Logo

बिजनेस होम

आर्थिक सुधारका निम्ति प्रधानमन्त्रीलाई उद्योग परिसंघको ब्रिफिङ


GDP Nepal
   २३ असार २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा गहन छलफल भएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।

परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालिन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भयो ।

यसैगरी विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भयो ।

परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउनुहुँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका विषयमा जानकारी गराए ।

तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा उनले सुझाव दिए ।

अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौं २३ र २४ गते हुने पूर्वाधार सम्मेलन, लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक सम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउँदै युवाहरुमा उद्यमी बन्ने चासो निकै बढेको बताए ,

फेस्टमा ५ हजार युवाहरुको सहभागिता रहेको थियो भने ७ वटा उत्कृष्ट स्टार्टअप्सका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको जानकारी गराउनुभयो । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न परिसंघले आग्रह गरेको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भिर रुपमा लिदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए ।

छलफलमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पुर्व अध्यक्ष च्याङ अग्रवाललगायत सहभागी थिए ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह