विश्वसामु नेपाललाई एक स्वतन्त्र, समुन्नत र विशिष्ट पहिचानयुक्त मुलकको रुपमा प्रवद्र्धन गर्ने दिशामा नेपालको परराष्ट्र नीति सञ्चालन हुँदै आएको छ । त्यसैले हाम्रो परराष्ट्र सम्बन्धको सार भनेको हाम्रो वृहत्तर हित र राष्ट्रिय स्वार्थसँग प्रत्यक्ष जोडिएको छ । विकसित विश्वका विविध आयामहरुसँगै वर्तमान समयमा परराष्ट्र सम्बन्ध बहुआयामिक, व्यापक र विस्तृत हुनुपर्दछ र हुँदै गइरहेको पनि छ । तर, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको मूलमन्त्र भनेको स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति नै हो । यसका लागि हामीले विश्व रङ्गमञ्चमा कुनै शक्ति राष्ट्र वा समूहको पक्षधर नभई विश्व शान्ति र न्यायपूर्ण अन्तर्राष्ट्रिय समुदायको वकालत गर्ने तथा मित्रराष्ट्रहरुको चासो र संवेदनशीलताको सम्मान गर्ने प्रयासमा सदैव सचेत रहेका छौँ । यसैमार्फत् हामीले आफ्ना राष्ट्रिय हितलाई सशक्त रुपमा अघि बढाउँदै आएका छौँ ।
दुनियाँमा कूटनीतिका कयौँ आयाम र प्रकारको विकास र अभ्यास भइरहेको छ । त्यसैले हामी पनि परम्परागत कूटनीतिक सोचमा मात्र सीमित रहेर बस्नुपर्छ भन्ने मलाई लाग्दैन । हाम्रो भौगोलिक अवस्थिति, भूराजनीति एवं आर्थिक अवस्थाका कारण पनि हामीले समयानुकुल विविध कूटनीतिक आयामहरुको विकास र विस्तार गर्दै लैजानुपर्दछ भन्ने मेरो मान्यता रही आएको छ ।
विश्व परिवेशमा कूटनीतिलाई आफनो देशको लगानी र प्रतिफल, उत्पादक र उत्पादकत्वसँग जोडेर एक अर्को देशमा भ्रमण, सूचनाको आदानप्रदान र नीतिगत सहजीकरणका लागि प्रयासहरु हुने गर्दछन् । नेपालको हकमा छिमेकीहरुसँग आपसी र पारस्परिक सम्बन्ध, विश्वका प्रमुख शक्तिहरुसँग आर्थिक तथा विकासमा रणनैतिक सहकार्य एवं उदीयमान अर्थतन्त्रका साथै नेपालीहरुलाई रोजगारीका लागि प्रदान गर्दै आएका देशहरुसँग श्रम सहजीकरण मार्फत काम गर्नुपर्ने देखिन्छ ।
यो ‘फ्रेमर्वक’भित्र रहेर मेरो व्यक्तिगत धारणाको कुरा गर्दा वेस्ट एसिया तथा कतिपय गल्फ राष्ट्रहरुमा अब हाम्रो परम्परागत कूटनीतिक सम्बन्धको निरन्तरताले मात्र पुग्छ जस्तो मलाई लाग्दैन । ती देशमा हाम्रा नेपाली लाखौँको सङ्ख्यामा हुनुहुन्छ । त्यहाँबाट मुलुकले प्राप्त गरिरहेको रेमिट्यान्स हाम्रो अर्थतन्त्रकै एक महत्वपूर्ण अङ्ग बन्ने गरेको पनि विदितै छ । ती मुलुकमा त्यति ठूलो सङ्ख्यामा रहेका हाम्रा नेपाली नागरिकको हित र सुरक्षाका पक्षमा नै हामीले हाम्रा कूटनीतिक पहलहरु अघि बढाउनु जरुरी छ भन्ने मेरो मान्यता हो ।
ती देशहरुमा हाम्रा नेपालीहरुको हित प्रवद्र्धन हुने पक्षबाट नै हामीले कूटनीतिक सम्बन्धहरुलाई अघि बढाउनुपर्छ । यसलाई हामी श्रम कूटनीतिको परिभाषा पनि दिन सक्दछौँ । हाम्रो चासो भनेको नेपालबाट श्रम सम्झौता मार्फत त्यहाँ पुगेकाहरुको हितको रक्षा हुने, उहाँहरुलाई बढीभन्दा बढी लाभ पुग्ने, उहाँहरुको श्रमको सम्मान र व्यावसायिक हितको रक्षा हुने विषयमा केन्द्रित हुनुपर्ने देखिएको छ । जसका कारण उहाँहरुको लाभबाट मुलुकलाई पनि बढी मात्रामा रेमिट्यान्स भित्रिने खालको श्रम कूटनीतिको मान्यतालाई अघि सार्दै जानुपर्दछ । यसैमार्फत् ती देशसँगको सम्बन्धलाई पनि थप सुमधुर बनाउँदै लैजानुपर्दछ । यसरी हाम्रो उपस्थिति र अवस्थितिले हाम्रा कूटनीतिक सम्बन्धमा नयाँ नयाँ आयाम थप्दै जान सक्दछ । यहाँ मैले प्रस्तुत गरेको यो एक उदाहरण मात्र हो ।
कूटनीतिका माध्यमबाट मुलुकको आर्थिक विकासका लागि पहल गरी आर्थिक समृद्धि हासिल गर्नु नै आर्थिक कूटनीति हो । आर्थिक कूटनीतिलाई विशेषगरी विदेशी राष्ट्रहरुले दिने सहयोग, त्यहाँ रहेका लगानीकर्ताहरुको लगानी आकर्षित गर्न गर्ने, हाम्रा उत्पादनहरुका लागि बजारको पहिचान गर्ने र हामीसँग भएका जनशक्तिलाई रोजगारीको अवसरको खोजी गर्ने गरी चार भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ भन्ने मलाई लाग्दछ ।
यसअन्तर्गत हाम्रा कूटनीतिक अङ्ग तथा अवयवहरुले आफ्ना प्रतिनिधिमार्फत् मुलुकमा लगानी भित्र्याउने तथा मुलुकको उत्पादनलाई ती देश तथा स्थानविशेषहरुमा निर्यातका लागि सहजीकरण गरी मुलुकको आर्थिक गतिविधिलाई बढावा दिने नै हो । हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएका देशहरुमा कूटनीतिक प्रतिनिधिहरु मार्फत आर्थिक पहलहरुलाई पनि अघि बढाउने, ती देशका लगानीकर्ताहरुमाझ पुगेर हाम्रो देशमा उनीहरुले गर्न सक्ने लगानीका सम्भावनाहरुलाई उजागर गर्ने तथा हामीसँगको उत्पादनहरुलाई ती देश या स्थानको खाँचोअनुरुप निर्यातका लागि दुवै देश र त्यहाँका निजी क्षेत्रलाई सहजीकरण गर्ने काम पनि आर्थिक कूटनीतिमा पर्दछ । हामीले सोचिरहेको आर्थिक कूटनीतिको अवधारणा अन्तर्गत ती देशको लगानी नेपालमा कसरी आकर्षित गर्ने भन्ने योजना र रणनीति थप महत्वपूर्ण हुनेछ ।
यसै अन्तर्गत गल्फ राष्ट्रहरुमा हाम्रो सफा, स्वस्थ र कञ्चन पानीको निर्यातका लागि उनीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर बनाउने कूटनीतिक योजनालाई यहाँनेर हामीले आर्थिक कूटनीतिको कोटिमा राख्न सकिन्छ । हाम्रा असीमित पानीका स्रोत, हिमाल र हाम्रा पर्यटकीय सम्पदाहरु उनीहरुका लागि कसरी आकर्षित गर्न सक्छौँ भनेर आर्थिक कूटनीतिकको कोणबाट हेर्न सक्नुपर्दछ ।
हाम्रो श्रम बजार उनीहरुको खाँचोमा परिरहेको छ । बर्सेनि यहाँबाट ठूलो सङ्ख्याको जनशक्ति त्यहाँ पुग्ने गरेको छ । यस्तो अवस्थामा उनीहरुले नेपालमै उनीहरुको आवश्यकता र बढी माग हुने क्षेत्रको कुनै टेक्निकल स्कुल या त्यस्तै इन्स्टिच्युट खोलेर त्यसैमार्फत् आफुलाई चाहिने जनशक्ति अनुसारको भोक्यासनल (व्यावसायिक) कोर्ष या तालिम दिन सक्छन् । यसप्रकारको टेक्निकल स्कुलको स्थापना गर्न सकिए यसले दुवैतर्फ फाइदा हुन जान्छ । नेपाली जनशक्तिले सीप आर्जन गर्न पाउँछ भने उनीहरुले पनि आफ्नो आवश्यकता अनुसारको सीप यहीँ सिकाएर दक्ष जनशक्ति तयार पारेर लैजान सक्छन् । मैले यहाँ यो आलेखमार्फत् यस प्रकारको लगानीका लागि प्रस्ताव गरेको नभएर आर्थिक कूटनीतिको कौशलता भित्र यस्ता विषयहरु पनि पर्दछन् भन्ने उदाहरण प्रस्तुत गरेको हो ।
विकास र समृद्धिको राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राख्ने योजना बनाएको छ । जनसाङ्ख्यिक लाभ, शिक्षित र सक्षम जनशक्ति, प्राकृतिक स्रोतको उपलब्धता, विद्युत तथा इन्टरनेट सेवाको पहुँच, बजारको उपलब्धता, पूर्वाधारको विस्तार, सेवा क्षेत्रको विकास तथा कृषि र पर्यटन क्षेत्रमा क्रमशः बढ्दै गएको व्यावसायीकरण नेपालको अर्थतन्त्रका सबल पक्ष हुन् । तर पनि पर्याप्त लगानीका लागि पूँजीको अभाव र उत्पादकमूलक क्षेत्रमा न्युन लगानी हाम्रो अहिलेका चुनौती नै हुन् । यसका अतिरिक्त न्युन रोजगारीको अवस्था एवं अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण समय समयमा सिर्जना हुने विविध नयाँ चुनौतीहरूले गर्दा मुलुकको अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको यथार्थ हामीसँग छ ।
यद्यपि, विकास सहायताको परिचालन, वैदेशिक लगानी, निर्यात प्रोत्साहन, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा केन्द्रित भई हाम्रा कूटनीतिक संयन्त्रहरुको क्षमता परिचालन गर्न सकेमा विकास र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्न सहज हुनेछ । मुलुकको विकासको आवश्यकता र उपलब्ध स्रोत–साधनहरुका बीचमा देखिएको खाडललाई पुर्न आर्थिक कूटनीतिको सशक्त परिचालन एक औजार हुनसक्छ । अबको हाम्रो परराष्ट्र नीतिलाई यसतर्फ परिलक्षित गर्ने योजनामा हामी छौँ ।
नेपालका निर्यातयोग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहिचान गर्न, सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवद्र्धन गर्ने कार्यमा नेपालका सबै मिसनहरु सक्रिय रहनुपर्दछ । यिनै अवधारणामा केन्द्रित रही नियोग मार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरुलाई उपलब्ध स्रोत साधन परिचालन गरी थप प्रभावकारी र परिणाममुखी बनाउने हाम्रो योजना छ ।
नेपालको व्यापारघाटा बढ्दो देखिएको छ । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न हाम्रा आर्थिक क्रियाकलापहरु केन्द्रित हुनुपर्दछ । यसबाट व्यापारघाटा क्रमशः कम गर्दै लैजान निर्यातमूलक आयोजनाहरूमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिएको पनि छ । निर्यातलाई बढावा दिई आयातलाई व्यवस्थापन गर्न हाम्रा सबै मिसनहरुलाई आवश्यक सहजीकरण गर्नु जरुरी छ । प्रत्यक्ष वैदेशिक लगानीको अवस्था पछिल्ला वर्षहरुमा उत्साहप्रद नदेखिँदा लगानी प्रतिवद्धता र प्राप्तिबीचको खाडल बढ्दै गएको छ । अब हामीले त्यो खाडलको कारण खोज्नुपर्दछ र यो खोजीका लागि पनि आर्थिक कूटनीतिको प्रयोग गर्न सकिन्छ । यसका लागि नेपाल र सम्बन्धित देशका निजी क्षेत्रहरुसँगको सहकार्य र समन्वय अति जरुरी छ ।
वैदेशिक सहायतातर्फ समेत प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको छ । प्रतिबद्धता अनुसारको सहयोग प्राप्त भएको छैन । यसमा पनि हाम्रा कूटनीतिक नियोगहरुको भूमिका प्रभावकारी रहन्छ भन्ने कुरा आर्थिक कूटनीतिको माध्यमबाट मनन् गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
पर्यटन हाम्रो देश विकासको प्रमुख आधार हो । हाम्रा पर्यटकीय सम्पदा र प्रकृति संसारकै आकर्षक छन् । तिनलाई विश्वका पर्यटक सामू उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सुपरिचित गराई गुणस्तरीय एवं दिगो पर्यटन विकास गर्न देशभित्र पर्यटन पूर्वाधार निर्माण जरुरी छ । नेपालमा हाल धेरै यस्ता पर्यटकीय पूर्वाधारहरु बनिरहेका पनि छन् । देशमा हाल दुई अन्तर्राष्ट्रिय विमानस्थल नै तयार छन् भने होटल, केबलकार लगायतका पर्यटन पूर्वाधारहरुमा उल्लेख्य वृद्धि भएको पनि छ । जतिधेरै पर्यटन पूर्वाधार निर्माण भए त्यति नै विदेशी पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्नेछ । त्यसैले यी संरचनाहरुको उपयोगमार्फत् विश्वका पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न अन्तर्राष्ट्रिय जगतमा हाम्रो पर्यटन कूटनीतिको खाँचो छ । यसका लागि हामीले संसारका नेपाली मिसनहरुलाई समन्वयत्मक ढंगले परिचालन गर्ने र नेपाली डायस्पोरासँग सहकार्य गर्न सकिन्छ । नेपाल चिनाउने तथा हाम्रा प्रकृति र परम्पराको प्रचार गर्ने खालका मेला, महोत्सव तथा प्रदर्शनीहरुमार्फत् हाम्रा मिसनहरुले विदेशमा नेपाली पर्यटनको प्रवद्र्धन गर्न सक्दछन् ।
भारत र चीनसँगको हाम्रो सम्बन्ध ऐतिहासिक र बहुआयामिक छ । हालैका दशकमा यी विशाल छिमेकीहरुले हासिल गरेका उपलब्धि र उनीहरुको ठूलो बजारबाट हामीले लाभ लिन सक्नुपर्दछ । छिमेकीहरुको अभूतपूर्व आर्थिक तथा प्राविधिक विकासबाट हामी कसरी लाभान्वित हुन सक्छौँ भन्ने कूटनीतिको विकास हामीले नै गर्ने हो । हाम्रा छिमेकीको आर्थिक एवं सामाजिक प्रगतिबाट शिक्षा लिँदै लगानी, सीप, प्रविधि र ज्ञान भित्र्याउने दिशामा हामी सक्रियताका साथ लाग्नुपर्दछ । छिमेकको ठूलो जनसङ्ख्या हाम्रो प्रमुख पर्यटन बजार भएकाले त्यसतर्फ लक्षित पर्यटन कूटनीतिले हामीलाई लाभ प्राप्त हुने निश्चित छ ।
पर्यटनजस्तै उर्जाका क्षेत्रमा पनि कूटनीतिक अवधारणाका माध्यमबाट हामी अघि बढ्न सक्छौँ । जस्तो कि हामीले भारतसँग उर्जा निर्यातको सुरुआत गरिसकेका छौँ । म परराष्ट्रमन्त्री भएपछि भएको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँग गरेको भेटवार्तापछि सोही दिन भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो । अन्तरदेशीय व्यापार अन्र्तगत भारतीय प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको थियो । नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण त्यतिबेलै ९४१ मेगावाट पुगेको थियो । योसँगै भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत आयातका लागि गरेको पूर्व सहमतिको औपचारिक सुरुआत पनि भएको छ । मुलुकको परराष्ट्रमन्त्रीका हैसियतमा मैले गरेको पहिलो विदेश भ्रमणका क्रममा भएको यो पहललाई मुलुकको उर्जाका क्षेत्रमा भएको ठूलै उपलब्धि ठानेर मैले यहाँ यो प्रसङ्ग राखेकी हुँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करले भारतले नेपालबाट एक हजार मेगावाट विद्युत् आयात गर्न लागेकामा खुसी पनि व्यक्त गर्नुएको थियो ।
हाम्रो ऊर्जा निर्यातका लागि भारतले खोलिदिएको यो ढोका हालका लागि भारतबाट केही पर बङ्गलादेशसम्म पुगिसकेको छ । अब हाम्रो ऊर्जा उत्पादनलाई विश्व बजारसम्म नै पहुँचयोग्य बनाउनु जरुरी छ । अर्थात आज भारतले आयात सुरु गरेको विद्युत्को यो परिमाणलाई भोलिका दिनमा भारतको खाँचो बमोजिमकै अधिकतम तहसम्म कसरी पु¥याउने ? यसका लागि अहिल्यैदेखि हाम्रा कूटनीतिक प्रयास र पहलहरुलाई कसरी अघि बढाउने ? भारतसँग र भारतहुँदै अन्य बजारसम्म हाम्रो ऊर्जा व्यापारको दायरालाई बढीभन्दा बढी फराकिलो बनाउनका लागि हामीले उनीहरुसँगको कूटनीतिक क्षमता कसरी प्रदर्शन गर्ने ? हो, यसलाई उर्जा कूटनीतिका रुपमा लिएर हामी अघि बढ्नुपर्दछ । यस्तै क्रियाकलापहरुलाई हामीले आर्थिक कूटनीतिका रुपमा लिने र अभ्यास गर्ने हो ।
धार्मिक एवं सांस्कृतिक क्षेत्र पनि हाम्रो आर्थिक कूटनीतिको एक बलियो पाटो बनाउन सकिन्छ भन्ने मलाई लाग्दछ । हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदाहरु अद्वितीय छन् । तिनलाई विश्वमै सुपरिचित गराउन सक्नुपर्दछ । हामीले आफूलाई यो संसारकै सबैभन्दा भाग्यमानी नागरिक किनपनि ठान्नुपर्छ भने हाम्रै देश लुम्बिनीमा भगवान गौतम बुद्धले जन्म लिनुभएको थियो । आजका दिनमा मलाई लाग्छ विश्वको झण्डै झण्डै एक तिहाई जनसङ्ख्या बौद्ध दर्शन अर्थात् बौद्धमार्गमा आस्था राख्दछन् । उनीहरुलाई जीवनमा कम्तीमा एक पटक लुम्बिनी पुगौँ भन्ने सन्देश हामीले संसारभर कसरी फैलाउने ? धार्मिक एवं सांस्कृतिक पर्यटनका लागि पनि हामीले आफ्ना यी कूटनीतिक पहलहरुलाई अघि सार्दै लैजानुपर्दछ ।
विश्वभर निकै ठूलो सङ्ख्यामा नेपाली डायस्पोरा छरिएर बसेको छ । म मन्त्री भएपछि जति देशमा गएँ त्यहाँ नेपालीहरु इमान्दार छन्, मेहनेती छन्, उनीहरुले आफ्नो क्षेत्रमा राम्रो गरेका छन्, आफूले पाएको जिम्मेवारी निकै प्रभावकारी रुपमा निर्वाह र पूरा गर्छन् भन्ने मात्र सुन्ने गरेको छु । आफ्ना नागरिकका बारेमा विदेशीले दिएको यो फिड्ब्याक सुन्दा बडो आनन्द लाग्दछ । यो सबै नेपालीले नै बनाएको इमेज हो । त्यसैले विदेशमा बस्ने सबै नेपाली नागरिक नेपालका ‘गुडविल एम्बासेडर’ हुन् भनेर मैले भन्दै पनि आएकी छु । उहाँहरुको काम र इमान्दारिताबाट नै हामीले यस्तो फिड्ब्याक पाएका हौँ ।
नेपालीहरुले संसारका कुनाकाप्चामा पुगेर आफ्ना काम तथा क्षमताहरुको प्रदर्शन गर्नुभएको छ । उहाँहरुले ती देशमा रहेर ज्ञान, सीप तथा पूँजी आर्जन गर्नुभएको छ । उहाँहरुको त्यो सीपलाई नेपालको विकासमा कसरी लगाउने ? उहाँहरुले विश्वका ठूला तथा राम्रा विश्वविद्यालयमा आर्जन गरेको ज्ञानबाट नेपालले के लाभ लिने र कसरी लिने ? अनि उहाँहरुले विदेशमा आर्जन गर्नुभएको पूँजी मातृभूमिकै लागि लगानी गर्नुहोस् भनेर उहाँहरुलाई कसरी आकिर्षत गर्ने ? यस विषयमा हामीसँग त्यस्तो कुनै योजना एवं कार्यक्रम रहेनछ । न त परराष्ट्रमा त्यस्तो कुनै ‘विङ’ नै सञ्चालनमा छ । त्यसैले आर्थिक कूटनीतिका माध्यमबाट हामीले संसारमा छरिएर रहेका नेपालीहरुको यो सम्पत्तिको सदुपयोग कसरी गर्ने भन्ने बारेमा सोचिरहेका छौँ ।
आर्थिक अभाव र यसका कारण परराष्ट्र मातहत नियोगहरुमा जनशक्ति अभावका कारण पनि हामीले आर्थिक कूटनीतिको प्रवद्र्धन गर्न नसकेको महशुस मलाई भएको छ । यसलाई एक चुनौतीका रुपमा मैले लिएको छु । तर पनि परराष्ट्र मन्त्रालयको आवश्यकताका रुपमा रहेको थप जनशक्तिको परिपूर्ति गर्न हालसालैमात्र संगठन तथा व्यवस्थापन सर्भे गरिएको छ । यसबाट प्राप्त हुने थप जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगमा कार्यसम्पादन चुस्त बनाइ मानवस्रोतको व्यवस्थापनमा सहयोग पुग्नेछ । नियोगहरुलाई यथाशक्य पर्याप्त बजेट व्यवस्थापन गर्न पनि मन्त्रालयले प्रयास थालेको छ । यसबाट नेपालको आर्थिक कूटनीतिको प्रवद्र्धन गर्न सजिलो पर्ने महसुस गरिएको छ ।
मैले यहाँ अघि सारेको यो आर्थिक कूटनीतिको अवधारणालाई परराष्ट्र मन्त्रालयले मात्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने होइन । यसमा आवश्यक सबै मन्त्रालय जस्तो कि अर्थ, पर्यटन, उद्योग वाणिज्य, ऊर्जा लगायत राज्यका आवश्यकता अनुसारका अन्य निकाय एवं निजी क्षेत्रको सहभागिता आवश्यक छ । यी सबैको संयुक्त सहकार्य एवं समन्वयबाट नै यो अवधारणालाई अघि बढाउन सकिन्छ ।
परराष्ट्रमा नै यसप्रकारको अलग्गै संरचना निर्माणका लागि हामीले सोचिरहेका छौँ र यी सबैको संलग्नतामा निर्माण हुने यसप्रकारको निकाय अथवा भनौँ संरचनाबाट हामीले आर्थिक कूटनीतिको अवधारणालाई हाम्रा समग्र नियोगमार्फत प्रवर्धन गर्ने योजना हामीले बनाएका छौँ । यसरी हामी अघि बढ्यौँ भने मैले आर्थिक कूटनीतिको सम्भावना मात्र देख्छु, चुनौती थोरै मात्र छन् ।
यतिखेर हामी मानव जातिले पछिल्लो समय विकास गरेको अधिकतम विकसित प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युगमा प्रवेश गरिसकेका छौँ । प्रविधिको विकासको कालखण्डले नयाँ फड्को मार्ने युगमा हामी आइपुगेका छौं । विश्वलाई अहिलेको भन्दा अझै दु्रत गतिमा अगाडि बढाउन यी र यस्तै अन्य आविष्कारहरु प्रयासरत छन् । हामी त्यसको समेत लाभ लिन पछि पर्नु हुँदैन ।
विकसित पछिल्ला सबैखाले प्रविधि र ज्ञानबाट लाभान्वित हुँदै नेपाललाई एक समुन्नत राष्ट्र बनाई भावी पुस्तालाई सुम्पनु हामी सबैको कर्तब्य हुन आउँछ । राष्ट्रनिर्माणको यस कार्यमा रचनात्मक सुझाव प्रदान गरी सहकार्यका साथ अघि बढ्ने वातावरण निर्माण गर्न विद्धत वर्ग तथा समग्र प्रेस जगतको सहयोग सदैव अपेक्षित छ ।
(राणा परराष्ट्रमन्त्री हुन्, उनको यो आलेख सेजन स्मारिका २०८१ बाट लिइएको हो)
प्रतिक्रिया