नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार टेलिकमले चौथो त्रैमाससम्ममा ८ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १७.५४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, गत वर्ष कम्पनीको कुल आम्दानी पाँच प्रतिशत बढेको छ । कुल आम्दानी बापत कम्पनीले गत वर्ष ४४ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले कुल आम्दानी ४२ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको थियो ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी छ ।
कम्पनीको प्रतिसेयर आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ । गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यसैगरी प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रतिक्रिया