विराटनगर, १८ वैशाख। तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ ।
गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो ।
बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएकाले बथनाहासम्म ल्याइएको भारतीय पक्षले जनाएको छ ।
परीक्षणकै रूपमा पहिलोपल्ट मालबाहक रेल बथनाहासम्म आइपुग्दा मोरङका व्यापारी खुशी भएका छन् । यस सम्बन्धमा उद्योग संगठन मोरङले विज्ञप्ति जारी गर्दै तेस्रो मुलुकबाट यस क्षेत्रका उद्योग व्यवसायीले आयात गर्ने औद्योगिक कच्चा पदार्थका साथै वस्तु रेलबाट ल्याउनुपर्ने माग पूरा भएकामा खुशी व्यक्त गरेका हुन् । कोलकाता बन्दरगाहमात्र नभई विशाखापट्टनमबाट पनि नेपाली व्यापारीले आयात–निर्यात गर्न पाउनुपर्ने माग पनि सो विज्ञप्ति छ ।
संगठनका अध्यक्ष मुकेश उपाध्यायले रेलमार्फत सामान तथा कच्चा पदार्थ ढुवानी हुँदा लागत कम पर्ने, झन्झट नहुने र समय पनि कम लाग्ने बताए । विराटनगर महानगरपालिकाको कटहरीसम्म रेल विस्तार भएपछि लागत प्रतिकिलो दुई रूपैयाँ कम लाग्ने छ र अहिले बथनाहासम्म अनुमानित प्रतिकिलो एक रूपैयाँ लाग्ने उनले जानकारी दिए ।
कोलकाता–बन्दरगाहमा मालबाहक रेलसेवा सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका उद्योग व्यवसायमा बढोत्तरी हुने व्यवसायीका धारणा छ । लागत कम भएपछि सामानको मूल्य पनि घट्ने बताइएको छ ।
नेपाल–भारत सरकारले सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलसेवा विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीमा रेलसेवाको विस्तारमा सम्पूर्ण खर्च भारत सरकारले र नेपालीको भूमिको मुआब्जा नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो ।
सीमावर्ती क्षेत्रदेखि नेपालको भूभागको पाँच किलोमिटर क्षेत्रभित्र रेलसेवाको विस्तार हुनेछ । सोअनुरूप विराटनगर महानगरपालिकाको कटहरीसम्म रेलसेवाको विस्तारका लागि काम शुरु भए पनि जग्गाको मुआब्जाको विवाद अदालतमा पुगेको छ । सो मुद्दाको फैसला नभएकाले काम रोकिएको हो ।
मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सारपोष्ट पूर्णरूपमा तयार भएपछि मालबाहक रेल नेपालको भूमिमा प्रवेश गर्नेछ । त्यसपछि सामान आयात निर्यात थप सहज हुने व्यवसायी बताउँछन् । रासस
प्रतिक्रिया