Logo

राजनीति

एमाले विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने सहकार्य गर्न सकिन्छः देव गुरुङ


GDP Nepal
   ८ भाद्र २०७९, बुधबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नवनियुक्त महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने स्पष्ट पारेका छन् । उनले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको सुनाए ।

उनले मुलुकको राष्ट्रिय राजनीति अहिले जटिल मोडमा रहेको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले माओवादी केन्द्रका नवनियुक्त महासचिव गुरुङलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिन आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए ।

गुरुङले भने–‘निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचन समयमै अनि स्वतन्त्र र निश्पक्ष ढंगले गर्नुपर्ने आवश्यक छ । संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन् । समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता छ । मुलुकको अगाडि जुनप्रकारको संटकहरु छन्, अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथि जुनखालको समस्या र संकटहरु छन्, आईपरेका छन्, तिनलाई सामना गर्नको लागि आन्तरिक रुपमा स्थिरता र स्थायित्वको जरुरी छ । राज्यका सबै अंगहरुलाई नियमित रुपमा निरन्तरतामा सञ्चालन गर्न आवश्यक छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मुलुकमा राजनीतिक स्थिरता र स्थायित्वको लागि दलहरुबीच सहमति र सहकार्यको खाँचो रहेको औंल्याए ।

उनले भने,‘निर्वाचनमा मैत्रीपूर्ण प्रतिष्पर्धा गरेर मुलुकमा स्वच्छ, निश्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन गर्नुपर्छ । सारमा सिष्टम रन गर्नको लागि सबै दलमा सहमति र सहकार्य हुनुपर्छ । सहमतिकै बाटो खोज्नुपर्ने आवश्यकत्ता छ । पाँच दलीय गठबन्धन पनि सहमतीय मोडेल हो ।

यो स्थितिमा सबै दलबीच सहमति जुटाउने दायित्व माओवादीको बढि छ । अहिले मुलुकमा प्राप्त परिवर्तनको पछि १० वर्षको जनयुद्धको योगदान छ । बृहत्त शान्ति सम्झौताको पनि उत्तिकै योगदान छ । यस्तो अवस्थमा सबै दलले अधिकतम लचकता अपनाएर जानुपर्छ ।’

महासचिव गुरुङले प्रचण्डको नेतृत्वमा एमालेसँग पनि सहकार्य गरिएको भन्दै नेकपाकालिन अवस्थाको स्मरण गराए । उनले भने,‘पछिल्लो समय वाम मोर्चा डेभ्लप गर्न सकिन्छ कि भनेर प्रयास भैरहेको छ, एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिन्छ ।

तर, वाम घटकमा संकीर्णता छ । त्यही भएर एकीकरण हुन सकिरहेको छैन् । गैरवाम घटकहरुलाई पनि सहमतिमा ल्याउन सक्यौं भने भनेमात्रै मुलुकको अस्मिता रक्षा गर्न सकिन्छ । यसरी अघि बढियो भने समाजवादी क्रान्तिको आधार तय गर्न सकिन्छ । नयाँ नेपालको रुपमा रुपान्तरण गर्न सकिन्छ । मुलुकसामू रहेका चूनौति सामना गर्न सबै दलबीच सहमति र सहकार्य गरेर जानुपर्छ ।’

उनले निर्वाचनको सन्दर्भमा सिट बाँडफाँडको विषयमा गठबन्धनभित्र छलफलत था परामर्श भैरहेको सुनाए । उनले भने,‘अहिले सिट बाँडफाँडबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ । शीर्ष नेताहरुबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ । शीर्ष नेताहरुसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदलका संयोजक कृष्ण सिटौलाजीले भन्नुभएको छ । अब एकाध दिनमा गृहकार्य सकिन्छ । सिट बाँडफाँड टुँगोमा पुग्छ ।’

उनले निर्वाचनको लागि स्वच्छ, स्वतन्त्र र निश्पक्ष वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । चुनावमा निषेध गर्ने प्रवृत्ति नहोस भनेर स्वस्थ, र मैत्रीपूर्ण प्रतिष्पर्धालाई प्रोत्साहित गरिने उनको विश्वास छ । उनले भने,‘अब निर्वाचनको कार्यभार पूरा गर्नुछ । विचारको हिसाबले माओवादीले नेतृत्वदायी रुपमा अगुवाई गरिरहेको छ । मुलुकको स्वाधिनता र लोकतन्त्रको रक्षा गर्नको लागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता छ ।’

फरक प्रसँगमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको स्विकारे । उनले भने,‘विकासको यात्रामा, कम्युष्निट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेवीको मुद्दामा अधिकतम रुपमा सम्बोधन गर्न प्रयास गरिरहेका छौं । अहिले पदाधिकारीमा नमिलेको भएपनि तल्लो कमिटीबाट प्रक्रिया चलाईरहेका छौं । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेका छौं । पदाधिकारीको सवालको सन्दर्भमा, त्यो चाहन्थ्यौं । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौं ।’
उनले कम्युनिष्ट पार्टीको निर्माण विचारको आधारमा निर्माण हुने कुरा उल्लेख गरे । अहिले आफूहरु त्यही यात्रामा रहेको उनको भनार्य छ । उनले भने,‘हामी त्यो यात्रामा छौं । समावेशिताको सवालको कुरा गर्दा, अझै त्यो विन्दुमा अहिले पुग्न सकिएन । कुनै जिल्लामा घनिभूत पनि हुँदोरहेछ । कतै नहुँदो रहेछ । यो विचारको कुरा हो । विचारको विकासको यात्रा भएको हुनाले समानुपातिक ढंगले नहुने रहेछ । निकट भविष्यमा क्रमशः यो पुर्याउने प्रक्रियामा रहेका छौं ।’

पार्टी निर्माणको प्रक्रिया विशुद्ध रुपमा विचारबाट निर्देशित हुने गुरुङको स्पष्टोक्ति थियो । उनले बेलायत र अमेरिकामा दुई दलभन्दा बढि किन विकास भएन ? भन्ने विषयपनि स्मरण गराएका थिए । उनले अहिलेको निर्वाचन प्रणालीले पनि गठबन्धनको आवश्यकत्ताबोध गरेको सुनाए । उनले भने,‘अहिले एमालेले राप्रपासँग गठबनधनको गरिरहेको छ । अहिलेको विधिले मुलुकको राजनीति गठबन्धनको दिशातर्फ लगिरहेको छ ।

गठबन्धनको मोडेलमा लगेको छ । हामीले यो निर्वाचन प्रणाली फष्ट पोष्ट दि पाष्टको प्रणाली बेठिक छ भनेर भनेका छौं । यसले एक प्रकारले आर्थिक चलखेल बढ्दै जान्छ । व्यापारी, ठेकेदार, दुई नम्बरी वालाहरु मात्रै चुनाव उठ्न सक्ने, साधारण मान्छेले चुनाव उठ्न नसक्ने अवस्था छ । संसद्मा रियल जनप्रतिनिधिहरु आउनेभन्दा पनि पैसाको चलखेल गर्नेहरु आउने देखिन्छ । समयक्रममा सुधार गर्नुपर्छ । अहिले स्थिरता र स्थायित्वको खाँचो छ ।’

उनले अहिले गठबन्धनमा आगामी निर्वाचनको लागि सिटको टुँगो नलागेको स्पष्ट पारे । उनले भने,‘अहिले सहकार्यमा जाँदाखेरि, अहिले नै सार्वजनिक मिडियामा सिटको दाबी गर्न मिल्दैन् । दलहरुको बीचमा यथार्थ अवस्था जे÷जस्तो छ, दलको पोजिसनको रेसियोमा, सिट विभाजन गरेर जाने कुरा उठेको छ । संख्याको बारेमा दलका नेताहरुले भनेपछि जानकारी गराउँछौं ।’
उनले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेद्धवार उठाउने सवालमा मापदण्ड तय गरिने सुनाए ।

उनले भने,‘हाम्रो दलको भागमा जे÷जति सिट पर्छ । अहिले उम्मेद्धवारको मापदण्ड बनाएका छैनौं । पार्टीमा खटिरहेका र दृढतापूर्वक लागेकाहरुलाई प्राथमिकता दिनुपर्छ । महिलाहरुलाई अधिकतम रुपमा सिट दिनुपर्छ । दलित, मधेशी, जनजातिलाई प्राथमिकता दिएका छौं । अब उम्मेद्धवार दोहोरिने र नदोहोरिनेको सवालमा, यही गर्नुपर्छ भन्ने छैन् । आवश्यकत्ताको अवस्था हेर्नुपर्छ । जिल्लाले उम्मेद्धवारको बारेमा प्रदेश पार्टीलाई सुझाव दिन्छ । प्रदेश पार्टीले निर्णय गर्छ । एक, दुई र तीन गरेर तीन जनाको नाम सिफारिश गर्छ । सोहीअनुसार पार्टीले निर्णय गर्छ ।’

उनले गठबन्धनमा सिट बाँडफाँड गर्दा स्पष्ट रुपमा मापदण्ड बनाईने पनि विश्वास दिलाए । उनले भने,‘हामी ग्राउण्ड रियालिटी पनि हेरौं । सिद्धान्तको आधारमा सिट तय गर्न जोड गरेका छौं । १÷२ दिनमा सिट तय हुन्छ ।’

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह