काठमाडौं । नेपालको जलविद्युत् इतिहासमै कालो धब्बाका रुपमा लिइएको अरुण तेस्रोबाट विश्व बैंकले हात झिकेको २३ वर्ष पूरा भएको छ । यो अवधिमा नेपालले जति नै प्रयाश गरे पनि विश्व बैंकको मन फर्किएन र नेपालको कुनै पनि जलविद्युत आयोजनामा लगानी गर्न विश्व बैंक तयार भएन ।
अरुण तेस्रोबाट हात झिकेको २३ वर्षपछि विश्व बैंक अरुण नदीकै आयोजनामा फर्कने रुचि देखाएको छ । तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पत्रले नेपालबाट फर्किएको विश्व बैंक संयोगवश नेपालकै दल सत्तामा रहेको बेला फर्किन लागेको हो ।
विद्युत् प्राधिकरणले विश्व बैंकलाई माथिल्लो अरुणमा लगानीका लागि प्रस्ताव गरेको छ भने यसमा बैंक सकारात्मक देखिएको छ । हुन त विश्व बैंकले आईएफसीमार्फत निजी क्षेत्रले निर्माण गर्न लागेको ३७.६ मेगावाटको काबेली ए मा लगानी गरेपनि यसलाई बैंकको लगानी मान्ने कि नमान्ने भन्नेमा विवाद छ ।
विश्व बैंकले नै माथिल्लो अरुणमा लगानी गर्नका लागि इच्छुक रहेको र यसको टुंगो एक महिनाभित्र लाग्ने बताएको छ । आयोजनाको विस्तृत अध्ययनका लागि सहुलियतपूर्ण ऋण दिएको विश्व बैंकले आफ्नो मापदण्ड अनुसारको अध्ययन र प्रतिवेदन तयार गरिरहेको छ ।
बैंकका उपाध्यक्ष हार्टविग साफेरसहितको टोली नेपालमा रहँदा पनि यसबारेमा छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडासहित विश्व बैंकका उपाध्यक्ष स्थलगत अध्ययनका लागि संखुवासभा गएको छ भने आज विज्ञहरूको समूह जाँदैछ ।
विश्व बैंकले लगानी गर्ने भनिएको माथिल्लो अरुण ३३५ मेगावाट क्षमताको हो । तर, यसलाई बढाएर ७ सय मेगावाटसम्म बढाउन सकिने देखिएको छ ।
प्रतिक्रिया