Logo

अर्थनीति

पर्यटन सचिवको अन्तिम बैठक रोके मन्त्रीले: सीईओ रेग्मी चोख्याउने प्रयास असफल !


GDP Nepal
   १३ श्रावण २०७९, शुक्रबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने निजामती सेवाबाट निवृत्त भएका छन् । २६ वर्ष सरकारी सेवामा बिताएका न्यौपानेको बहिर्गमन भने सुखद् बन्न सकेन ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति अध्यक्षसमेत रहेका न्यौपानेले अध्यक्षको हैसियतमा अन्तिम बैठक सञ्चालन गरी महत्वपूर्ण निर्णय गर्ने योजना रहे पनि विभागीय मन्त्रीको हस्तक्षेपका कारण रोकिन पुगेको छ । मन्त्री जीवनराम श्रेष्ठको हस्तक्षेपका कारण बोर्ड बैठक बस्न नसकेको जनाइएको छ ।

बोर्ड अध्यक्ष न्यौपाने सेवानिवृत्त हुने साता कोरिया भ्रमणमा गएका थिए र उनको भ्रमणबारे व्यापक आलोचनासमेत भएको थियो । उनले साउन ११ गतेका लागि बोर्ड बैठक बोलाएका थिए ।

बोर्ड बैठक बोलाएर समितिका अध्यक्ष महेश्वर न्यौपाने, कार्यकारी प्रमुख धनञ्जय रेग्मी र केही बोर्ड सदस्य कोरिया गएका थिए । जसलाई मन्त्रीको सचिवालयले गम्भीरतापूर्वक लिएको थियो ।

“बोर्डका विवादास्पद सीईओ धनञ्जय रेग्मीको पक्षमा केही महत्वपूर्ण निर्णय हुने सूचना पाएर मन्त्री ज्यूले बैठक रोक्न निर्देशन दिनुभएको हो,” मन्त्री श्रेष्ठको सचिवालय स्रोतले भन्यो, “बिदाई हुने दिन बोर्ड बैठक राख्नुले पनि आशंका जन्माएको छ र त्यो नैतिक पनि नहुने भन्दै रोक्न मन्त्रीज्यूले भनेपछि बोर्ड बैठक बस्न सकेन ।”

तत्कालीन मन्त्री प्रेम आलेको पहलमा पर्यटन मन्त्रालयमा ल्याइएका सचिव न्यौपाने पछिल्लो समय बोर्डका कार्यकारी प्रमुख रेग्मीसँगको मिलेमतोमा विभिन्न लाभ लिएको आरोप लाग्दै आएको छ ।

कार्यकारी समितिको निर्णय बमोजिम कार्यकारी प्रमुखले पुर्याएको आर्थिक हिनामिनाको सम्बन्धमा कारबाही अगाडि नबढाइ कार्यकारी प्रमुखले हालेको रिटको विषयमा भन्दै बोर्डको एजेण्डा राखिनुलाई मन्त्रालयले गम्भीर रुपमा लिएको सचिवालयले जनाएको छ ।

सचिव र कार्यकारी प्रमुखबीचको सेटिङका सम्बन्धमा नवनियुक्त पर्यटन मन्त्रीलाई जानकारी रहेको र जागिरे जीवनको अन्तिम दिन अवकाश लिनु ठिक एक दिन अगाडि बोर्डका अध्यक्षले मिलेमतोमा सस्थाको भविष्यमा धक्का पुग्ने गरी केही निर्णय गर्न मिलेमतो गरेको भन्ने सूचना पाए पछि मन्त्रीले चासो देखाई बैठक रोकिदिएको जनाइएको छ ।

कार्यकारी प्रमुखको योजनामा सचिव अध्यक्ष रहेको बोर्डले पर्यटन बोर्डको संगठनात्मक संरचना परिवर्तन गरी केही कर्मचारीलाई काठमाडौंबाहिर पठाउने योजना थियो । कार्यकारी प्रमुखले भने बमोजिम कानून मिचेर पनि कागजपत्र नबनाउने कर्मचारीलाई उनले तारो बनाउँदै आएका छन् र काठमाडौं बाहिर कार्यालय खोल्दै पठाउने चेतावनी दिइरहेका छन् ।

सचिवलाई कार्यकालको अन्तिम साता कोरिया पठाउन बोर्डमा बजेट नरहे पनि असारको अन्तिम साता बोर्ड बैठकबाट बजेट सृजना गरी पठाइएको थियो । एउटा साधारण साँस्कृतिक कार्यक्रमका लागि सचिव सहितको टोली कोरिया घुम्न गएको ।

बोर्डको कार्यकारी समितिको २०७८ माघ २८ को ३१९ औं बैठकले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी उपरको कारबाहीका सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगरी न्यौपानले मिलेमतोमा लाभ प्राप्त गर्दै आएका छन् ।

सो बैठकले रेग्मीमाथिको जाँचबुझ प्रतिवेदन, २०७८ का सम्बन्धमा २ (दुई) वर्ष कार्यकालका सम्पूर्ण आर्थिक कारोबारको आवश्यक छानविन र कारवाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने भन्ने निर्णय गरेको थियो ।

प्रतिवेदनले स्पष्टरुपमा बोर्डलाई आर्थिक हानी नोक्सानी पुर्याई पदको दुरुपयोग समेत गरेको समेत औंल्याएको थियो । तर, उक्त्त निर्णय बमोजिम नगरी अध्यक्ष महेश्वर न्यौपानेको समेत मिलेमतोमा कार्यकारी प्रमुखले आफूहरुले व्यक्तिगत फाइदा लिने दिने गरी कोरिया घुम्न जाने, उनकी छोरीलाई बोर्डमा जागिर दिने जस्ता काम कार्यकारी प्रमुखले गर्दै आएका छन् ।

यही समयमा कर्मचारीहरुले नियम मिचेर भए पनि आफूले भने बमोजिम काम नगरेको र बोर्डबाट गठित छानबीन उपसमितिलाई बयान दिएको भन्दै कर्मचारीहरुको कार्य सम्पादनमा अत्यन्त पूर्वाग्रही भई नम्बर दिएको भन्दै कर्मचारीहरु सचिव तथा पर्यटन मन्त्रीलाई गुनासो पोख्न गएका थिए । तर, ति कर्मचारीलाई कार्यालय बाहिर किन गएको भन्दै एक वर्ष अगाडिको मिति राखेर रेग्मीले केही कर्मचारीहरुलाई पत्र काटेका छन् ।

बोर्ड सदस्य कृष्ण साह समेतको स्वार्थमा नयाँ सरचना बनाई काठमाण्डौ बाहिर समेत कार्यालय खालिहाल्न दबाब दिइँदै आएको जनाइएको छ । संगठन सरचनाका लागि कर्मचारीहरु सँग छलफल गर्नुपर्ने आवश्यकता बमोजिम देखावटीका लागि श्रावण १० गते छलफल गर्नका लागि बोर्ड सदस्य कृष्ण साह सक्रिय रहेका थिए ।

पर्यटन बोर्डका एक सदस्यले भने, “कार्यकारी प्रमुखलाई जसरी भए पनि कानून बमोजिम मात्र काम गर्न गराउने कर्मचारीहरुलाई बाहिर पठाई केन्द्रीय कार्यालयमा मनोमानी गर्नुछ, बोर्ड सदस्य कृष्ण शाहलाई मैले मेरो पालामा धरानमा कार्यालय खोले भन्नुछ अनि दुवैको स्वार्थ मिलेको छ ।”

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह