Logo

अर्थनीति

सिमेन्ट उद्योगको प्रदूषणप्रति प्रधानमन्त्रीको चासो, मानव स्वास्थ्यको ख्याल गर्न निर्देशन


GDP Nepal
   २४ श्रावण २०७९, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिमन्ट उद्योग परियोजनाहरु विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिहरुको अवलम्बन गर्न जोड दिएका छन् ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ५२ औं वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमेन्ट उद्योगबाट भइरहेको वातावरणीय प्रदूषणप्रति गम्भीर चासो राखेका हुन् ।

यसैबीच, लगानी बोर्ड नेपालले पश्चिम सेती र सेती नदी–६ निर्माणकर्ता भारतीय कम्पनीसँगको समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

वैठकले दुवै जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।

पश्चिम सेती ७५० मेगावाट क्षमताको हो भने सेती नदी –६ ४५० मेगावाट क्षमताको आयोजना हो ।

बोर्ड वैठकले त्यस्तै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

वैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर प्रालिलाई सर्वेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय गरेको छ ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यस्थापनको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ ।
बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता दिगो पूर्वाधार लगानी फोरम २०२२ आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण–३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनाहरुलाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए ।

अर्थ, उर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रुपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न उनको निर्देशन थियो ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह