काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरसम्बन्धी सहमति कार्यान्वयन भए साढे ३४ अर्ब रुपैयाँको चुक्ता पुँजीसहित मुलुककै ठूलो वाणिज्य बैंक बन्ने देखिएको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पुँजी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब भइ सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्ने जनाइएको छ ।
इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंकको ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १ खर्ब ७३ अर्ब ४६ करोड र मेगा बैंकको १ खर्ब ५० अर्ब ४६ करोड रहेको छ ।
निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ८२ अर्ब र मेगा बैंकको १ खर्ब ५२ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
शुक्रवार दुई बैंकका सञ्चालकबीच मर्जरको औपचारिक सहमति भएको छ । इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।
मर्जरपछि बैंकको नाम “नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुनेछ र सञ्चालक समितिको अध्यक्षको रुपमा श्री पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा श्री ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।
त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुनेछ ।
प्रतिक्रिया