Logo

मुख्य समाचार

‘बैंक सञ्चालक र व्यवसायी एकै व्यक्ति’को विषय महासंघको चुनावी स्टन्ट मात्रः ढकाल


GDP Nepal
   १३ मंसिर २०७९, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाको सञ्चालकमा उद्योगी व्यवसायी रहनु स्वाभाविक भएको भन्दै यस विषयलाई केही व्यवसायीले चुनावी स्टन्टका रुपमा उपयोग गर्न खोजेको टिप्पणी गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले मंगलबार महासंघका आयोजित कार्यक्रममा व्यवसायी नै बैंक सञ्चालक रहँदा कुनै पनि स्वार्थको द्वन्द्व नहुने उल्लेख गर्दै यस विषयलाई नेपाल उद्योग वाणिज्य महासंघको चुनावी अभियानमा कसैलाई तेजोवोध गर्न ल्याइएको बताए ।

“बैंकको सञ्चालक समितिमा पहिलेदेखि नै व्यवसायीहरु हुने गरेका छन्,” ढकालले भने, “तर, यो विषय विगत तीन–चार वर्षदेखि निकै जोडतोडका साथ उठाउन खोजिएको छ र त्यो किन भने यसैलाई हतियार बनाएर केहीलाई महासंघको राजनीति गर्नु छ ।”

ढकालले आफू विगत १५ वर्षदेखि ग्लोबल आईएमई बैंकको अध्यक्ष रहेको स्मरण गर्दै बैंकभन्दा अन्य व्यवसायबाट प्राप्त मुनाफा राम्रो रहेको बताए । “बैंकको मुनाफा र लाभांशभन्दा व्यवसायको प्रतिफल राम्रो हुन्छ,” उनले भने ।

ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्था नाफामुखी रहेको आरोप लगाइरहँदा ढकालले मंगलबार त्यस विषयमा आफ्नो धारणा राखेका हुन् ।

महासंघको चैतमा हुने साधारणसभालगत्तै अध्यक्षको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ढकालले महासंघ नेतृत्वमा बैंकको सञ्चालक वा प्रवर्द्धक पुग्ने आफू पहिलो नभए पनि आफैंविरुद्ध केही व्यवसायीले यस विषयलाई तेजोवोध गर्न खोजिएको बताए ।

महासंघ नेतृत्वले बैंक वा वित्तीय संस्थाको मात्र हित हेर्ने गरेको उदाहरण यसअघि कहिल्यै नरहेको र अब पनि त्यस्तो स्थिति नआउने उल्लेख गर्दै ढकालले उद्योग व्यवसाय र बैंक वित्तीय संस्था एक अर्काका परिपुरक भएको धारणा राखे ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह