Logo

अर्थनीति

मौद्रिक नीतिको त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनायोः हान


GDP Nepal
   १३ मंसिर २०७९, मंगलबार


काठमाडौं । होटल संघ नेपाल (हान)ले नेपाल राष्ट्र बैंकद्वारा आइतबार जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनाएको जनाएको छ ।

संघले कोरोनाले थलापरेको पर्यटन तथा होटल व्यवसायी बैंकको साँवा ब्याज भुक्तानीका लागि चरम ताकता र उच्च ब्याजदरबाट देशैभर आन्दोलित रहेको अवस्थामा यस समीक्षाबाट केही सहज गर्ने गराइने आश्वासन प्राप्त भए पनि होटल व्यवसायीहरुको न्यूनतम मागहरु समेत पूरा हुन नसकेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“हामीले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालाहरुसँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि ताकेता गरेका थियौं र यस प्रयत्नहरु जारी नै छ,” संघले भनेको छ ।

संघका अनुसार होटल उद्योगले बैंकहरुलाई तिर्नु बुझाउनुपर्ने साँवा र ब्याज कोरोना कालमा शून्यको अवस्थामा झरेको कारोबारका कारण समयसीमाभित्र बुझाउन नसकेकोले यसका लागि समयावधि बढाउने सम्बन्धमा सहजिकरण गरिदिन आग्रह गरिएको थियो ।

यस्तै, अत्यधिक वृद्धि भएको ब्याजदर घटाई होटल संचालन गर्नका लागि पुनर्तालिकिकरण तथा पुनरकर्जा व्यवस्थापनमा व्यवहारिक र सहज स्पष्टता सहितको व्यवस्था गर्न आग्रह गरिएता पनि यस समीक्षाले कुनै पनि किसिमको सम्बोधन नगरेबाट आफूहरुको व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको संघको भनाइ छ ।

“मुलुकमा निजी क्षेत्रको सत्प्रयास, ठूलो लगानी र जोखिम मोल्न सक्ने विशष्ट क्षमताबाट विकास भई आजको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकसित नेपालका होटल उद्योग व्यवासयहरुको नै संरक्षण गर्न सक्दैनौं भने भोलिका दिनमा लगानी विस्तार समेत हुन सक्दैन,” संघले भनेको छ ।

मुलकको आर्थिक वृद्धिमा होटल तथा पर्यटन उद्योगको योगदानलाई गणितीय तथ्यांकका रुपमा मात्रै विश्लेषण गरी यस उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मूख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज गरिएको संघको भनाइ छ ।

होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउँदै अब आउने सरकारको नेतृत्वले आफूहरुका उचित माग सम्बोधन गर्नुपर्ने संघको माग रहेको छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह