Logo

अर्थनीति

सुनसान तातोपानी नाका, ५ हजार मजदुर बेरोजगार


GDP Nepal
   २८ आश्विन २०७९, शुक्रबार



–रुपक पुरी
चौतारा, २८ असोज (रासस): केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।

चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आउनुभएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ ।

नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ, शेर्पाले भन्नुभयो । सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन, कोदारीमा भेटिनुभएका पूर्णबहादुर श्रेष्ठले भन्नुभयो, “हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।”

असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुनसकेका छैनन् ।

लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउनुहुन्छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठ बताउनुहुन्छ ।

लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिनुभएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक हुनुहुन्छ । तर अझै उहाँले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिलेझैँ चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उहाँले बताउनुभयो ।

प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आव २०७६÷७७ मा रु एक अर्ब ५९ करोड राजस्व उठाइएको थियो । “सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ”, उहाँले भन्नुभयो । तातोपानी नाकाले गत आवमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

काठमाडौँबाट चीनको व्यापारिक क्षेत्र खासा एक सय २४ किमी र रसुवागढी एक सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिकरूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहकरूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिराको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो ।

बीस वर्ष अघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । “नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदै छन् ।” मुलुककै राजश्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटेपनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ ।
–––

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह