विकास भने गर्नुपर्ने आवश्यकता छ ।
प्रतिक्रिया