Logo

सूचना/प्रविधि

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार


GDP नेपाल
   १९ फाल्गुन २०७९, शुक्रबार


नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन् ।”

धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि पछिल्लो पटक बगरको डाँडामा राखिएको फोरजी टावरले सहयोग पुगेको छ । यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ ।

“गाउँमा फोन लाग्दैनथ्यो, मोबाइलमा कुराकानी गर्न डाँडामा पुग्नुपर्ने समस्या थियो”, धवलागिरि–४ बगरका चित्र तिलिजाले भन्नुभयो, “अहिले घरमै बसेर इन्टरनेट चलाउन पाइएको छ ।” मुक्तिनाथ, लोमान्थाङ, थोराङ्ला भज्ञ्याङ, रुकुम सिमानाको पातीहाल्ने, निसेलढोरलगायतमा पनि इन्टरनेट सेवा विस्तार भएको हो । टेलिकमले मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङलगायत उच्च बस्तीमा पनि फोरजी सेवा विस्तार गरिसकेको छ । ती स्थानमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक पनि सयौँको सङ्ख्यामा जान थालेकाले टेलिकमले सेवा विस्तार गरेको हो । बागलुङमा ६२ टावरमा टुजी, थ्रीजी ५७ र फोरजी ५४ वटा टावरमा जडान भएका छन् ।

म्याग्दीमा २२ टुजी, २१ थ्रीजी र १४ वटा फोरजी सेवा विस्तार भएको छ। मुस्ताङमा भने ३१ टुजी, २६ थ्रीजी र २४ वटा फोरजी टावरबाट सेवा सञ्चालनमा छ । पर्वतमा २८ टुजी, २१ थ्रीजी र २६ वटा फोरजी टावरसहितको सेवा विस्तार गरिएको बागलुङ टेलिकम शाखाले जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह