Logo

घुमफिर

शनिबार मात्रै दुई हजारबढी पर्यटक पर्वत पुगे


GDP नेपाल
   १३ कार्तिक २०७९, आइतबार


तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।

“एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भन्नुभयो, “त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।” उहाँले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताउनुभयो ।

त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै हुनुहुन्थ्यो । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।

तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताउनुभयो । “कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उहाँले भन्नुभयो, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।”

शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति रु पाँच सय तोकिएको छ ।

कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।

“म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उहाँले भन्नुभयो, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह