Logo

बिजनेस होम

जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारदेखि, भारतीय अभिनेत्री मलैका अरोरा आउने !


GDP Nepal
   २६ पुस २०७९, मंगलबार


काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) ले आउँदो शुक्रबारदेखि जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्दैछ । राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा हुने एक्स्पो तीन दिनसम्म सञ्चालन हुने आयोजक नेग्जाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संघका अनुसार एक्स्पोको यो चौथो संस्करण हो भने एक्सपोले कोभिडसँगै शिथिल बनेको आभूषण व्यवसाय उकास्ने लक्ष्य लिएको छ ।

एक्स्पोको मुख्य आकर्षणको कार्यक्रम भने बिहीबार हुनेछ । याक एन्ड यतिमै हुने ‘ज्वेलरी फेशन शो’ मा विख्यात भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका अरोरा सहभागी हुनेछिन् ।

एक्स्पोमा आर. बी. डाइमण्ड ज्वेलर्स प्रा. लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेलर्स प्रा. लि., धनश्री ज्वेलर्स, डि.सी. डाइमण्ड प्रा. लि. आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।

कार्यक्रमले नेपाली गहना प्रतिको आकर्षणको साथै मौलिकता, क्षमता र संभावना बारे थप उजागर हुनेछ भन्ने संघले विश्वास लिएको अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् ।

अध्यक्ष श्रेष्ठका अनुसार एक्स्पोमा कूल ३८ कम्पनी सहभागी हुनेछन् । एक्स्पो संचालनमा नेपाल सरकारको साथै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाहरुको सहकार्य रहेको छ ।

एक्स्पो अवलोकन गर्न भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिलको उच्चस्तरीय प्रतिनिधि मण्डल आउने भएको छ ।

नेपाली बहुमूल्य आभूषण व्यवसायको विद्यमान अवस्था क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने एक्स्पोको लक्ष्य रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भनिन्, “आम उपभोक्तालाई एउटै छानामुनी आफ्नो रोजाई र चाहना अनुसारको डिजाइनका नेपाली बहुमूल्य आभुषण बारे जानकारी लिने र खरिद गर्न अवसर एक्स्पोले प्रदान गर्नेछ ।”

उनका अनुसार आभूषण व्यवसायीहरुलाई आम उपभोक्ताको रुचि बारे अद्यावधिक र थप जानकारी प्राप्त गर्ने अवसर उपलब्ध गराउने, व्यवसायीहरुलाई नयाँ प्रविधि र व्यापारिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने तथा यस व्यवसायसंग सम्बन्धित कालीगढ लगायत अन्य जनशक्तिलाई आम उपभोक्ताको चाहना र बजारको अवस्था वारे प्रत्यक्षरुपमा जानकारी लिने अवसर प्रदान गर्ने एक्सपोको लक्ष्य रहेको छ ।

यस्तै, आभुषण क्षेत्रमा विद्यमान नवीनतम प्रविधि बारे व्यवसायी, कालीगढ, उपभोक्ता आदि सबैमा अद्यावधिक अवस्थाको जानकारी गराउने, नेपाली बहुमूल्य आभुषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यातको लागि प्रोत्साहित गर्ने एवं स्वदेशी रत्न, पत्थरको उत्खनन्, प्रशोधन, उपयोग तथा निर्यात आदिको आवश्यकता र सम्भावनालाई उजागर गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह