काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा नेपालले झन्डै ११ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार फागुन मसान्तसम्म व्यापारघाटा ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको फागुनसम्म नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।
विभागका अनुसार निर्यातको वृद्धिदर खुम्चिएको छ भने आयातमा उल्लेख्य वृद्धि भइरहेको छ ।
फागुनसम्म १२ खर्ब ८९ अर्ब २५ करोडको वस्तु आयात भएको छ । अघिल्लो वर्ष ११ खर्ब ४५ अर्ब ५६ करोडको आयात भएकोमा चालू आवमा १२.५४ प्रतिशतले बढी हो ।
यस्तै, यस अवघिमा निर्यातको वृद्धिदर २०.८३ प्रतिशत मात्र रहेको छ । अघिल्लो फागुनसम्म १ खर्ब ५८ अर्बको निर्यात भएकोमा चालू आवको फागुनसम्म १ खर्ब ९१ अर्ब ११ रकोड रुपैयाँ बराबरको निर्यात भएको तथ्यांक छ ।
यसरी आयात र निर्यातमा भएको वृद्धिसँगै कूल वैदेशिक व्यापार पनि १३.५५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको फागुनमा १३ खर्ब ३ अर्ब ७३ करोडको वैदेशिक व्यापार भएकोमा चालू आवको सोही अवधिमा १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ ।
कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने बढ्न सकेको देखिँदैन । अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेको वैदेशिक व्यापारमा निर्यातको हिस्सा चालू आवको फागुनसम्म १२.९१ प्रतिशतमा सीमित छ ।









प्रतिक्रिया