Logo

मुख्य समाचार

बन्द हुने अवस्थामा कङ्क्रिट मिक्सर मेसिन उद्योग


GDP नेपाल
   १३ कार्तिक २०७९, आइतबार


चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इञ्जीनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ ।

वि सं २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कङ्क्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ । एक समय वार्षिक एक हजार हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको कम्पनीले गत वर्ष मुस्किलले एक सयवटा मेसिन निर्माण गरेर बिक्री गरेको थियो । यस वर्षदेखि भने उद्योग चल्ने अवस्थामा नरहेको कम्पनीका सञ्चालक ताराप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उहाँले बताउनुभयो । “सरकारले हामीलाई सहज वातावरण बनाइदिए यस्ता उद्योग अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ”, उहाँले भन्नुभयो । उहाँको उद्योगले नयाँ मेसिनका लागि चाहिने पार्टस् उत्पादन बन्द गरिसकेको छ । बनेर बसेको १५–२० वटा मेसिन बिक्री भएपछि नयाँ उत्पादन नगर्ने निर्णयमा पुगेको सञ्चालक पौडेलले बताउनुभयो ।

चितवन, रुपन्देहीलगायतका जिल्लामा १५ वटा यस्ता उद्योग सञ्चालनमा थिए । अहिले घटेर दुईवटा उद्योगमा खुम्चिएको छ । चितवन र रुपन्देहीमा एक–एक उद्योग सञ्चालनमा छन् । रुपन्देहीमा रहेको नेशनल इञ्जीनियरिङ मेटल प्रालि एक समय सर्वाधिक वार्षिक एक हजार पाँच सयसम्म मेसिन उत्पादन गर्दथ्यो । अहिले घटेर एक सय मात्रै मेसिन उत्पादन गर्ने गरेको छ ।

सरकारले यस उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १० देखि १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी रु पाँचका दरले अन्तःशुल्कसमेत थप गरेको छ । तर यही सिङ्गो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र चार प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ । यस नीतिलाई सच्याउन उद्योगीले सरकारसँग पटक–पटक माग गरिरहेका छन् । तर माग सुनुवाइ नहुँदा छिट्टै उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ ।

नेशनल इञ्जीनियरिङ मेटलका सञ्चालक रामप्रसाद खनालले सरकारले उद्योगीको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताउनुभयो । “हामीले अहिले मात्र होइन, पटक–पटक कच्चा पदार्थको भन्सार दरबारे माग राखेका थियौँ, तर अहिलेसम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौँ”, उहाँले भन्नुभयो । उद्योगीका साझा संस्था नेपाल उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन् । तर ती कुराको सुनुवाइ नहुँदा झन् समस्या बल्झिन थालेको चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । “सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्” उहाँले भन्नुभयो ।

पछिल्लो समय अन्य उद्योगधन्दा पनि खुल्ने क्रम जारी छ । तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ । चितवन उद्योग सङ्घका उपाध्यक्ष युगराज वस्तीले युवा उद्यमी व्यवसायीलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाउनुभयो । उहाँले कङ्क्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योग बन्द हुँदै गर्दा युवा रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताउनुभयो । उहाँले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालका कङ्क्रिट मिक्सर मेसिन उद्योगमा सुरुआती समयमा चार सय ५० भन्दा बढीले रोजगारी पाएका थिए । उद्योग बन्द हुँदै जाँदा अहिले घटेर एक सयमा झरेको छ । नेपालमा उद्योग बन्द हुँदै जाँदा बर्सेनि ११ हजार बढी कङ्क्रिट मिक्सर मेसिन विदेशबाट आयात हुँदै आइरहेको छ । यसबाट रु ७६ करोडभन्दा बढी रकम विदेशिने गरेको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह