Logo

राजनीति

डा. लोहनी भन्छन्– बुद्ध भूमिमा सरकार नै चर्चको बजारीकरणमा लाग्नु दुर्भाग्यपूर्ण !


appharu
   १६ मंसिर २०७५, आइतबार


काठमाडौं, १६ मंसिर । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौंमा भएको ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाए । उनले यो कार्यक्रमको तामझामको लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको आरोपसमेत लगाए ।

पूर्वमन्त्री समेत रहेका लोहनीले भने– डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ ।’
सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो भन्दै उनले प्रश्नसमेत तेर्साए ।

डा. लोहनीले भने नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठूलाबडाका दम्पतिसहित आशीर्वाद लिने काममा सिमित रहेको देखिएको बताए । “युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो,” उनले भने ।
दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य रहेको डा. लोहनीको टिप्पणी छ ।

उनले प्रधानमन्त्री, मन्त्री तथा नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुले आर्शिवाद नै लिनुपर्ने भए नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मुल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुने नि भन्दै नेपालका अगुवाहरुले यसरी आर्शिवाद लिएकोमा आपत्ति जनाए ।
उनले भने– अब उनीहरुपनि त्यही संस्थाको परिवार भए । प्रकारान्तरले यो सम्मेलनले ईशाईलाई बढावा दिएको छ ।’ आफू धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति भएको सुनाउँदै उनले यो सम्मेलन नेपालको संविधानविपरित पनि रहेको जिकिर गरे । वर्तमान प्रधानमन्त्री ओलीजीले नेपालको संविधानलाई चूनौति दिने काम गर्नुभयो । “अमेरिकालगायत अन्य देशमा यो संस्थाले कम्युनिष्टहरुको विरुद्धमा पैसा लगानी गर्दै आएको छ । तर, त्यही संस्थाको पक्षमा यो कम्युनिष्ट सरकार किन उभियो ? मलाई आश्चर्य लागेको छ,” उनले भने ।

नेपाल सरकारले विवादस्पद संस्थाको बजारीकरण र बढावा दिन, र उनीहरुको हातबाट आर्शिवाद लिने काम किन गर्यो भन्दै लोहनीले पटक–पटक प्रश्न समेत तेर्साए । उनले अझै प्रश्न गरे– कतै नदेखिनेगरि उनीहरुबीच लेनदेन त भएको छैन ? कतै नदेखिनेगरि नेपालको राष्ट्रियता, गरिमा र अस्मिता बेचबिखन त भएन ?, त्यही भएर हाम्रो पार्टीले सम्मेलनमा भाग नलिएको हो । हामी सरकारले आयोजना गरेको भोजमा पनि सहभागी भएनौं ।’

वर्तमान सरकारसँग स्पष्ट दृष्टिकोण र चिन्तन नदेखिएको उनको गम्भीर आरोप छ । उनले भने,‘सरकार लहडमा चलेको छ । मन्त्री तथा प्रधानमन्त्रीबाटै यस्तो कार्यक्रमलाई प्रोत्साहन भएको छ । जनताले दिएको विश्वास दुरुपयोग भएको छ ।’ सरकारले यो ९ महिनामा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि उनको अर्को आरोप छ ।

उनले भने– प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नुभएन वा उहाँले नियन्त्रण नै गर्न चाहनुभएन् । सक्नुभएन भनौं भने दुई तिहाईको बहुमत छ । तर, भ्रष्टाचार व्यापक बढेको छ।’ साँढे ३३ केजी सुन तस्करी प्रकरण कहाँ पुग्यो भनेर उनले प्रश्नसमेत तेर्साए । उनले भने,‘यही तरिका हो भने अब भ्रष्टाचार नियन्त्रण हुने स्थिति छैन् ।’
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा उनले सरकारले आलोचना गरे । उनले भने,‘न्याय चाहियो भनेर पोष्टर टाँस्यो कि सरकारले बल प्रयोग गरेर च्यातिदिने काम गरेको छ । यो सरकारकोलागि लज्जास्पद कुरा हो । यसले त मुलुकको असुरक्षाको विम्ब नै देखाएको छ । सरकारले मुलुकको शान्ति, सुरक्षाको उपेक्षा गरेको छ ।’
सरकारको काममा पनि व्यापक हा«स आएको उनको भनाई छ ।

प्रकाशित : १६ मंसिर २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह