नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताउनुभएको छ । उहाँका अनुसार विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक रु १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुनाका साथै नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दो छ ।
अध्यक्ष शाक्यले भन्नुभयो, “हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक रु पाँच अर्बभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने गरेको छ ।”
हस्तकलाको सामान उत्पादनमा महिलाको सहभागिता ८० प्रतिशतभन्दा बढी छ । यस्ता समान बनाएरै परिवार चलाउँदै आउनुभएकी दाङकी राजकुमारी चौधरीले भन्नुभयो, “टोकरी, गमला, पूजादानी, चकटीलगायत सामान बनाउने गरेको छु । सुरुवाती चरणको व्यवसाय भए पनि व्यापार सन्तोषजनक हुनाका साथै घर खर्च पनि चलेको छ ।”
त्यस्तै कटनबाट उत्पादित सामग्रीको व्यापार गर्नुुहुने ललितपुरकी हसना महर्जनले भन्नुभयो, “नेपाली उत्पादन बलियो राम्रो र सस्तो पनि हुन्छ ।”
हस्तकलाका लागि आवश्यक कच्चापदार्थ भारत, चीन, स्वीडजरल्याण्ड, दुबईलगायत देशबाट आयात हुने गरेको छ । उत्पादित यस्ता सामानको माग स्वदेशभन्दा विदेशमा राम्रो रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।
विदेशी पर्यटक घुम्न आउँदा हस्तकलाको सामान बढी खरिद गर्ने गरेको पाइन्छ । हालै सम्पन्न एक हस्तकला व्यापार मेलामा सहभागी हुनुभएकी फिनल्यान्डकी पर्यटक रुट भाराले नेपालको सामान राम्रो र गुणस्तरीय भएका कारण आफूलाई धेरै मनपर्ने बताउनुभयो ।
सोही मेलमा पश्मिनाको सामान खरिद गर्नुभएकी फिनल्याण्डकी टेरी तेरिस्कोनटीले भन्नुभयो, “हातबाट बनाइएका सामग्री भरपर्दो, सुन्दर र मूल्य पनि सन्तोषजनक हुने भएकाले स्वदेश फर्किदा पनि नेपाली सामान नै खरिद गरेर लैजान्छु ।”
हस्तकलाका सामान नेपालमै कम उत्पादन हुने भएकाले मागअनुसार निर्यात गर्न नसकिएको अध्यक्ष शाक्यको भनाइ थियो । देशमा दक्षजनशक्ति कम हुँदा स्थानीयस्तरमा उत्पादित सामग्रीसमेत खेर गइरहेको बताउँदै उहाँले सरकाले तालिमको व्यवस्था गरे रोजगारका लागि विदेश धाउन नपर्ने र स्वदेशी उत्पादनले नै विदेशी मुद्रा भित्रिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया