Logo

विकास / पूर्वाधार

नागढुङगा–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने


GDP नेपाल
   २२ चैत्र २०७८, मंगलबार


काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ ।

सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ । तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो । उहाँले भन्नुभयो, “दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ ।”

नागढुङ्गाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन् । नागढुङगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताउनुभयो । तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताउनुभयो । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो । उहाँले भन्नुभयो, “अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ ।”

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताउनुभयो । ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ । त्यो नभएपछि सम्झौता गर्न सकिने उहाँले बताउनुभयो । अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उहाँले बताउनुभयो ।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताउनुभयो ।

सडक विभागले यस अघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताउनुभयो । बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ । बैकल्पिक सडक नहुँदा सवारीसधन अर्कोतर्फ मोड्न ९डाइभर्ट० गर्न सकिने छैन । सवारीसाधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताउनुभयो । सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस भनेर ध्यान दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बुटवाल–नारायणघाट सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ ।” सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताउनुभयो ।

आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत छ महिनादेखि लागेको छ । निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ । बन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइनेछ । उहाँले भन्नुभयो, “कटानको स्विकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रुख हटाइनेछ ।”

नागढुङ्गा चेकप्वाइन्टबाट शुरु भएर चितवानको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवान गरी तीन जिल्लालाई समेट्छ । यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ छ र मोड सुधार गर्ने, पुल थपिनेलगायतका काम गरिनेछ ।

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह