काठमाडौं । विकासोन्मुख देशहरुमा मुटु रोग निकै ठूलो समस्याका रुपमा देखा पर्न थालेको छ ।
विश्वव्यापी रूपमा तीब्र विकास भइरहेको औद्योगिकीकरण र यससँगै मानव जीवनमा भइरहेको जीवनशैलीको व्यापक परिवर्तनले मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ ।
विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ ।
मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । विश्व स्वास्थ्य संठनले पनि सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।
पुरुष र महिला दुवैलाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ ।
नेपालमा २० प्रतिशत जनतालाई कुनै न कुनै रुपको मुटु रोग छ । सहरमा बढी छन् तर, पछिल्लो समयमा गाउँमा पनि मुटुरोगीको संख्या बढेको छ । गाउँमा जंक फुड खाने प्रवृत्ति बढेसँगै मुटु रोग सहरबाट गाँउ पसेको छ । सम्पन्नबाट बिपन्नमा, वृद्धबाट जवानमा र धनीबाट गरिबमा गएको छ ।
गाउँमा झण्डै एक तिहाइ मान्छेलाई उच्चरक्तचापको समस्या छ । तीनमा एक जनालाई उच्चरक्तचाप र बीस प्रतिशतलाई उच्च कोलस्ट्रोल छ ।
जसरी मुटुको रोग बढ्दै गएको छ, त्यसअनुसार उपचार गर्ने विशेषज्ञ चिकित्सहरूको भने कमी देखिन्छ । नेपाल मेडिकल काउन्सिलका अनुसार हालसम्म नेपालमा जम्मा ११४ जना मुटु रोग विशेषज्ञ रहेका छन् ।
मुटु रोगबाट कसरी जोगिने ?
१.सुर्ति र सुर्तिजन्य पदार्थ प्रयोग नगर्ने । यसले मुटुका रोग लाग्ने सम्भावना ५० प्रतिशत कम हुन्छ ।
२. मुटु रोगको अर्को प्रमुख कारण खानपान हो । यसमा पनि गुलियो र चिल्लो पदार्थ महत्वपूर्ण छ । यसमा पनि चिल्लोले भन्दा गुलियोले मुटुलाई बढी असर गर्छ । गुलियोले कोलस्ट्रोल, मधुमेह र मोटोपना बढाउँछ । यसले हृदयघात समेत गराउन सक्छ । मैदा तथा जंक फुडले मुटुलाई बढी असर गर्छ । त्यसो त बारम्बर तताइएको चिल्लो ‘ट्रान्सफ्याट’ मा परिणत हुन्छ । खानामा जति बढी ट्रन्सफ्याट हुन्छ त्यति बढी मुटुलाई आघात पुग्छ । यस्तै, फाइबर भएको खाना कम भएपनि मुटुलाई असर गर्छ । हरियो सागसब्जी, गेडागुडी, गहुँ, फापर जस्ता अन्नमा फाइबर हुन्छ । मुटु बचाउन कार्बोहाइड्रेटको सट्टा प्रोटिन बढी चाहिन्छ ।
३. खानपान र आहारपछि मुटु स्वस्थ राख्ने शारीरिक व्यायाम नै हो । दैनिक कम्तिमा पनि तीस मिनेट शारीरिक व्यायाम गर्नुपर्छ । अलिकति लम्किएर मुटुको धडकन र सास बढ्ने गरी हिँड्नु वा व्यायाम गर्नुपर्छ ।
४. मानसिक तनाव र उत्तेजना बढी हुँदा पनि हृदयघातको खतरा हुन्छ । मानसिक तनाव र आवेगले प्रेसर र मुटुको धडकन बढाउँछ । जसले गर्दा हृदयघात हुनसक्छ । मानसिक तनावलाई बैज्ञानिकहरुले खास वास्ता नगरेको भए पनि यो ठूलो कारण हो । यसैले मानसिक तनाव मेरो लागि हानिकारक छ भन्ने आत्मसात गरेर आचरण र सोचाइमा परिवर्तन ल्याउन पहल गर्नुपर्छ ।
५ .नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ । सुगर, कोलस्ट्रोल र प्रेसर कम्तिमा पनि वर्षमा एकपटक परिक्षण गर्नुपर्छ । स्याउ, अनार, आल्मोन्ड, काजु, ओखर, माछाको तेल लगायतका मुटुमैत्री खानाहरु खानुपर्छ । लसुन, अदुवा, करेला र हरियो खानेकुरामा जोड दिनुपर्छ । साथै मुटु रोगबाट बच्न खुसी रहने, अनिँदो नबस्ने, ध्यान तथा योग गर्ने बानी गर्नुपर्छ।
मुटु रोगका केही लक्षणः
१ पहिलो लक्षण छातीको बीचमा दुख्नु हो । त्यो दुखाइ परिश्रम गर्दा बढ्ने र आराम गर्दा कम हुने हुन्छ ।
२ सास फेर्न गाह्रो हुन्छ । त्यो परिश्रम गर्दा बढ्ने र आराम गर्दा कम हुने हुन्छ । मुटु हल्लिनु पनि मुटु रोगको लक्षण हो ।
३ खुट्टा सुन्निनु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
४ चक्कर लाग्नु । भर्खर जन्मेको बच्चा निलो देखिन्छ भने चिच्याउँदा वा रुँदा हात, खुट्टा, कान, नाक निलो हुने जन्मजात मुटु रोगका लक्षण हो ।
५ पाँचदेखि १५ वर्ष उमेरकाहरूमा जोर्नीहरु दुख्ने र सुन्निने हुन्छ जसलाई बाथ ज्वरो पनि भनिन्छ । यो मुटु रोगको लक्षण हो । टन्सिल बढ्नु पनि लक्षण हो ।
६ खकारमा रगत आउनु पनि मुटुरोगको लक्षण हुन सक्छ ।
प्रतिक्रिया