Logo

मुख्य समाचार

आयात प्रतिस्थापन निर्यातको विकल्प होइनः डा. युवराज खतिवडाको लेख


GDP Nepal
   २२ चैत्र २०७८, मंगलबार



डा. युवराज खतिवडा
पूर्व अर्थमन्त्री

कुनै पनि मुलुकको निर्यात व्यापारका निश्चित आधार हुन्छन् । खासगरी औद्योगिक आधार निर्यातका निमित्त महत्वपूर्ण मानिन्छ । औद्योगिक पूर्वाधार, औद्योगिक संरचना र औद्योगिक क्षमताका आधारमा निर्यात व्यापार पनि निर्भर गर्दछ । दोस्रो चाहिँ प्राकृतिक साधन स्रोतमा आधारित वस्तुहरुको निर्यात नै हो । प्राकृतिक रुपमै कच्चा पदार्थ छन् भने कुनै न कुनै रुपमा निर्यात गर्न सक्छौं, चाहे त्यो कृषिजन्य होस् वा जडिबुटी, खानीजन्य वस्तु नै किन नहुन् । तर, यसको निर्यात सीमाहीन भने हुँदैन ।

निर्यातमा तेस्रो आधार चाहिँ व्यापारका मुख्य साझेदार मुलुकसँग भन्सारका दरहरु फरक हुन्छन्, विनिमय प्रणाली फरक हुँदा व्यापारमा मार्जिन हुन्छ । त्यसो हुनाले आयात गरौं, प्रशोधन गरौं र निर्यात गरौं भन्ने अवधारणा पनि छ । यसमा मूल्य अभिवृद्धि कम भए पनि ट्रेड मार्जिन बढी भएकाले व्यापार हुने गर्दछ । चौथो भनेको विशेष प्रकारको हाम्रो सीप कला दक्षता भएका क्षेत्रहरु नै हुन् । साना मझौला र घरेलु व्यवसाय समेत समेटिएको यसमा हाम्रा आफ्नै विशिष्ट प्रकारका ग्राहकहरु छन् । पाँचौं, सेवा निर्यात हो । यसमा कतिपयलाई बस्तु भने पनि हुन्छ र सेवा भने पनि हुन्छ । विद्युत्देखि सूचना प्रविधि, वित्तीय सेवालगायतका निर्यातका क्षेत्र हुन् ।

निर्यात व्यवसायी महासंघको बुलेटिन भएको हुनाले म उत्पादनमूलक उद्योग र बस्तुहरुको निकासीका सन्दर्भमा केन्द्रित हुन चाहान्छु । विगतदेखि गर्न खोजिएको र अहिले पनि गरिएको निर्यातमा प्रोत्साहन प्रणाली नै हो । चालिसको दशकको सुरुमा निर्यातमा १० प्रतिशत अनुदान दिन सुरु गरियो तर यसमा ‘ओभर इन्भोइसिङ’को समस्या देखियो र अनुदान प्रणाली नै जोखिममा प¥यो । हामीले विनिमयदरको माध्यमबाट अनुदान, दोहोरो सटही सुविधा पनि दियौं । तर, यस्ता किसिमका अनुदानको विकृति भनौं उत्पादनभन्दा बढी निकासी हुन थाले । हामीले तीन वर्षमा नेपालमा उत्पादन हुने जुट एकै वर्ष निर्यात गरेछौं । यसले पनि काम गर्दैन भन्ने देखियो ।

२०४२ सालमा मुद्रा अवमूल्यन गर्ने भनेर निर्यातका निमित्त १५ प्रतिशत हाराहारीमा गरेका थियौं । निर्यातमा एक प्रतिशतमात्र भन्सार राख्यौं । निर्यातमा कुनै पनि कर नलाग्ने व्यवस्था ग¥यौं । कर लाग्ने वस्तु आयात गरेको रहेछ भने पनि कर फिर्ताको व्यवस्था गरियो र यो त अहिले भ्याट लागूपछि पनि जारी नै छ । यतिमात्र नभै ब्याजदरमा पनि अनुदान दिन थालियो । निर्यात गर्छु भन्नेलाई राष्ट्र बैंकले पुनर्कर्जा सित्तैजस्तै दिने प्रणाली लागू भयो, बैंकहरुले पनि सस्तो ब्याजमा कर्जा दिनुपर्ने व्यवस्था ग¥यौं । सरकारले बजेटबाटै ब्याजमा सहुलियतको प्याकेज ल्याउन थाल्यो । नगद अनुदान मूल्य अभिवृद्धिका आधारमा दिनुपर्छ भनेर म गभर्नर हुँदा मस्यौदा तयार गरेको थिएँ । पछि वस्तुको मूल्य अभिवृद्धिकै आधारमा एकमुष्ट दिन थालियो । यद्यपि, यी सबै प्रोत्साहनको नीति मात्रैले निर्यात प्रवद्र्धन सम्भव रहेनछ भन्ने देखियो ।

निर्यातमा हामीले क्षमता बढाउनेतर्फ त्यति ध्यान दिन सकेनौं । निर्यात उद्योगमा संलग्न व्यवसायीको क्षमता बढाउन धेरै कुरा गर्नुपर्ने रहेछ । हामी स्केलको कुरा गर्छौं तर एक कन्टेनर पनि सामान पठाउन सक्दैनौं भने त्यसको लागत उठ्दैन । सीपमेन्टले नै पैसा खाइदिन्छ । अर्डर गर्नेले पनि पर्याप्त सामान नभए लिँदैन तर हामीसँग त्यो क्षेत्रमा त्यति उत्पादन गर्न सक्ने सामथ्र्य नभएको पाइयो । वस्तुलाई गुणस्तरीय रुपमा उत्पादन गर्ने क्षमता हामीमा नरहेको पाइयो । हामी परम्परागत रुपमा उत्पादन गर्न सक्छौं तर त्यसमा हामी अलिकता रुपान्तरण गर्न सक्दैनौं ।

टीएफएमा अमेरिकाले दिएको सुविधाअन्तर्गत ६० भन्दा बढी बस्तु त उत्पादन नै गर्न सक्दैनौं । किन सक्दैनौं भने उसले हाफ पेन्ट भन्यो, हामी सक्दैनौं भन्छौं । हामीले जे सक्छौं त्यो उसले सुविधामा राखिदियोस् भन्ने तर उसले जे भन्छ त्यो हामी उत्पादन गर्न नसक्ने परिस्थिति छ । हामीले क्षमता बढाउन सकेनौं । हाम्रो क्षमताभित्र पनि नियामकको क्षमताको पनि कुरा आउँछ । सरसफाइ, केमिकल, ढुसी लगायत मानव जीवनको लागि उपयोग गर्दा हानीकारक छैन भन्ने पुष्टि गर्न सकेका छैनौं । यसको उदाहरण त चाँदीका गरगहना, मह, छुर्पीमा देखिएको छ ।

क्षमताका कुरा गर्दा श्रम शक्ति निकै महत्वपूर्ण पक्ष हो । कृषिबाट निस्केको श्रमशक्ति उद्योगमा जान्छ । उद्योगहरु सीपयुक्त खोज्छन् तर उनीहरु सीपविहीन छन् । उद्योगहरु धेरै दिन नसक्ने, श्रमिकहरु सीप विकास नगर्ने । श्रमको उत्पादकत्वमा पनि समस्या छ । हामीले सीप सिक्ने कुरा उद्योगमै गरौं, दक्ष जनशक्ति उत्पादन गरौं, इन्टर्नशीप अवधिको आधा तलब सरकारले हालिदिने भनेर मैले नै बजेटमा कार्यक्रम ल्याएको थिएँ ।

प्रवर्द्धनात्मक संस्था पनि भएनन्
हामी आफ्नै उत्पादित वस्तुको प्रवद्र्धनमा चुक्यौं र यसका निमित्त संस्थागत व्यवस्था पनि राम्रो भएन । संस्थागत व्यवस्थामा हामीले धेरै प्रयोगहरु ग¥यौं । हामीले धानचामल निर्यात केन्द्र, टिम्बर कर्पोरेसनजस्ता संस्था खोल्यौं । यसले भएन भनेर निर्यात प्रवद्र्धन केन्द्र स्थापना ग¥यौं । फेरि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र खोल्यौं । संस्थागत अभ्यास त हामीले धेरै ग¥यौं तर कुनैले पनि माइलेज लिन सकेनन् । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार प्रवद्र्धन गर्नुपर्ने भए पनि त्यो प्रशासनिक मन्त्रालय भएको छ । निर्यात बढाएर भोट पाउँछु भनेर मन्त्रीले सोच्दैन ।

मन्त्रीले त कति जनालाई गुन लगाएँ, कति जनालाई खुसी बनाएँ, चुनावको बेला चन्दा दिन्छ कि दिँदैन अनि म विवादरहीत भएर यहाँबाट निस्किन सकेँ कि सकिँन भनेर मात्र सोच्छ र यसैलाई सफलताको सूचक मान्छ । यस्तै कारणले टीइपीसी बिचरो बनेको छ । सरकारले दिएको थोरै बजेटबाट यसो विदेश भ्रमणमै सकिन्छ उसको काम । यसलाई अलि सशक्त बनाऔं भनेर हामीले पनि प्रयास त ग¥यौं तर दुःखका साथ भन्नुपर्छ कि हाम्रो पनि यो प्राथमिकतामा परेन । संघीयता कार्यान्वयनका अरु धेरै काम गर्नुपर्दा यसलाई अघि बढाउन सकेनौं जस्तो लाग्छ ।

निर्यातमा प्रशासनिक झमेला र एकद्वार प्रणाली
निर्यातमा अर्को समस्याचाहिँ नियमन धेरै भएको मेरो अनुभव छ । मैले आफैंले स्वअध्ययन गर्दा डेढ दशकजति अघि । कुनै वस्तु निर्यात गर्नुपर्दा ४० वटाजति हस्ताक्षर जम्मा गर्नुपर्ने । यसलाई घटाउन सकिन्छ भन्ने निष्कर्ष थियो । यसका लागि अनुदान दिनुपर्छ भन्ने भए पनि उदारीकरणको त्यो बेला अनुदान भन्ने शब्द सुन्न सरकार तयार थिएन र दाता पनि तयार थिएनन् । त्यो बेला अनुदान भन्ने शब्द बोल्यो कि त्यो गयो भन्ने बुझ्नुपर्दथ्यो । रासायनिक मल, निर्यात, उत्पादन सबैमा अनुदानको कुरा गर्नेमाथि नै खनिने अवस्था थियो त्यो । अध्ययनको निष्कर्ष सरकारले कार्यान्वयन गरेन । हामी आफैंले भिन्न ढंगले लागू गर्ने प्रयास ग¥यौं ।

निर्यातमा यतिधेरै समस्या हुन्छ भने किन एकद्वार प्रणाली लागू नगर्ने भन्ने निष्कर्षमा हामी पुग्यौं । तर यसमा पनि काम गर्दागर्दै ढिलो भयो । उदाहरणका लागि चोभारको ड्राइपोर्ट टर्मिनल म अर्थमन्त्री भएर जाँदा विश्व बैंकले ‘सिक प्रोजेक्ट’ भनेर फिर्ता गर्छौं भनिरहेको थियो । किन भन्दा तिमीहरुले कन्ट्रयाक्ट नै गर्न सकेनौ भनियो । सानो एउटा समस्या रहेछ यसमा जसलाई मैले क्याबिनेटमा लगेर फुकाएपछि अहिले चार वर्षपछि त्यो तयार भएको छ । अहिले नै त्यहाँ पाँच÷सात वटा संस्थाले एउटै ठाउँबाट सेवा दिन सक्छन् । त्यो कुरा हामीले १० वर्षअघि नै गर्न सक्दथ्यौं किनभने चार वर्षअघि सिक भनिएको प्रोजेक्ट त धेरै अघि अघि बढेको हो ।

दोस्रो, उद्योग विभागमा पनि सेवाग्राही आउने र विभिन्न निकायमा धाउनुपर्ने र्भपछि हामीले एकल बिन्दु सेवा केन्द्र स्थापना ग¥यौं । तर यसमा के भयो भने त्यहाँ फाइल जम्मा हुने र त्यो बोकेर मन्त्रालयहरुमा धाउनु पर्ने । त्यो त निर्णय गर्ने निकाय नभएर संकलन केन्द्र भएको रहेछ । मैले त्यसमा पठाउने कर्मचारीलाई पूर्ण अधिकार दिएर पठाउनुपर्ने र कुनै समस्या रहेछ भने ऊ आफैंले सम्बन्धित निकायमा गएर सल्टाउनुपर्छ भनेको थिएँ । लगानी बोर्डमा पनि एकद्वार प्रणाली भनेर हामीले कार्यालयसमेत खोल्यौं तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेन । यसरी एकद्वार प्रणाली लागू गरेर निर्यातमा झन्झट कम गर्ने भन्ने हाम्रो योजना पनि सोचेजस्तो अघि बढ्न सकेन ।

जिम्मेवार व्यवसायको अभ्यास
हामीले सामाजिक र व्यावसायिक रुपमा जिम्मेवार नभएर पनि निर्यातमा समस्या देखिएको हो । विगतमा हामीले वालश्रम प्रयोग गरेकै हौं । हामीले कतिपय औद्योगिक प्रतिष्ठानहरुमा सरसफाइ मापदण्ड पालना नगरेकै हौं भने कतिपय स्थानमा वातावरणीय क्षति र प्रदूषण फैलाउने खालका काम पनि गरेका थियौं । निर्यातजन्य उद्योगको फोहोर खोलामा हालेकै हौं, जथाभावी बाहिरै फालेका हौं । हाम्रा उत्पादनमा गुणस्तरीयता कायम नहुँदा बजार गुमेको पनि हो । त्यसैले हाम्रा उत्पादनले सामाजिक र वातावरणीय मापदण्ड पूरा नगर्दा पनि समस्या आएको हो ।

यी सबैका बाबजुद महत्वपूर्ण कुरा चाहिँ हाम्रो अवस्थिति र भूगोलका कारण निर्यात व्यापारमा सीमा छन् । अवस्थितिकै कारण हामी गह्रौ वस्तु तेस्रो मुलुकबाट ल्याएर यहाँ प्रशोधन गरी निर्यात गर्न सक्दैनौं । अलि ठूलो परिमाणमा उत्पादन हुने वस्तु हाम्रोभन्दा भारत र चीनमै सस्तो हुन्छ । भूपरिवेष्ठित मुलुकमा यातायातको लागत बढी नै हुन्छ र त्यसमा पनि हामीले घटाउन सकेका छैनौं । त्यसमाथि कोलकाता बन्दरगाहको सीमितता र अर्को बन्दरगाह विशाखापट्टनमको सुविधा पाउनकै लागि लामो समय कुर्नुप¥यो । यो समस्यालाइ हामीले निर्यात लागतका रुपमा बुझ्नुपर्छ ।

खुला व्यापार नीतिको फाइदा आयातले लियो
हामीले खुला व्यापार नीति लियौं । आयात पनि खुला र निर्यातमा पनि खुला । तर यसको लाभ निर्यातले लिन सकेन आयातले नै लियो । भारतसँगको खुला सीमाले सामान्य मार्जिन हुँदा पनि पारीपट्टीबाटै सामान आउने र पछिल्लो समय चीनले पनि मास प्रडक्सन गर्ने र सस्तोमा पठाउने गर्दा हामी टिक्न सकेनौं । हामी तुलनात्मक लाभका क्षेत्र छनोट गरेर त्यसमै केन्द्रित हुनुपर्नेमा नीतिगत रुपमा सुधार गरेपछि आफैं ठिक भइहाल्छ भनेर बस्यौं ।

विनिमय दर, बैंकको ब्याजदर, कच्चा पदार्थ आयातमा न्यून भन्सार, मेसिनरी आयातमा छुट, निर्यातमा शून्य भन्सार र नगद अनुदानसम्मको व्यवस्था हामीले ग¥यौं । कतिपय क्षेत्रमा त बिजुली छुटसमेत दिएका छौं । यतिले मात्र पुगेको छैन, कहिँ न कहिँ अझै कमजोरी छ भन्ने त देखियो, यसमा हाम्रो संरचनागत समस्या पनि होला ।

अब के गर्ने ?
हामी सबै वस्तुमा प्रतिस्पर्धी हुन सक्दैनौं । भारतसँग प्रतिस्पर्धी हुन सक्ने र नसक्ने दुवै वस्तु हामी उत्पादन र निर्यात गरिरहेका छौं । म गभर्नर हुँदा राष्ट्र बैंकले भारत निर्यात हुने कृषिजन्य वस्तुहरुबारे अध्ययन गरेको थियो । कतिपय नगदेबाली, पशुपालनमा भारतको भन्दा हाम्रो तुलनात्मक लाभ बढी नै देखियो ।

ऊन रेशममजस्ता वस्तुमा त हाम्रो भौगोलिक अवस्थितिले नै साथ दिएको छ, भलै कपासमा सकिँदैन । यस्ता क्षेत्रहरुमा कहाँ कहाँ हामी भारतसँग प्रतिस्पर्धा गर्न सक्छौं भनेर गहिरो अध्ययनको जरुरी छ । कृषिमा मात्र नभै उत्पादनमूलक क्षेत्रमा पनि केही सम्भावना देखिन्छ । भारतले पुरानो प्रविधि प्रयोग गरिरहेको र तत्काल नयाँ प्रविधिमा जान सम्भव नरहेका क्षेत्रमा हामीले नयाँ प्रविधि खरीद गरेर प्रतिस्पर्धी बन्न सक्छौं । सेवा क्षेत्रमा पनि त्यही भएको हो । भारतभन्दा नेपालमा टेलिकम सेवा छिटो विकास हुनुको कारण यही हो, उनीहरु पुरानो प्रविधिमा थिए तर हामीसँग केही थिएन र चाँडै किनेर सेवा सुरु ग¥यौं ।

तुलनात्मक लाभका यस्ता क्षेत्रहरुको अध्ययन गरिरहनु पर्छ, कुनै न कुनै संस्था यसमा लागिरहनु पर्छ । वाणिज्य मन्त्रालयबाट यो सम्भव हुँदैन, टीईपीसीजस्ता संस्था लागिरहनु पर्छ । मन्त्रालयले त नियमन र सहजीकरणका काम मात्र गर्छ, प्रवद्र्धनात्मक काम उसले गर्न सक्दैन र छुट्टै संस्था त्यही भएर चाहिन्छ ।

आयात प्रतिस्थापन निर्यातको विकल्प होइन
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन भन्नु उस्तै हो भन्ने पनि छ । एउटाले विदेशी मुद्रा जोगाउँछ, अर्कोले भित्र्याउँछ । तर, आयात प्रतिस्थापनका केही सीमा हुन्छन् । उपभोक्ताले विश्व बजारको प्रतिस्पर्धी मूल्यमा सामान पाउनुपर्छ, त्यसमा १०÷१५ प्रतिशतसम्मको सीमा हुनुलाई ठीक मान्न सकिएला तर त्योभन्दा धेरै संरक्षण दिन खोजियो भने त्यो विकृत अर्थतन्त्र हो । चोरीपैठारी लगायतका समस्या आउन सक्छ ।

यसो हुनाले आयात प्रतिस्थापन भनेको निर्यातको विकल्प होइन, सहयोगी मात्र हो । निर्यात प्रवद्र्धनका लागि निर्यातजन्य वस्तुको औद्योगिक आधार नै तयार गर्नुपर्छ, लगानीको वातावरण नै बनाउनुपर्छ । त्यो औद्योगिक वातावरण तयार बनाउन हामीले लगानी बोर्डको सार्वजनिक निजी साझेदारी ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी ऐनजस्ता नयाँ कानुनहरु पनि बनायौं । कम्पनी ऐन, वौद्धिक सम्पत्तिमाथिको ऐनजस्ता विषय पनि महत्वपूर्ण हुन्छन् । ऐन बनाएर मात्र हुँदैन, नियमावली समयमै बन्नुपर्छ । नियमावली बनाउनुपर्ने त मन्त्रालयले हो तर एउटै नियमावली बनाउन उसले तीन वर्ष लगाइदिन्छ ।

अहिले त उद्योग वाणिज्य ताथ आपूर्ति मन्त्रालयमा मन्त्री नै नभएपछि झन कसलाई जिम्मेवार बनाउने ? त्यसै पनि यो मन्त्रालयको सोच चाहिँ व्यापार व्यवसाय हेर्ने काम अर्थमन्त्रीको हो, हामी त प्रशासन चलाउने मात्र हो भन्ने भएको छ । अर्थमन्त्री अलिकति माइक्रो इकोनोमी बुझेको भए त्यसमा काम गर्न सक्छ, हैन भने त उसले पनि राजस्व उठाउने खर्च गर्ने मात्र काम गर्दछ । यसलाई पनि बुझ्न जरुरी छ ।

वाह्य लगानी अपरिहार्य
हाम्रा लगानी, व्यापारसम्बन्धी दुईपक्षीय सन्धि सम्झौताहरुको पनि चर्चा गर्नु जरुरी छ । हामी सम्झौता गरेर पनि कार्यान्वयन गर्दैनौं भनेर ‘बिप्पा’लाई हेरे पुग्छ । विदेशी लगानी ल्याउन नसक्ने, भएकालाई सुरक्षा दिन नसक्ने अनि हाम्रो पुँजीले स्थापना भएका उद्योगको क्षमता त त्यसै सीमित भइहाल्यो । कसरी निकासी बढ्नु ? अहिले त हामीले उनीहरुलाई ल्याउने लगानीको प्रतिफल लैजान सजिलो मात्र बनाइदिएका छौं तर लगानी ल्याउनलाई कतिपय मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्नैपर्छ । विदेशी लगानी ल्याउने कुरालाई जोड गरेनौं भने हाम्रो निर्यातको आधार बढ्न सक्दैन ।

हामी एसेम्ब्ली उद्योगमा गए पनि हुन्छ नी भन्ने अवधारणाको पनि विकास भइरहेको छ । यसमा कम्तिमा २० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुन्छ भने हामीले छाडिदिनुपर्छ भन्ने मेरो धारणा हो । १०÷१२ प्रतिशत पनि भ्यालू एड नहुँदा निर्यात त बढेको देखिन्छ तर यसले अर्थतन्त्रलाई त्यस्तो फाइदा पु¥याउँदैन र दिगो पनि हुँदैन । उदाहरणका लागि बनस्पती घ्यू । एक समयमा खुबै निकासी भयो तर भारतले भन्सार दरमा हेरफेर गर्नेवित्तिकै यसको निर्यात सकियो । नेपालले पनि जम्मा १२ प्रतिशत मूल्य अभिवृद्धिबाट पाउने फाइदा ठूलो थिएन ।

वनस्पती घ्यू रोकिएपछि उहाँहरु आउनुभएको थियो र मैले भनेको थिएँ, जति कमाउनुभयो कमाइसक्नु भयो, अब छाडिदिनुस् र उत्पादनमूलक उद्योगतिर लाग्नुस् जसमा भ्यालू एड पनि बढी नै होस् । अहिले निर्यातमा बहार देखिएका पाम आयल र सोयाविन आयलको अवस्था पनि त्यस्तै नै हो । उहाँहरुले ३० प्रतिशतभन्दा बढी भ्यालू एड भइरहेको छ भनेर भारतलाई भनिरहनुभएकाले निकासी भइरहेको छ तर कुनै दिन भारतलाई शंका लाग्यो र बुझाउन सक्नुभएन भने बनस्पती घ्यूकै नियति नहोला भन्न सकिँदैन । मैले भर्खरै सात महिनाको तथ्यांक हेरिरहेको थिएँ, सोयाबिन तेलको तीन वर्षकै कूल आयात र तीन वर्षको निर्यात (सातौं महिना छाडेर) हेर्दा कच्चा पदार्थको आयातभन्दा निर्यात धेरै तल छ । आन्तरिक बजारमा खपत भयो भने कति भयो भनेर निकाल्नुपर्छ । आयातको आधा नेपालमै भयो भनेर पुष्टि गर्न सक्नुपर्छ ।

मैले भन्न खोजेको चाहिँ अर्को देशको तत्कालीन व्यापार अवरोधमा भएको लाभलाई खोजेर गरिने निर्यात दिगो हुँदैन भन्ने नै हो । हाम्रो सम्पूर्ण निर्यातको ६० प्रतिशत यस्तै वस्तुले हुनु राम्रो संकेत होइन । हिजो कुनैबेला हाम्रो निर्यातको दुईतिहाई कार्पेट र गार्मेन्टको हिस्सा थियो । म त्यतिबेला राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख थिएँ र मैले त्यो व्यापारलाई ‘टू कन्ट्री, टू कमोडिटी’को संज्ञा दिएको थिएँ । जर्मनी–यूएसए, कार्पेट–गार्मेन्ट । यसमा जहिले पनि जोखिम हुन्छ । यी देशले दिएको कोटा सकिनेवित्तीकै हाम्रो निकासी पनि स्वात्तै झ¥यो ।

व्यापार विविधीकरण र क्षमता विकास
व्यापार विविधीकरण त्यसै भनिएको होइन । अहिले हामी अमेरिकामा गार्मेन्ट गएन, कार्पेट गइरहेको छ भनेर बसिरहेका छौं, त्यो पनि जोखिम हो । मार्केट सेचुरेट होला, हाम्रो गुणस्तरमा कुनै कमजोरी देखिएला । यसैले विविधीकरण जरुरी छ । अहिले जति निकासी भइरहेको छ, त्यो हाम्रो क्षमता र सम्भावनाका तुलनामा नगण्यमात्र हो । हामीले अलिकता ब्याकवार्ड लिंकेज गरेर ऊन यहीँ उत्पादन गर्न सक्यौं र डाइङ पनि यतै गर्न सक्यौं भने त यो नेपालको उत्कृष्ट प्रडक्टका रुपमा संसारभर जान सक्छ । त्यसै पनि श्रम र सीपजन्य उत्पादन तथा मूल्य अभिवृद्धि पनि उच्च दरमा हुने भएकाले हाम्रो जोड त्यतातर्फ हुनुपर्छ । हामी बजारीकरणमा गएनौं भने भोलि पनि समस्या आउन सक्छ । तयारी पोशाकमा पनि भएको त्यही हो । हामीले उत्पादनमा विविधीकरण गर्न सकेनौं, बंगलादेशले सक्ने हामी नसक्ने भन्ने हुँदैन । ति देशमा कपडा उत्पादन हुन्छन् हामीले किन्नुपर्छ भने त्यसमा इन्सेन्टिभ हुन सक्छ । तर, मूल कुराचाहिँ के हो भने हामी उद्योगीहरु कत्ति इनोभेटिभ हुन सक्यौं, निर्यातमा जोखिम नै जोखिम देखेर पछि हटेका हौं कि हाम्रो आकर्षण अरुतिर बढेको हो भन्ने समीक्षा गर्नु आवश्यक छ ।

जसलाई पनि ‘इजी मनी’ चाहिएको छ
औद्योगिकरण, निर्यातमा नाफा कम हुने, नाफा आउन समय लाग्ने, व्यवसाय गर्न झन्झट हुने जस्ता कारणले हामी आकर्षित हुन सकेका छैनौं । किन यस्तो भइरहेको छ भने सबैलाई ‘इजी मनी’ अर्थात छिटो पैसा कमाउनु छ । एलसी खोल्यो, सामान ल्यायो अनि नाफा खाएर बेच्यो, तीन महिनाभित्र त बैंक पनि सेटल भइसक्छ । निर्यात गर्न खोज्यो, आफू उत्पादक हो भने त फ्याक्ट्री लगाउँदादेखिको हिसाब गर्नुप¥यो भने पाँच÷सात वर्षयताको त हिसाब नै हुँदैन । वस्तु एसेम्बली नै गर्ने हो भने पनि छरिएर रहेका उत्पादनलाई जम्मा गर्नुप¥यो, सीपमेन्टहरुलाई तयार गर्नुप¥यो, समयमा डेलिभरी गर्न नै चुनौती । आयात हुने वस्तु कोलकातामा डेढ महिना थुनिए पनि यहाँ आएर बिकिहाल्छन् तर निर्यात हुने वस्तु डेलिभरी डेटमा दिनुभएन भने उसले किन्दैन । विदेशीले त अर्को सिजनको सामान २ महिनाअघिदेखि तयार गरेर राख्छ तर यहाँ सानो समस्या भयो भने समयमा डेलिभरी दिन सकिँदैन ।

निर्यातजन्य उद्योगमा मजदुर हडताल, कच्चा पदार्थ भन्सारमा रोकिने, ढुवानीमा ढिलाइजस्ता साना समस्याले पनि ठूलो असर गर्दछ । यही भएर हामीले निर्यातजन्य उद्योगको संवेदनशीलता बुझेर एक्सपोर्ट प्रमोसन जोन, गार्मेन्ट प्रमोसन जोन, स्पेशल इकोनोमिक जोज बनाऔं भनेर कम्तिमा पनि २० वर्षदेखि भन्दै आएका छौं । एक्सपोर्ट प्रमोसन जोनमा हडताल गर्न पाइँदैन भनेर कानुन बनाउन खोज्दा यो नेपालको संविधानले दिएको अधिकार खोस्न खोजिएको भन्दै विरोध हुन्छ । यो जोनमा निर्धारित कर छुट दिऔं भन्दा कर कार्यालयले पनि बरु पछि निर्यातका आधारमा फिर्ता गरौंला तर पहिले नै छुट दिन हुँदैन भन्छ, बिजुलीमा केही छुट देऊ भनेर प्राधिकरणलाई भन्दा ऊ आफैं लोडसेडिङको मारमा भएकाले कसरी दिन्छ र ! बैंकलाई पैसा देऊ भन्यो भने आयातमा जस्तो छिटो पैसा फिर्ता नआउने भन्दै पन्छिन्छ । त्यसो हुँदा हाम्रो निर्यातसँग सम्बन्धित पूर्वाधार निर्माणहरु असाध्यै ढिलो हुन पुगे । हामीले भैरहवाको सेजमा गिटी प्रशोधन गर्दै गरेको देखेका थियौं, यो कुनै तुकको कुरो थिएन । सिमराको गार्मेन्ट प्रशोधन केन्द्रमा ६ सय बिघा तारबार गरेर राख्नुको पनि के अर्थ भयो र ?

स्वदेशी उद्योगको चेन बनाऔं
मैले सोचेको चाहिँ बाँके बर्दियामा कपास उत्पादन गरौं, बुटवलमा धागो बनाऔं, हेटौंडामा लगेर टेक्सटायल बनाऔं र सिमरा लगेर तयारी पोशाक बनाऔं अनि निर्यात गरौं भन्ने हो । यो पूरा सर्कलमा निजी क्षेत्रलाई साथमै लैजाऔं । हामीसँग धागो उत्पादक पनि छन्, कपडा उत्पादक पनि छन् र गार्मेन्ट व्यवसायी पनि छन् । कपास पनि उनीहरुलाई नै उत्पादन गर्न दिऔं, जमिन लिजमा दिएर भन्ने मेरो सोच हो । यसको योजना बनाएर मन्त्रिपरिषद्सम्म पुगे पनि त्यो त्यत्तिकै थन्कियो । यसको निष्कर्षचाहिँ के हो भने हामी निजी क्षेत्रलाई विश्वास गर्ने अवस्थामा पुगेनौं । निजी क्षेत्र पनि कसरी चाँडो नाफा कमाइन्छ भनेर सोच्ने अनि हामी पनि सबै निजी क्षेत्रलाई एउटै बास्केटमा हाल्ने गर्नाले समस्या भएको हो । निजी क्षेत्रलाई पहिल्यै शंका गर्ने अनि प्रयोग नै गर्न नदिने हाम्रो प्रवृत्तिमा पनि समस्या छ जस्तो लाग्छ ।

भूमि लागत मुख्य अवरोध
हाम्रा जति पनि पूर्वाधारहरु छन्, तिनमा निजी क्षेत्रको सहभागिता र संलग्नता जरुरी छ । सरकार एक्लैले चाहेर केही हुँदैन । अहिले कुनै पनि उद्योगहरु जग्गाको मूल्य बढेका कारण सुरक्षित महशुस गरिरहेका छन् । कुनै पनि उद्योगमा जमिनको मूल्य जोड्ने हो भने प्रतिस्पर्धी हुँदै हुँदैनन् । म आफैं अर्थमन्त्री हुँदा पालिकाहरुमा औद्योगिक ग्राम बनाउने, प्रदेशमा प्रदेश औद्योगिक क्षेत्र बनाउने र ठूला औद्योगिक क्षेत्र र स्पेसल इकोनोमिक जोनहरु संघले पनि गर्ने भनेर कार्यक्रम अघि बढाएको थिएँ । औद्योगिक क्षेत्रको पूर्वाधार छिटोभन्दा छिटो अघि बढाएनौं भने अब उद्योग खोल्नेले जमिन किनेर खोल्न सक्दैनन् । सिमरामा गार्मेन्टसँगै कार्पेटलगायत अरुलाई पनि लैजानुपर्छ । पश्मिना, हस्तकला जान्छु भने दिनुपर्छ । तराईका कृषिजन्य औद्योगिक वस्तु प्रशोधन गर्छु भने पनि दिनुपर्छ । निर्यात पनि ६० प्रतिशत गर्नैपर्छ भनेर हुँदैन, अवस्था हेरेर ४० प्रतिशत नै दिए हुन्छ । सुरुमा विशिष्ठीकृत उत्पादनका लागि समय चाहिन्छ भने आन्तरिक बजारमा स्थापित हुन दिनुपर्छ । अहिले उद्योग खोल्नेलाई पानी, ढल, सडक, विद्युत्को व्यवस्था सरकार आफैंले नगरीदिने हो भने उद्योग खोल्न कोही आउँदैन ।

ढुवानी लागत पनि घटाऔं
हाम्रो ढुवानी भाडा लागत घटाउनुपर्छ । मुख्य औद्योगिक क्षेत्रलाई उत्तर दक्षिण रेलवेसँग जोड्नुपर्छ । जोगवनी–विराटनगर, रक्सोल–वीरगन्ज, नौतनवा–भैरहवा, रुपेडिया–नेपालगन्ज जस्ता चार खण्डमा कमसेकम रेल जोड्न सकियो भने उद्योगहरु पनि त्यहीँ केन्द्रित हुने थिए । राजमार्गभन्दा दक्षिणका सबै उद्योगले रेलवेको माध्यमले आफ्ना सामान सिधै कोलाकातासम्म पु¥याउन पाए भने हाम्रो ढुवानी भाडाका कारण सिर्जित दायित्व घट्ने थियो । फ्रेट इन्स्योरेन्सजस्ता विषयलाई केही सहुलियत दिन सकिन्छ कि भन्नेमा ।

नगद अनुदानको सन्दर्भमा उत्पादनको विन्दुमै अनुदान दिइयो भने विचौलियाले मात्र फाइदा पाउँदैनन् । भ्यालु एडको नम्र्सलाई पनि यति झन्झटिलो बनाइनु हुँदैन । बस्तुको आधारमा भ्यालू एडको मापदण्ड हामीले नै तोकेका हौं । निर्यातकर्ताले ड्युटी ड्र ब्याक भन्सार विन्दुमै पाउनुपर्छ भन्नुहुन्छ, त्यो सम्भव नभए पनि भोलिपल्टै कर कार्यालयलाई लेखिदिन सक्छ । निर्यात भएको सात दिनभित्र दिने भनेर प्रतिवद्धता जनाऔं । यसमा ढिलो गर्नुपर्ने कारण छैन, कर्मचारीमा यसले सित्तैमा पाएको हो, यसले पाएको हो भने मैले पनि खाए हुन्छ भन्ने मनोवृत्ति छ । अनुदान भन्नेवित्तिकै हाम्रा राष्ट्रसेवकमा लोभ लाग्ने अवस्था छ ।

आर्थिक कुटनीतिलाई सबल बनाऔं
विदेशमा हाम्रा सामान बेच्न हाम्रा प्रयास कति भए, कहाँ चुक्यौं भनेर पनि समीक्षा गरौं । ट्रेड फेयरमा सहभागीता महत्वपूर्ण पक्ष हो तर निर्यात सरकारको काम हो, हामीलाई पठाउनुपर्छ भन्ने व्यापारी र नाफा उनीहरु कमाउने हामी किन दिने भन्ने सरकारका कारण यसमा विवाद छ । त्यसैले लागत साझेदारी गर्नैपर्छ, हामीले बजेटमार्फत गरेका पनि छौं । ट्रेड फेयरमा लाभ लिन सक्ने व्यवसायी पठाउनुपर्छ । अधिकृत गए पुग्ने ट्रेड फेयरमा सचिवदेखिको नाम राखिन्छ । ठूलो संख्यामा सरकारी कर्मचारी जानु जरुरी नै छैन ।

आर्थिक कुटनीतिले पनि ट्रेड फेयरलाई समेट्नुपर्छ । यस्ता मेलामा आफ्नो मुलुकको उपस्थिति, बीटूबी मिटिङलगायतका वातावरण दूतावासले नै तयार गर्न सक्छ । त्यहाँका खरीदकर्ताहरुसँग नियमित सम्बादमा रहनुपर्छ । दूतावासले ट्रेड प्रमोशनको काम गर्नुपर्छ । आफ्नो मुलुकको विशिष्ट उत्पादनहरु वेबसाइटमै राख्न सकिन्छ । मैले अर्थमन्त्री हुँदा कुटनीतिक नियोगमा नेपाली मौलिक वस्तुहरु शोकेसमा राख्ने बनेर बजेट विनियोजन गरेको थिएँ । म राजदूत भएर अमेरिका जाँदा सामान कहाँ छ भनेर सोधेको त सामान आयो तर ¥याकको लागि पैसा भएन अनि राख्ने ठाउँ पनि भएन भनियो । मैले नै दूतावासको लिभिङ रुपमा सोकेस राखेँ । अर्को कुरा हामीले बजेट विनियोजन जति गरे पनि सामान किन कम भयो भनेको त परराष्ट्रले २० वटा निकायमा बराबरी पैसा बाँडिदिएको रहेछ । इजिप्ट, एजरायल, म्यानमार जस्ता देशमा जहाँ जरुरी नै थिएन, त्यहाँ पनि बराबरी बजेट पठाइएको रहेछ ।

कुटनीतिक सम्बन्धलाई हाम्रा राजदूतहरुले बढी जोड दिए तर आर्थिक कुटनीति सेटलाइटका रुपमा मात्र रह्यो । हामी सबैका कमजोरी यसमा छ । अर्थशास्त्रको चासो राख्ने राजदूत भए अलि मेहनत गर्छ नत्र आर्थिक कुटनीति भाषणमा मात्र सीमित रहन्छ । हाम्रो प्रडक्टहरु भीआईपीहरुको भिजिटमा गिफ्ट दिँदा दिन सकेमा त्यसको मार्केटिङ आफैं हुन्छ । विदेहीहरु सामान्य गिफ्ट दिँदा खुसी हुन्छन्, खोलेर हेरिहाल्छन्, त्यो एकैपटक मिडियामा जान्छ । त्यसैले निजी क्षेत्रसँग मिलेर गिफ्ट प्रडक्ट बनऔं र राम्रो गिफ्ट दिऊँ ।

भ्यालू एडमा जोड गरौं
हामी विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँ प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर निकासी गछौं तर हाम्रो कच्चा पदार्थ भने सित्तैमा निकासी भइरहेको छ । हामीले एग्रो प्रोसेसिङ गरेर कमर्सियल क्रप निकासी गर्न सक्नुपर्छ । जडिबुटीमा प्रशोधन भएको भनिए पनि त्यो अर्धप्रशोधित मात्र हो । लेमन ग्रासको तेल निकालेर हामी पठाउँछौं तर त्यो अर्धप्रशोधित हो । त्यसबाट उसले ५० गुणा बढी लाभ लिइरहेको । यसैले यस्ता बहुमूल्य बस्तुमा पूर्ण प्रशोधनपछि मात्र निर्यात गर्नुपर्छ । खयरको कत्थाको कथा पनि त्यही हो । जति पनि जडिबुटी छन्, अर्धप्रशोधित र अप्रशोधित रुपमा निकासी भइरहेका छन् । एक तह पनि प्रशोधन नगरी निकासी गर्न पाइँदेन भनेर बजेटमा लेखियो, तर एक तहले मात्र पुग्दैन ।

भ्यालू एड हुने तहसम्म अर्थात फाइनल प्रडक्ट नै निकासी गर्नुपर्छ । यसका लागि भ्यालू चेनमा ट्याक्स, वातावरणीय अवरोध छन् भने हटाइनुपर्छ ।

अर्कोतर्फ हाम्रो प्राकृतिक सम्पदाहरुको हामी उपयोग गर्ने र संरक्षण गर्नेभन्दा रोक्ने र खेर जान दिने अवस्थामा पु¥याइरहेका छौं । अधिकतम उपयोगतर्फ जानुपर्नेमा रोक्नमै अग्रसर भयौं । वैज्ञानिक वन व्यवस्थापन भनेर सुुरु गरियो, रुख काट्दै रोप्दै जाुनपर्नेमा हाम्रो ध्यान चाहिँ सालको रुखमा गयो र कार्यक्रम नै रोक्नुप¥यो । यो कार्यक्रम १० वर्षमा पुनः उत्पादन भइसक्ने सफ्ट उडमा हुनुपथ्र्यो तर ५० वर्ष लाग्ने सालतर्फ गयो । यसरी समग्रतामा भन्नुपर्दा हाम्रा निर्यातका सम्भावना नभएका होइनन्, तुलनात्मक लाभका क्षेत्र पनि छन् । तिनको विकास गरौं, भ्यालू एड गरौं । तत्कालीन ट्रेड मार्जिनबाट प्राप्त लाभ हेरेर मख्ख नपरौं । हाम्रो निर्यात क्षमता बढाउन हस्तकला जस्ता मौलिक र लाभका क्षेत्रमा जनशक्ति पलायन हुन नदिन रोक्नुपर्छ ।

निर्यात व्यवसायी महासंघद्वारा प्रकाशित निर्यात बुलेटिनबाट

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह