Logo

Banner-news

एफएनसीसीआई र फिनीबीच भेटवार्ता, औद्योगिक क्षेत्रमा उत्पन्न समस्याका विषयमा छलफल


GDP नेपाल
   ११ श्रावण २०७९, बुधबार


नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघबीच मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा छलफल भएको छ ।

सो भेटवार्तामा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको २०७९ असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी बील औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको भेटवार्तामा बताइयो ।

लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसंगको परामर्श विनै भाडा बृद्धि गरी पत्र पठाएको फिनीकातर्फबाट जानकारी गराइयो ।

पछिल्लो पटक राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगहरूलाई आपसी सहमतीका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फीरूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमै प्रतिकुल असर पर्ने चिन्ता सो अवसरमा व्यक्त गरियो ।

भेटवार्तामा औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरियो ।

त्यसैगरी औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको लगायतमा गुनासा फिनीकातर्फबाट राखिएको थियो । फिनीले उठाएका इस्यूहरूमा साथ दिन एफएनसीसीआईलाई आग्रह गरिएको थियो ।

सो अवसरमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका इस्यूहरू जायज रहेको बताए । कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुु पर्नेमा उल्टो हतोत्साहित बनाउने निर्णय गरिनु चिन्ताजनक विषय भएको बताए । भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको अध्यक्ष गोल्छाले बताए । जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको तर्क उनको थियो ।

तपाईहरूका जायज माग पुरा गराउने सम्बन्धमा एफएनसीसीआईको पनि साथ रहन्छ, अध्यक्ष गोल्छाले भने । फिनीले राखेको वृहद औद्योगिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा महासंघले आन्तरिक तयारी गरेर अगाडि बढ्ने स्पष्ट पारे ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्यले फिनीले उठाएका इस्यूहरूमा एफएनसीसीआईको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।

फिनीका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुुपर्ने र आफ्नो संस्थाले उठाएका इस्यूहरूमा एफएनसीसीआईको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताए ।

सो भेटवार्तामा फिनीका अध्यक्ष पाठकले फिनीकातर्फबाट उठाइएका इस्यूहरू एफएनसीसीआईका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा एफएनसीसीआईका कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक, फिनीका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह