गणेश तिमिल्सिना/भोजपुर
षडानन्द नगरपालिका १३ बोया बेखुम्चामा एउटा घर छ गीता र अनुरागको । सानो चिटिक्क परेको सफा घर, शौचालय र नजिकै खोलेचारो पकाउने कटेरो र भाँडा माझने मचान अलि पर व्यवस्थित बाखाको खोर छ ।
हुर्कंदै गरेका दुई छोरीहरु पनि बा–आमाभन्दा कम छैनन् । पढाइबाट फुर्सद हुनेबित्तिकै बाबा आमालाई सघाउन पुगिहाल्छन् । गीता राई षडानन्द नगरपालिका १३ बोयास्थित श्री सूर्योदय बचत तथा ऋण सहकारी संस्थामा काम गर्छिन् भने अनुराग खेतबारी र गोठ सम्हाल्छन् ।
समृद्धिले ज्ञान दियो, बाखाले धन दियो । मेरो त जागिर नै बाख्राको हेरचाह गर्नु हो । बारी र खोर मेरो अफिस भएको छ । सालाखाला ५ ÷ ६ लाख बर्षको कमाइ भइहाल्छ जागिरेले पनि कति पो तलब कमाउलान् र ? परिवारको साथमा बाख्राको हेरचाह गर्दै गीता राईका श्रीमान् अनुराग राई बताउँछन् ।
दुई वर्ष पहिले ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाको सहकार्यमा वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान (भाग – १) तालिम सञ्चालन भयो । श्री सूर्योदय बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक गीताले तालिममा प्रतिनिधित्व गरी सहभागी भएपछि उनको परिवारको धेरै कुरामा महत्त्वपूर्ण परिवर्तन आएको छ ।
काम तथा व्यवसायबाट कमाएको केही हिस्सा बचत गर्ने, पारिवारिक बजेट बनाएर घरको आर्थिक व्यवहार गर्ने जस्ता साना देखिने तर महत्त्वपूर्ण व्यवहारिक पाटोहरुमा तालिममा सिकेका कुराहरु उनले लागु गरेकी छन् ।
यसैबीच समृद्धि आयोजना र सूर्योदय सहकारीको आयोजनामा समूह तथा व्यापारी र सेवा प्रदायकहरुको अन्तरक्रिया कार्यक्रम (बीटूबी) सञ्चालन सम्पन्न भयो। सो कार्यक्रममा भाग लिएकी गीताले व्यावसायिक बाख्रापालन र बजारबारे राम्रो जानकारी पाइन् ।
त्यसपछि घर सल्लाह गरी बाखामा लगानी बढाउने योजना बनाइन् । यस्तै केही गरौं भन्ने जाँगरिला किसानहरुद्वारा सञ्चालित सक्रिय बाख्रापालन समूहमा आबद्ध भइ गीता अहिले सचिवको भूमिका निर्वाह गर्छिन् ।
गीताले समृद्दि कृषि तथा पशुपालन फर्म दर्ता गरेर वैधानिक बाख्रापालनलाई जागिरको रुपमा हेर्ने गरी व्यवसाय थालिन् । सूर्योदय बचत तथा ऋण सहकारीको अन्तर समूहमा रहेको सक्रिय बाख्रापालन समूहलाई समृद्दि आयोजनाले प्रदान गरेको पूरक अनुदानमार्फत उनले पहिलो किस्ताको रकम पनि पाइन् ।
तत्पश्चात गीताका दम्पतिले परम्परागत खोरलाई सुधार गरेर माउ बाखा पाठापाठी र बोका राख्ने बेग्ला बेग्लै कोठा मलमुत्र सहज रुपमा जम्मा हुने गरी तयार गरे। खेतबारीमा हुने घाँस र तरकारीबाहेक उनले खरबारी तथा डाले घाँस खेती गरेकी छन् ।
समूहमा घाँसको व्यवस्थापन तथा उन्नत जातको बिउ बोकाबाट नस्ल सुधार हुँदा व्यावसायिकतामा सहजता हुँदै गएको उनी बताउँछिन् । अहिले उनीसँग २५ माऊ बाखा, १७ ओटा खसी १८ ओटा पाठापाठी गरी जम्मा ६० ओटा छन् । लगभग ३ लाख जति पर्ने खसीबोका खोरमा रहेका छन् । यो बर्ष बाखाबाट एक लाख ८० हजार आम्दानी भएको लेखा राई जोडीले राखेका छन् ।
यी बाहेक खोरबाट निस्केको मलमुत्र प्रयोग गरी तरकारी र अकबरे खुर्सानीमा लगाएर अर्को फाइदा लिएका छन् । यो वर्ष तरकारीले ६० हजार र अकबरे खुर्सानीले ८० हजार आम्दानी लिइरहेको बताउँदै अब थप एक लाख ५० हजार कमाउने योजना भएको उनी सुनाउँछिन् ।
कमाएको रकम उनीहरूले घरायासी खर्चबाट बचाएर सम्पति, जमिन जोडेर केही लगानी गरेका छन् ।
गाँउकै नमुना र आदर्श यो परिवारले अरुलाई प्रेरणा दिएका छन् । उनीहरुको सिको गरेर अहिले बोया बाखा तथा तरकारी उत्पादन व्यवसायीहरुको थलो बनेको छ । हरेक युवा आफ्नो गोठ र बारीमा व्यस्त देखिन्छन् ।
गाँउमा यस्तो लहर देखेर कृषिमा लगानी र अनुदान बढाउने योजनामा रहेको कुरा वडाध्यक्ष इन्द्रकुमार श्रेष्ठ बताउँछन् ।
समृद्धि आयोजनाको सहयोगमा सहकारीले सञ्चालन गरेको वित्तीय शिक्षा तथा व्यावसायिक सीप विकासको भाग – १ (फिक) तालिममा पछि उल्लेख्य परिवर्तन महसुस भएको सहकारीका पूर्व अध्यक्ष तथा १४ नं वडा अध्यक्ष झम्क रोका बताउँछन् ।
गीता र अनुरागको पौरखको सिको गर्ने हरेक परिवारको पनि अवश्य आर्थिक उन्नति हुने छ ।
सफलताका कथाहरुबाट
प्रतिक्रिया