Logo

अर्थनीति

‘विकासका लागि पूर्वाधार’ नारासहित भदौमा पूर्वाधार सम्मेलनको चौथो संस्करण


GDP Nepal
   ३० श्रावण २०७९, सोमबार


काठमाडौं । नेपाल उद्योग परिसंघले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आउँदो भदौ २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।

यस वर्षको सम्मेलनको मुख्य विषयवस्तु अर्थात थिम ‘विकासका लागि पूर्वाधार’ भन्ने रहने आयोजक सीएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले सोमबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

“दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वास नेपाल उद्योग परिसंघको रहँदै आएको छ,” अध्यक्ष अग्रवालले भने, “उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक छ । यही अवधारणालाई आत्मसाथ गर्दै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आयोजना गरेका हौं ।”

अग्रवालका अनुसार सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।

यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समिक्षा गर्ने सम्मेनलनको योजना रहेको उपाध्यक्ष वीरेन्द्रराज पाण्डे बताउँछन् ।

उपाध्यक्ष पाण्डेका अनुसार पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने; पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको छ ।

सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि सन् २०२१ मा सम्मेलन आयोजना गर्नुपर्ने भए पनि कोभिड–१९ का कारण सम्भव नभएको सीएनआईले जनाएको छ ।

“कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी बाध्यकारी छ । सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्न खोजेको छ,” अध्यक्ष अग्रवाल भन्छन् ।

विश्वव्यापी रुपमा भईरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा सम्मेलनले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट यो कमीलाई कम गर्न खोज्ने जनाइएको छ ।

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास लिएको उपाध्यक्ष पाण्डे बताउँछन् ।

उनका अनुसार पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनको विशिष्ट अतिथिहरुमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू रहेका छन् ।

यसैगरी सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एशियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरुको प्रस्तुती हुनेछ ।

सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट ६ सय भन्दा बढीको सहभागिता हुने जनाइएको छ ।

नेपाल उद्योग परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन “पूर्वाधारमा द्रुतगति लगानी” शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो । सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय “निजी क्षेत्र अपरिहार्य साझेदार” र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन “दिगो विकासका लागि लचिलो पूर्वाधार” मा केन्द्रित थियो ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह