काठमाडौं । दुई तिहाई बहुमतप्राप्त सरकार गठन भएको पहिलो वर्ष नै मुलुकको आर्थिक वृद्धिदर तीन वर्षयताकै कमजोर हुने भएको छ ।
दोहोरो अंकको आर्थिक वृद्धिको नारासहित सरकारमा पुगेको तत्कालीन वाम गठबन्धन (हालःनेकपा) का लागि यसले ठूलो धक्का दिने देखिएको छ ।
सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशत हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखे पनि नेपालको मुख्य विकास साझेदार विश्व बैंकले भने योभन्दा निकै कममात्र वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले चालू आर्थिक वर्षमा ५.९ प्रतिशतमात्र आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ । सरकारी प्रक्षेपण विश्व बैंकको प्रक्षेपणभन्दा २ प्रतिशतभन्दा बढी हो ।
यद्यपि, विश्व बैंकको अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटका अनुसार अघिल्लो वर्ष भने नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेको अनुमान छ । जबकी अघिल्लो वर्ष केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर भने ५.९ प्रतिशत रहने अनुमान गरेको थियो ।
यसभन्दा अघिल्लो वर्ष पनि नेपालले ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । यसरी हेर्दा ओली सरकारको आर्थिक वृद्धि तीन वर्षयताकै कम हुने देखिएको छ ।
अघिल्लो वर्ष चुनावी सरकार रहेको र अस्थिर राजनीतिक अवस्थाका बीचमा पनि नेपालले राम्रो आर्थिक वृद्धि हासिल गरेको पाइएको छ । तर, आगामी आवमा भने नेपालले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ ।
अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले पछिल्लो ६ महिनामा दक्षिण एसियाको आर्थिक अवस्थाको विश्लेषण गर्दे नेपालको उच्च वृद्धिदर कायमै रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।
यस्तै, संघीयता कार्यान्वयनमा राजनीतिक संक्रमण, पूर्वाधार विकास र सेवा प्रवाहमा असर पर्न सक्ने चुनौती रहेको औंल्याउँदै विश्व बैकले मध्यावधिमा नेपालको औसत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ ।
विश्व बैंकका अनुसार क्षेत्रीय रूपमा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर संसारकै उत्कृष्ट रहेको छ ।
प्रतिक्रिया