काठमाडौं । नेपाल सरकारका निकायगत सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरुको कूल संख्या ७३ रहे पनि उच्च तहमा बहाल रहेका महिलाको संख्या भने ६ जनामात्र रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल दुई मन्त्रालयमा सचिव महिला रहेका छन् भने सर्वोच्च अदालतमा एक रजिष्ट्रार महिला रहेको अवस्था छ ।
यस्तै, विशिष्ठ श्रेणीसरह मानिने उपमहालेखा परीक्षकको चार दरबन्दीमा दुई महिला रहेका छन् । नेपाल कानुन आयोगको सचिवमा पनि महिला नै रहेको देखिन्छ ।
सरकारका अन्य मन्त्रालय, आयोग, निकाय तथा विभिन्न प्रदेशको प्रमुख सचिवमा पुरुषहरु नै रहेको अवस्था छ । मुख्यसचिवमा हालसम्म कुनै महिला पुग्न सकेका छैनन् ।
हाल कार्यरत सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरुमा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा प्रमिला देवी बज्राचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या र प्रशासनमा देवकुमारी गुरागाई सचिव रहेका छन् ।
यस्तै, सर्वोच्च अदालतको रजिष्ट्रारमा निर्मला पौडेल तथा उप–महालेखा परीक्षकद्वयमा राममाया कुँवर र विन्दु विष्ट कार्यरत छन् । नेपाल कानुन आयोगको सचिवमा लीलादेवी गडतौला निरौला रहेको जनाइएको छ ।
प्रतिक्रिया