Logo

बिजनेस होम

व्यापार सहजीकरणका लागि सहयोग गरिदिन म्यानमारका राजदूतसमक्ष नेपाली उद्योगी व्यवसायीको आग्रह


GDP नेपाल
   ६ चैत्र २०७९, सोमबार


नेपाल समुद्रपार निकास पैठारी संघ र नेपाल म्यानमार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजले संयुक्त रुपमा नेपालका लागि म्यानमारका राजदूत यू सेइन ओ सँग भेटवार्ता गरेको छ ।

सोमबार बिहान भएको सो भेटवार्तामा दुई देशबीचको कुटनीतिक एवं व्यवसायीक सम्बन्धलाई थप सुदृढ बनाउने र दुवै देशका वस्तुहरुको आयात निर्यात गर्नेबारे छलफल भएको छ ।

सो भेटवार्ता का क्रममा नेपाल समुद्रपार निकास पैठारी संघका अध्यक्ष विनोद कुमार सेठीयाले नेपाली वस्तु निर्यातका लागि म्यानमारका व्यापारिक र सरकारी निकायहरुसँग सहकार्य गर्ने योजना बनाएको बताए ।

सो भेटका अवसरमा अध्यक्ष सेठीयाले व्यवसायीक, सांस्कृतिक, पर्यटन प्रवर्द्धन र जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य अनुसार नै म्यानमारसँग व्यापारिक सम्बन्धको लागि आग्रह गरिएको जनाए ।

नेपाल र म्यानमार विगत छ दशकदेखि नै सांस्कृति र धार्मिक रुपले एकअर्कासँग जोडिएको बताउँदै उनले म्यानमारका व्यापारीलाई नेपाल भ्रमण गर्न र व्यापारको अवसर खोज्न आग्रह गरे ।

“नेपाल सरकारले विभिन्न नीतिगत, संरचनात्मक र कानुनी सुधारहरूमार्फत नेपालमा व्यवसायमुखी, लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा दृढताका साथ काम गरिरहेको छ” उनले भने, “नेपाललाई नाफामुखी व्यापार गन्तव्य बनाउन सरकारले नयाँ बजारमैत्री प्रोत्साहन र नीतिहरू समेत ल्याएको छ ।”

सेठीयाले वैदेशीक लगानीका लागि नेपालको जलविद्युत, पूर्वाधार विकास, कृषि, पर्यटन, सूचना प्रविधि र खानी तथा खनिजन्य क्षेत्र प्राथमिकतामा रहेको जानकारी दिए ।

त्यस्तै, सो भेटमा नेपाल म्यानमार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका अध्यक्ष शिव कुमार अग्रवालले दुई देशबीच व्यापारिक र लगानी मैत्री वातावरण सिर्जना गर्दै दशकौँको सम्बन्धलाई अझै मजबुत बनाउन अनुरोध गरे ।

सो अवसरमा अध्यक्ष अग्रवालले पर्यटन प्रवर्द्धनका लागि म्यानमार सरकारलाई नेपालमा हरेक हप्ता कम्तिमा पनि एउटा उडान भर्न आग्रह गरे । यसले दुवै देशबीच सुमधुर सम्बन्ध कायम रहने र म्यानमारबाट गौतम बुद्धको जन्मभूमी लुम्बिनी आउने पर्यटकलाई समेत सहज हुने जनाए । यस्तै, अग्रवालले नेपाली प्रतिनिधिमण्डलले आगामी वर्ष म्यानमारको व्यापारिक र औद्योगिक क्षेत्रको भ्रमण गर्न लागेको जानकारी दिए ।

सो भेटमा समुद्रपार पैठारी संघका उपाध्यक्ष रतन केडीया र कार्यसमिति सदस्य जयन्त अग्रवालले विदेशी व्यापार अभिवृद्धिका सवालमा आफ्ना धारणा व्यक्त गरे ।

यस्तै, राउन्ड टेबल इन्टरनेशनलका अध्यक्ष समेत रेहका जयन्त अग्रवालले राजदूत समक्ष म्यानमारका युवा उद्यमीहरुसँग अन्तक्रिया कार्यक्रमको आयोजना गर्ने वातावरण मिलाउन आग्रह गरे ।

नेपाली व्यवसायी प्रतिनिधिमण्डसँगको भेटमा राजदूत यू सेइन ओ ले नेपाली व्यवसायीहरुले राखेको मागको सवालमा आफू सकारात्मक रहेको जनाउँदै म्यानमार सरकार र त्यहाँका उद्यमी व्यवसायीसमक्ष पनि यी विषयमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

सो भेटमा समुद्रपार पैठारी संघका महासचिव अनिल अग्रवाल, मदन मित्तल, प्रभात सराफलगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह