भक्त हमाल
अध्यक्षः केमसन
अढाई दशकभन्दा लामो समयदेखि रसायन तथा मेडिकल इक्युपमेन्ट व्यवसायमा आवद्ध भक्त बहादुर हमाल रसायन तथा मेडिकल आपूर्तिकर्ता संघ नेपाल (केमसन)का अध्यक्ष हुन् । यसअघि पनि केमसन अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी हालै सम्पन्न केमसनको साधारणसभाबाट दोस्रोपटक अध्यक्षमा निर्विरोध निर्वाचित भए । गत वर्ष सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट कार्यकारिणी सदस्यमा समेत निर्वाचित हमाल स्पष्ट विचार र मिलनसार व्यक्तित्वका कारण व्यावसायिक वृत्तमा लोकप्रिय छन् । उनीसँग रसायन तथा मेडिकल आपूर्तिलगायत यस क्षेत्रको समग्र व्यवसायका सम्बन्धमा गरिएको कुराकानीः
केमसन अध्यक्षमा फेरि निर्वाचित हुनुभएको छ । दोस्रोपटक संस्थाको नेतृत्वमा आउनुको उद्देश्य के हो ?
केमसन देशव्यापाी अगाडि बढिरहेको छ । हामी शाखा विस्तारमा जुटिरहेका छौं, हालसम्म ८ वटा शाखा भइसकेका छन् । अब भने देशव्यापी विस्तार गर्नुपर्ने जिम्मेवारी छ । देशैभर छरिएर रहेका व्यवसायीलाई एकतावद्ध गर्नु पर्ने पनि छ । दोस्रो कुरा केमसन सदस्यहरुले गरिरहेको व्यवसाय सिस्टममा छैन । रेगुलेसनमा छैन, सरकाले रेगुलेसन गर्न सकेको छैन । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा धेरै भद्रगोल छ । अहिले त सामान जसले पनि जस्तो पनि आयात भइरहेको अवस्था छ । कसले के सामान आयात गर्छ भन्ने गुणस्तरको कुनै मापदण्ड नभएकाले जथाभावी भइरहेको छ । यसलाई नियमन गर्नु र व्यवस्थित गर्नु अनिवार्य आवश्यकता छ । स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने यो व्यवसाय व्यवस्थित गर्ने जिम्मेवारी सरकारको पनि हो । यसलाई जसरी पनि सिस्टममा ल्याउनु छ भने हामीले क्वालिटीका सामान ल्याउनुपर्छ । सबै पक्षलाई जिम्मेवार, सक्षम र सबल बनाउनुपर्छ भन्ने साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै म नेतृत्वमा पुनः आएको हो । यसमा मेरो पुरानो अनुभव काम लाग्छ भन्ने सायद साथीहरुलाई लागेको पनि हुनसक्छ ।
केमसनमा आवद्ध व्यवसायीहरु कति हुनुहुन्छ ? यस क्षेत्रको वार्षिक कारोबार कति हो ?
हामी केमसनमा ४ सयभन्दा बढी व्यवसायी आवद्ध छौं । हाम्रो कारोबारको भन्सार तथ्यांक हेर्ने हो भने पनि ३० अर्बभन्दा माथिको आयात भइरहेको छ । हामीले मूलतः जर्मन, चीन, जापान, इन्डियाबाट आयात गरिरहेका छौं ।
नेपालमा केमिकल तथा मेडिकलजन्य वस्तु आयात तथा खपतको अवस्था कस्तो छ ?
यसको खपत व्यक्तिगत भन्दा संस्थागत रुपमा माात्र हुन्छ । देशैभरका स्वास्थ्य संस्थामा वितरण भइरहेको छ । काठबाडौंबाहिर पनि खपत बढ्दो । हामीले नै ८ स्थानमा शाखा खोलिसकेका छौं भने त्यसबाहिर पनि हाम्रा सदस्य साथीहरु हुनुहुन्छ । उहाँहरुलाई ट्रेनिङ दिँदै सक्षम बनाउने हाम्रो प्रयास जारी छ ।
नेपाल भित्रने केमिकल तथा मेडिकलजन्य वस्तु कत्तिको गुणस्तरीय छन्, यीनमा परीक्षणको व्यवस्था के कस्तो छ ?
अहिले त गुणस्तरको मापदण्ड छैन । म दोहोरिएर आउनुको कारण यही पनि हो । औषधिमा औषधि व्यवस्था विभागले हेर्छ । हामी पनि औषधिजन्य क्षेत्र हौं तर नियमन र मापदण्ड नै भएन । हस्पिटल इक्युपमेन्टदेखि सर्जिकल सामग्रीसम्म हामीले आयात गरिरहेका छौं तर बिना मापदण्ड । २०७४ मा निर्देशिका बने पनि लागू हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग हामीले नै नियमन गरिदिनुप¥यो, निर्देशिका लागू हुनुप¥यो भनेर आफैं गएका थियौं । औषधिभन्दा बढी प्रकारका मेडिकलजन्य सामग्री आयात भइरहेकाले नियमन त्यति सहज पक्कै छैन तर पनि नियमनबिना स्वतन्त्र छाडिनु हुँदैन । हामीले कोशिष गरिरहेका छौं ।
यसको निर्देशिका आफैं बनाएर सरकारमार्फत लागू गराउन सकिँदैन ?
२०७४ को निर्देशिका हामीसँग छ तर त्यो पर्याप्त छैन । यसलाई हामी व्यवसायीसँग बसेर तथा अन्तर्राष्ट्रिय मापदण्डसमेत हेरेर लिपिवद्ध गर्नुपर्छ । यसले हामीकहाँ जथाभावी कम गुणस्तरका सामग्री आयात नियन्त्रण हुनेछ ।
केमिकल तथा मेडिकल आपूर्तिको विषय सधैँ विवादित बनिरहेको हुन्छ, यसमा सधैँ भ्रष्टाचार र अनियमितताको आरोप लाग्ने गरेको छ नी ?
यसको कारण पनि मापदण्ड केही नहुनु नै हो । मापदण्ड नहुँदा सस्तो सामग्री पनि भित्रन सक्छ र महँगो पनि । अल्ट्रासाउन्डकै उदाहारण हेरौं न, यो ५ लाखमा पनि आउँछ र ५० लाख पनि पर्छ । अब गुणस्तर हेर्ने कुनै मापदण्ड र निकाय नभएपछि ५ लाखको मेसिनलाई ५० लाख भनिदिए पनि भयो र ५० लाख भनिएको वस्तु नआएर अर्कै सस्तो मेसिन आउन पनि सक्ने भयो । यसले गर्दा खेल्ने ठाउँ प्रशस्तै छ र खेलिरहेका पनि छन् । जुन गलत हो भनेर हामी भनिरहेका छौं ।
इक्युपमेन्ट आयातमा स्पेसिफिकेसन बनाउँदादेखि नै चलखेल सुरु हुन्छ भन्छन् नी ? व्यवसायीको अनुकूलतामा स्पेसिफिकेसन बनाइन्छ भन्ने आरोपमा कत्तिको सत्यता छ ?
स्पेसिफिकेसन त चाहिन्छ नै । तर, स्पेसिफिकेसन आवश्यकताले बनाइन्छ कि मापदण्ड कसैको अनुकूल बनाइन्छ भनेर हेर्ने निकायको पनि आवश्यकता छ । तर, जुनसुकै स्वास्थ्य संस्थालाई उसको बजेटअनुसार गुणस्तरीय सामग्री भित्र्याउनु पर्छ भने सोहीअनुसार स्पेसिफिकेसन बनाइनु पर्छ न कि आयातकर्ताको क्षमता हेरेर । फेरि पनि यसमा गुणस्तर निर्धारण गर्ने मान्यताप्राप्त निकाय वा मापदण्ड भइदिए सहज हुन्छ भनेर हामी व्यवसायी पनि भनिरहेका छौं । हामी पनि स्वस्थ प्रतिस्पर्धाबाट व्यवसाय गर्न चाहान्छौं भने सरकारले सहयोग गरिदिनुप¥यो ।
अन्य क्षेत्रका आयातकर्ता आफैं उत्पादक बनिसकेका छन् । केमिकल तथा मेडिकलजन्य वस्तु हामीले सधैँ आपूर्तिमात्र गरिरहने हो कि यहिँ उत्पादनको सम्भावना पनि छ ?
यो एकदमै गम्भीर र मननीय प्रश्न हो । हामीले सधैँ आयात गरिरहने भन्ने हुँदैन । हामीले उत्पादन गर्नै नसक्ने भन्ने पनि होइन । ठूला र महँगा इक्युपमेन्ट हामी आयात गर्न तत्काल सक्दैनौं तर हामीलाई चाहिने आधारभूत र सबैभन्दा बढी खपत हुने वस्तुहरु उत्पादनमा जुट्न अब ढिलो गर्नु हुँदैन । उदाहरणका लागि हामीले सिरिञ्ज, सलाइनलाई नै लिन सक्छौं । यस्तै, धेरै सर्जिकल सामग्रीहरु हामी यहिँ बनाउन सक्छौं । ठूला इक्युपमेन्ट त इन्डियाले पनि आयात नै गर्दछ तर त्यसभित्र चाहिने कतिपय सामग्री हामीले पनि बनाउन सक्छौं । केही व्यवसायी साथीहरु यसमा लाग्नुभएको पनि छ । कोभिडको समयसम्म आयात हुने मास्क उत्पादनमा हामी लगभग आत्मनिर्भरतको स्थितिमा पुगिसकेका छौं । सेनिटरी प्याडमा यस्तै स्थिति छ । कतिपय साथीहरु उत्पादनको लागि लागिपर्नुभएको पनि छ, उहाँहरुलाई वातावरण बनाइदिनु प¥यो । करमा केही सहुलियत दिएर हुन्छ कि आयातित वस्तुमा करको दर केही बढाएर हुन्छ उहाँहरुलाई व्यवसाय गर्ने वातावरण बनाइदिनु पर्छ ।
नेपालमा स्वास्थ्य संस्थाहरु धेरै भएको र यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाका कारण मेडिकल इक्युपमेन्टहरु आवश्यकताभन्दा बढी आयात भए पनि भन्ने गरिन्छ । स्वास्थ्य सेवालाई एकीकृत गरेर इक्युपमेन्टहरुको उत्पादकत्व बढाउन सकिने सम्भावना छैन ?
तपाइँले ठिकै भन्नुभयो । हामीलाई कति इक्युपमेन्ट चाहिने हो, कति आयात गर्ने हो भन्ने लेखाजोखा चाहिँ हुनु आवश्यक छ । अहिले त जसले जति मगाए पनि भएकै छ । चारवटा सिटि स्क्यान भए पुग्ने ठाउँमा आठवटा मगाइयो भने त आखिर नोक्सान ता राष्ट्रकै हुने हो । डलर अभाव त हामीलाई सधैँ नै हुन्छ । फेरि यसको अन्तिम भार त उपभोक्तालाई पर्न जान्छ । यसकारण कति चाहिने हो र कसले झिकाउने हो तथा झिकाइसकेपछि मर्मतसम्भारसम्ममा उसको जिम्मेवारी के हुनुपर्ने हो भन्ने जस्ता विषयमा अहिलेको अन्योल अब रहिरहनु हुँदैन ।
स्वास्थ्यजस्तो यति संवेदनशील क्षेत्रमा बिना नियमन यसरी अन्धाधुन्ध चलिरहनुमा केमसन अध्यक्षको नाताले दोष कसको देख्नुहुन्छ ?
हामी सरकारलाई जे कुरामा पनि दोषी देख्छौं तर म त्यो भन्दिनँ । दोषी हामी सबै नै हौं । हामीले नियमनमा प्रयास गर्दागर्दै हाम्रो प्रयासमा पनि केही कमजोरी भयो कि भन्ने पनि लाग्छ भने सरकारसँग बजेट हुँदाहुँदै नियमनको महत्वबारे बुझेन वा इच्छाशक्तिको कमी भयो कि जस्तो देखिन्छ । अब एक अर्कालाई दोषी देखाएर हैन कि विगतको अनुभवबाट सिकेर नै कमजोरी सुधार्दै अघि बढ्नु पर्छ ।
कोभिड महामारीमा अक्सिजनको अभावले पनि धेरै व्यक्तिको ज्यान गयो, हस्पिटलको आधारभूत पूर्वाधारमा हामीले सम्झौता गर्दाको प्रतिफलका कारण यस्तो अवस्था आयो भन्न सकिन्छ कि सकिँदैन ?
निश्चय पनि सकिन्छ । हस्पिटल बनाउँदा केके शर्तहरु पालना गर्नुपर्छ, केके पूर्वाधार चाहिन्छ भन्ने स्पष्ट व्यवस्था छ । तर, हिजोका दिनमा सबैले त्यो शर्त पालना नगरेकै कारण अक्सिजनको अभाव भयावह हुन पुग्यो । मापदण्ड पालना गरिदिएको भए अथवा मापदण्ड कार्यान्वयन भए नभएको हेरिदिएको भए धेरै मानिसको ज्यान जोगिन सक्थ्यो । अब हिजोको पाठ सिकेर हाम्रो नीति नियममा भएको व्यवस्था कार्यान्वयनका लागि लागिपर्नु आवश्यक छ । अहिले भने सरकारले पनि पाठ सिकेको छ, व्यवसायी पनि संवेदनशील छन् । कोभिडको चौथो लहर सुरु हुँदा पनि स्थिति भयावह नहुनुमा यही संवेदनशीलता हो ।
यस क्षेत्रका अहिलेका समस्याहरु केके हुन् ? सरकारले तत्काल के गरिदियोस् भन्ने चाहनुहुन्छ ?
हामीलाई औषधिभन्दा फरक व्यवहार गरिएको छ । जबकि हामी पनि स्वास्थ्य संवेदनशील क्षेत्र नै हौं । औषधिलाई कर छुट गरिएको छ, भन्सार एक प्र्रतिशतमात्र र भ्याट लाग्दैन तर हामीलाई ५ देखि ३० प्रतिशतसम्म कर र भ्याट दुवै लाग्दछ । एउटै फार्मेसीबाट बिरामीले अपरेसनका निमित्त औषधि र सर्जिकल सामग्री (ग्लोब्स, क्यानोला, आईभीसेट इत्यादी) किन्छ । अझ भनौं औषधिभन्दा बढी सर्जिकल सामग्री किन्छ तर औषधि पसलले भ्याट तिर्नु पर्दैन । त्यसरी भ्याट बिचमै हराइरहेको छ, संस्थाले यसलाई पुँजीकरण ग¥यो । हामीले के भनिरहेका छौं भने यो क्षेत्रमा कि भ्याट सबैलाई लगाउनु प¥यो कि पूरै हटाउनु प¥यो । अहिले त भ्याट बिचमै टुंगिएको अवस्था छ । यो मिलेको छैन ।
तपाइँले बारम्बार भनिरहनु भएको यो क्षेत्रको नियमन र मापदण्ड कस्तो हुनुपर्छ ?
यसका गुणस्तरसम्बन्धी स्पष्ट मापदण्ड हुनुप¥यो र गुणस्तरही सामग्री आयात बन्द गरिनु प¥यो भने भन्सार दर र भ्याटसम्बन्धी व्यवस्था चाहिँ जतिसक्दो सरल र सहज हुनुप¥यो र समान व्यवहार पनि हुनुप¥यो । भ्याट हटाइयो भने समग्रमा स्वास्थ्य सेवा नै सस्तो हुनसक्छ ।
सरकारी स्वास्थ्य संस्थामा सामान उपलब्ध गराउँदा सार्वजनिक खरिद ऐन र नियमावलीका कारण कत्तिको समस्या बेहोर्नु परिरहेको छ ?
यसमा एकदमै समस्या छ । खरिद ऐन र नियमावलीको व्यवस्थाअनुसार सस्तो टेन्डर स्वीकार गर्नुप¥यो र सस्तो टेन्डर हालेर महँगो र गुणस्तरीय सामग्री ल्याउन सकिँदैन । यसले गर्दा सरकारी स्वास्थ्य संस्थामा जडित उपकरणहरु चाँडै बिग्रने समस्या पनि हुन्छ । अर्कोतर्फ सरकारी संस्थामा नियमित मर्मतसम्भारको अभाव र उपकरण सञ्चालनमा लापरवाहीजस्ता समस्या पनि छँदैछन् ।
प्रतिक्रिया