Logo

कर्पोरेट-बजार

नवीन्द्रराज जोशीले ब्युँताएको औषधि उद्योगः १ अर्ब लगानी थपेर उत्पादन बढाउँदै !


appharu
   २८ कार्तिक २०७५, बुधबार


काठमाडौं । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनर्जीवन पाएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको प्रगति लोभलाग्दो छ । मुलुकमा ४ दर्जन निजी औषधि उद्योग भए पनि सरकारले जोखिम मोलेरै पुनःस्थापना गरेको यस उद्योगले अबका केही वर्षमा पछाडि फर्केर हेर्नुपर्ने अवस्था छैन ।

औषधि लिमिटेडले बनाएको ५ वर्षे बिजनेस प्लानअनुसार साविकका कर्मचारी अवकासदेखि थप १६ प्रकारका नयाँ औषधि उत्पादनसम्मका योजना समेटिएका छन् । यसका लागि करिब १ अर्ब रुपैयाँ लगानी गर्ने योजना पनि छ ।

उद्योगले चाँडै नै आइरन चक्कीलगायत १६ प्रकारका नयाँ ट्याब्लेट औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल जीवनजल, सिटामोललगायतका आफ्ना पुराना ब्रान्डका औषधि उत्पादन गरिरहेको उद्योगले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तय गरेको कुशल निर्माण विधि (जीएमपी) मापदण्ड पूरा गरेकाले अब थप उत्पादनका लागि ठूलो लगानीको आवश्यकता पनि छैन ।

२०६० सालसम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्ने कम्पनी विगत सात वर्षदेखि बन्द रहेको थियो । औषधि उत्पादनको लागि सुरु गर्नको लागि १४ करोड ६५ लाख रुपैयाँ ऋणस्वरूप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

उद्योग मन्त्रालयमा जोशीले नेतृत्व सम्हालेपछि पुनः सञ्चालनमा ल्याउने निर्णयसँगै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक चयनसम्मको निर्णय पारदर्शी ढंगले गर्न सकेकैले उद्योग आजको अवस्थामा आइसकेको हो ।

सरकारबाट उद्योगले हालसम्म ६ करोड ४८ लाख रुपैयाँ पाइसकेको छ । सिटामोल लगायतका केही औषधि उत्पादन गरे पनि माग अनुसारको बजार व्यवस्थापन गर्न नसकेपछि कम्पनीले दुई वर्षभित्रै आफ्नो खर्च धान्ने अवस्थामा पु¥याउन सक्नेगरी पञ्चवर्षीय व्यापारिक कार्ययोजना तयार पारेको छ ।

कम्पनीका महाप्रबन्धक रोभसकुसम सुवेदीले कर्मचारीको अवकास, संस्थागत क्षमता अभिवृद्धिको, नयाँ मेसिन र औषधिको संख्या थप्नेलगायतका ७ वटा विकल्पसहितको व्यापारिक कार्ययोजना उद्योग मन्त्रालयमा पेश गरेको बताए । उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक भार कम्पनीले आम्दानी गर्नसक्ने अवस्था आउने गरी कार्ययोजना तयार पारेको उनको भनाइ थियो ।

उद्योग पञ्चवर्षीय व्यापारिक कार्ययोजनामा १ अर्ब ५ करोड ६० लाख रुपैयाँ लगानी गनुपर्ने उल्लेख छ । जसमा २० करोड ५० लाख कर्मचारीको अवकासमा प्रयोग हुनेछ भने नयाँ मेसिन खरिद, थप १६ प्रकारका औषधि उत्पादन, हेमोडायोलोसिस र प्यारेटरल युनिट थपलगायतमा ९० करोड खर्च गनुपर्ने उल्लेख छ ।

उद्योगले लगानी थप गरेपछि सञ्चालनका लागि आवश्यक खर्च आफै धान्ने अवस्थामा पु¥याउन सक्ने भएपनि नाफामा सञ्चालन गर्न भने अझै १० बर्ष लाग्ने उल्लेख छ ।

उद्योगका महाप्रबन्धक सुवेदीले सिटामोलको माग बढिरहेकाले पञ्चवर्षीय व्यापारिक योजनामा २ वर्ष भित्र सिटामोलको उत्पादन सहज रूपमा हुने र कम्पनीको खर्च आफंै धान्नेसक्ने बताए ।
स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका गर्ने भन्दै १४ वर्ष अगाडिसम्म १ सय २० प्रकारका औषधि उत्पादन गरेर नाफामा सञ्चालित यो उद्योग राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्र बनेपछि आर्थिक भार थेग्न नसकेर बन्द जस्तै भएको थियो ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह