काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा ‘मर्जर किङ’को उपमा पाएको ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाडौंसँग मर्जर गरी सोमबारबाट एकीकृत कारोबार गर्दैछ ।
एकीकृत कारोबारसँगै मुलुकको सबैभन्दा ठूलो बैंकका रुपमा ग्लोबल आईएमईको बैंक तथा वित्तीय क्षेत्रमा बजार हिस्सा नै करिब १० प्रतिशत पुग्ने देखिएको छ ।
ग्लोबल आईएमई बैंक कूल पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जालगायत धेरै परिसूचकका आधारमा देशकै सवैभन्दा ठूलो बैंक भएको छ ।
मर्जरपछि ग्लोबलल आईएमईको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुग्नेछ भने कूल पुँजी कोष ५७ अर्ब रहनेछ । यस्तै बैंकको कूल निक्षेप ४१० अर्ब, कूल कर्जा ४०० अर्ब तथा कूल सम्पति नै ५०० अर्ब रहने जनाइएको छ ।
मुलुकका ७७ वटै जिल्लामा सेवा पुर्याएको ग्लोबल आईएमईको कूल शाखा र ग्राहक सेवा इकाई मात्र १ हजार १ सय पुग्नेछ ।
“बीओकेसँगको हाम्रो सफल मर्जर पश्चात मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने आकारमा ग्लोबल आइएमई बैंक पुग्ने देखिएको छ,” बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्, “आजभन्दा एक दशक अगाडिसम्म यस्तो साइजको बैंकको कल्पना पनि सायद गरिएको थिएन तर मुलुकको आवश्यकतासँगै हामीले देशभित्रै ठूलो पुँजी भएका बैंकका रुपमा आफूलाई उभ्याउन सफल भएका छौं ।”
छिमेकी मुलुकका ठूला बैंकको तुलनामा ग्लोबल आईएमई बैंकको आकार अझै सानो देखिए पनि मुलुकको अर्थतन्त्रको साइजको तुलनामा ठूलो बैंकको परिकल्पना साकार भएको अध्यक्ष ढकाल बताउँछन् ।
ग्लोबल आईएमईले बीओकेसँगको मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंकसहित कूल २१ वटा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरेको छ । पर्याप्त पूर्वतयारी सहित गरिएका सबै मर्जरहरु विवादरहित ढंगले सम्पन्न गरेको भन्दै अध्यक्ष ढकालले व्यक्तिगतभन्दा संस्थागत स्वार्थलाई महत्व दिइएका कारण सफल हुन सकेको बताए ।
ग्लोबल आईएमईले यो मर्जरको थिमका रुपमा ‘टुगेदर फर मोर, ग्रोइङ टुगेदर फर नेसन बिल्डिङ’ TOGETHER FOR MORE … Growing Together for Nation Building लाई अघि सारेको छ ।
प्रतिक्रिया