Logo

अर्थनीति

चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै निकासी बढाउनुपर्छ: कार्यवाहक राष्ट्रपति पुन


GDP Nepal
   २४ कार्तिक २०७९, बिहिबार


काठमाडौं । सम्माननीय कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उहाँको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा आयोजित समारोहमा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।

“हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ र यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।

चीनजस्तो संसारकै आर्थिक रुपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हाम्रा लागि नेपालका लागि ठूलो अवसर पनि भएको र चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादनहरु निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उहाँको भनाइ छ ।

पछिल्लो दशकमा भूकम्प, पहिरो तथा कोभिड महामारी जस्ता कारणले नेपाल चीनबीचको व्यापारिक सम्बन्ध अपेक्षित विस्तार हुन सकेको उल्लेख गर्दै उहाँले नेपाली वस्तु निकासी गर्दा कच्चा पदार्थको प्रशोधन गरी पूर्ण रुपमा तयारी बस्तुमात्र निकासी गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभयो । उहाँले दुवै मुलुकबीच रहेको पुरानो सम्बन्धलाई अब व्यापार व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का अध्यक्ष रेन होङबिनले शुभकामना पठाउँदै कोभिड महामारीका कारण द्विपक्षीय व्यापारमा कमी आएको उल्लेख गर्दै आउँदा दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष होङबिनले पठाउनु भएको शुभकामनामा भनिएको छ, “हामी आशा गर्छौं कि महामारी पछि हामीसँग सहयोग जारी राख्न, दुबै देशका उद्यमहरूको लागि राम्रो प्लेटफर्महरू प्रदान गर्ने थप अवसरहरू हुनेछन् ।”

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापारघाटा २ खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दी लगायतका कारणहरु रहेको बताउनुभयो ।
कोभिड महामारीपछि चीनमा ठूला व्यापारिक मेला हुन नसक्नु र नेपाली व्यवसायीले पहिलेजसरी खुला रुपमा भ्रमण गर्न नसक्नेजस्ता कारणले निकासी व्यापार प्रभावित भएको उहाँको भनाइ छ ।

नेपाल र चीनबीच रहेका मुख्य दुई नाका तातोपानी र केरुङमा लागू भएको कोटा प्रणाली अन्त्य भइ पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने तथा चीनका विभिन्न गन्तव्यमा सीधा उडान गर्दै एयर कनेक्टिभिटी बढाउनु पर्ने आफूहरुको माग रहेको अध्यक्ष तुलाधरले बताउनु भयो । दिगो पर्यटकीय विकासका लागि स्थल नाकाबाट पनि पर्यटकलाई आवतजावत गर्न दिइनुपर्ने उहाँको भनाइ छ ।

संघले चीन र नेपालबीच रहेको भुक्तानीमा अवरोध हटाउन माग गरेको छ । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्बन्धमा नेपालका प्रधानमन्त्रीको हरेक पटकको चीन भ्रमणमा द्विपक्षीय सहमति हुँदै आए पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसकेको अध्यक्ष तुलाधर बताउनुहुन्छ ।

“दुई देशबीचको व्यापार अभिवृद्धिका लागि चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने व्यवस्था र नेपाली तथा चिनियाँ वाणिज्य बैंकबीच भुक्तानी सम्बन्धी सम्झौता हुनुपर्छ,” अध्यक्ष तुलाधरले भन्नुभयो, “हाम्रो व्यापारिक भुक्तानीका लागि मात्र नभै नेपालमा चिनियाँ लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि पनि यो निकै महत्वपूर्ण छ ।”

निवर्तमान अध्यक्ष श्रेष्ठलगायत सम्मानित
नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाका अवसरमा संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको छ । निवर्तमान अध्यक्ष श्रेष्ठको कार्यकालमा नेपाली व्यवसायीले चिनियाँ मेलाहरुमा सहभागिताको अवसर पाएको र चीनका विभिन्न बिजनेस एशोसिएसनहरुसँग सहमति गर्न सफल भएको भन्दै सम्माान गरिएको संघका महासचिव विवेक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्मानित हुने कम्पनीहरुमा नेपाल चीन जलविद्युत् क्षेत्रको पहिलो साझेदार कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी, चीनका विभिन्न सहरमा उडान भर्दै आएको हिमालय एयरलाइन्स, चीनसँगको व्यापारमा सहजीकरण गर्दै आएको सिल्क ट्रान्सपोर्ट कम्पनी रहेका छन् ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह