Logo

बिजनेस होम

१५ हजारलाई पछि पार्दै आईओएममा प्रतिमा, डाक्टर पढाउन गाउँलेले चन्दा उठाए !


appharu
   १० मंसिर २०७५, सोमबार


बाँके । जिल्लाको खजुरा– ४ डी गाउँकी १७ वर्षीय प्रतिमा शर्मा अहिले राष्ट्रियस्तरमै चर्चित छिन् । कारण हो– १५ हजार प्रतिस्पर्धीलाई पछि पार्दै उनी त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निकाल्नु ।

नेपालका मेधावी विद्यार्थीको मात्र नभै दक्षिण एसियाकै उत्कृष्ठ विद्यार्थीको पहिलो रोजाइमा पर्ने आईओएमको प्रवेश परीक्षामा पहिलो भएकी प्रतिमाको पारिवारिक जीवन भने गरिबीले थिचेको छ । सोही कारण उनलाई डाक्टर बढाउन लाग्ने खर्च जुटाउन गाउँलेहरुले चन्दा नै उठाउन थालेका छन् ।

?

प्रतिमाको परिवारको सम्पत्तिको नाममा १ कठ्ठा १८ धुर जग्गा छ, त्यही जग्गामा भित्ता भत्किएर टालटुल गरेको जीर्ण फुसको घर छ । त्यतिमात्र कहाँ हो र ? १० वर्षदेखि उपचाररत बिरामी बुबा अनि आम्दानीको स्रोत नहुँदा परिवार पाल्न हम्मेहम्मे छ ।

साथीको लहलहैमा उनले त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउने पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि विपन्न आरक्षण कोटामा फारम भरिन् । अजिंगरको आहारा दैवले जुराउँछ भने झँै दयनीय आर्थिक अवस्थाकी प्रतिमाले देशभरिका १५ हजार प्रतिस्पर्धीलाई पछि पार्दै एमबीबीएस अध्ययनका लागि शिक्षण अस्पताल महराजगन्जबाट प्रथम स्थानमा नाम निकाल्न सफल भइन् ।

यतिबेला प्रतिमा र उनको परिवारसंगै सिंगो ‘डी’ गाउँमा खुसीयाली छाएको छ । हुनेखानेले मात्र होईन धैर्यताका साथ लगनशील भइ अध्ययन गरे झुपडीमा बस्नेले पनि अभावै अभावकाबीच सफलताको सिँढी चढ्न सक्ने नमुनी बनेकी छन् प्रतिमा ।

पहिलो नम्बरमा नाम निकालेसँगै उनको एमबिबिएस पढ्ने धोको त पूरा हुने भएको छ, तर भर्ना, होस्टल बस्ने र खानाको खर्चको जोहो भने आफंैले गर्नुपर्ने हुँदा अध्ययनलाई निरन्तरता दिन चुनौती पनि उत्तिकै छ ।

प्रतिमा २०७३ सालको एसईई परिक्षामा खजुरा स्थित ज्ञानोदय नमुना माध्यमिक विद्यालयबाट सामुदायिक विद्यालय जिल्ला प्रथम भएकी थिइन् । त्यसयता काठमाडौंको द टाइम्स कलेजमा पूर्ण क्षात्रवृत्तिमा उनले ११ र १२ मा अध्ययन पूरा गरकी हुन् ।

आमा सीता शर्माका अनुसार उनी सानैदेखि कक्षामा प्रथम हुन्थिन् । स्कुलबाट फर्केपछि सामान्य खाजा खानसमेत मुस्किल थियो । तर, प्रतिमाले भोक प्यास नभनी नियमित पढाइमा लागिरहिन् । एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएपछि उनलाई धेरैजनाले घरमै आएर आर्थिक सहयोग गरिरहेको उनले बताइन् ।

“सबैको सहयोगले पढाई पूरा हुन्छ की भन्ने आशा छ,” हर्षको आँशु झार्दै आमा सीताले भनिन्, “समस्यामा परेकालाई भगवानरूपी समाजले पनि हेर्दारहेछन् ।”

त्यसो त प्रतिमाका वुवा मदन ढुंगानाले २०५४ सालमा एसएलसी पास गरेका हुन् । लामो समयसम्म शिक्षण पेशामा कार्यरत उनको टाउकोको शल्यक्रियापछि हाल १० वर्षदेखि मानसिक रोगले ग्रस्त छन् ।

उपचारमा धेरै पैसा खर्च भएपनि रोग निको नहुँदा प्रतिमाको परिवार तनावमा छ । घर व्यवहार चलाउन आमा सीताले नजिकैको पानी उद्योगमा मासिक ६ हजारमा काम गर्ने गरेको बताइन् ।

डाक्टर पढाउन समुदायको अभियान

विपन्न परिवारकी प्रतिमाले एमबीबीएस अध्ययनका लागि सर्वोत्कृष्ट भएसँगै भर्नाका लागि ४ लाख जुटाउन नसक्ने स्थिति आएपछि स्थानीय सन्तोष श्रेष्ठले आफ्नो नाममा ऋण लिएर उनी भर्ना भएकी थिइन् ।

सो ऋण तिर्न र अध्ययन अवधिभर लाग्ने करिब १५ लाखका लागि खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलकवीर सुनारले आफैंले ५० हजार सहयोग गरेर अभियान नै थालेर आर्थिक संकलन गरिरहेका छन् ।

उनको अभियानमा साथ दिँदै वडा नम्बर १ का वडाअध्यक्ष सुमन मल्लले आफ्नो तीन महिनाको पारिश्रमिक सहयोग दिएका छन् ।

आर्थिक संकलनलाई पारदर्शी र सहजताका लागि प्रतिमा शर्मा सहयोग समिति बनाएर एनआईसी बैंक खजुरामा खाता खोलिएको छ । हालसम्म करिब सय जनाबाट ४ लाख बढी रकम संकलन भइसकेको र प्रतिमालाई एमडीसम्म पढाउने जिम्मा अब आफूहरूको भएको वडाअध्यक्ष सुनारले बताए ।

यतिबेला प्रतिमालाई सहयोग गर्नेको दिनहुँ ओइरो लाग्ने गरेको छ । व्यक्तिगत सहयोगदेखि देउसी भैलो खेलेको रकम उनको सहयोगका लागि प्रदान हुन थालेको छ । बुधबार उनको घरमा पुग्दा ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दिपक शाही र प्रदेश नम्वर ५ का संयोजक संयोगजंग शाहले घरमै पुगेर २१ हजार १ सय १ रुपैयाँ सहयोग गरे ।

देउसी खेलेर संकलित रकमवाट विपन्न परिवारकी चेलीको अध्ययनका लागि मानवीय सहयोग गर्न थालेको उनीहरूले बताएका छन् ।
शब्द तथा तस्बिर लक्ष्मण ढुंगाना/कारोबार दैनिक

प्रकाशित : १० मंसिर २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह