काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन् । डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरुको भनाइ छ ।
दरवारमार्ग विकास बोर्डले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गर्दै व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए ।
अध्यक्ष तुलाधरले दरवारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरुले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरु आश्चर्यचकित र स्तब्ध भएको बताए ।
बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए । “हामीले पहिले निशुल्क पार्किङको व्यवस्था ग¥यौं तर महानगरले स्मार्ट पार्किङका नाउँमा घन्टाको ८० रुपैयाँ असुल्न थाल्यो,” उनी भन्छन्, “हामीले प्रतिघन्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाई भएन, अहिले त पार्किङ नै हटाइयो ।”
पार्किङ पुनस्र्थापनाका लागि आग्रह गर्न आफूहरुले मेयर बालेन शाहलाई पटकपटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ । “महानगरले एकतर्फी निर्णय ग¥यो तर यसको मूल्य हामीले मात्र हैन सरकारले पनि चुकाउने अवस्था आएको छ,” उनी भन्छन्, “हाम्रो दिनहुँ दशौं करोडमा हुने व्याापार आधा घटिसकेको, यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।”
दरबारमार्गसँग आर्थिक र पर्यटकीयसँगै सामाजिक मान्यता पनि जोडिएको व्यवसायीहरु बताउँछन् । काठमाडौं आएपछि एकपटक दरवारमार्ग जानैपर्छ भन्ने मान्यता आम नेपालीमा रहेको उल्लेख गर्दै नेपालको ‘डाउनटाउन’ दरवारमार्गको शाख महानगरका कारण गिर्ने अवस्थामा पुगेको कक्षपति बताउँछन् ।
व्यवसायीहरुले पार्किङ अविलम्ब पुनस्र्थापनाको माग गर्दै अन्यथा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । हाल दरबारमार्ग क्षेत्रमा ब्यानर टाँसी विरोध गरिएको र आवश्यक परे व्यवसाय नै बन्द गर्ने पूर्वअध्यक्ष कक्षपतिले बताए ।
प्रतिक्रिया