Logo

मुख्य समाचार

नापतौलको अनुगमन : ठगी गर्ने ७ हजार नौ सय व्यापारीलाई कारबाही 


GDP नेपाल
   ६ चैत्र २०७९, सोमबार


नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ । ”

सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि एक सय २५ पटक एकल अनुगमन र एक सय १६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताउनुभयो ।

चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, च चार सय १५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउनुहुन्छ । “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

सो कार्यालयले चालु आवको आठ महिनामा रु एक करोड ३५ लाख ६३ हजार छ सय ७९ राजस्व सङ्कलन गरेको छ ।

सो कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह