Logo

अर्थनीति

महासंघ निर्वाचनमा राजनीतिक लाभ कसलाई ?


GDP Nepal
   १४ चैत्र २०७९, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु टीमसहित देशव्यापी दौडाहामा छन् ।

वरिष्ठ उपाध्यक्षका दावेदारहरुमध्ये अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ आफ्नो टीमसहित देशव्यापी प्रचार अभियानमा जुटेका छन् भने रामचन्द्र संघई काठमाडौंबाटै रणनीति बनाउँदैछन् ।

यता, महासंघ वरिष्ठ उपाध्यक्षमा दावी गर्दै आएका दिनेश श्रेष्ठलाई भने उमेशलाल श्रेष्ठ टीममा जिल्ला नगर उपाध्यक्षमा बस्न राजी भएको प्रचार गरिए पनि दिनेश स्वयमले हालसम्म मुख खोलेका छैनन् ।

महासंघ विधानअनुसार वरिष्ठ उपाध्यक्षका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान अनुसार अहिलेकै अवस्थामा तीन उम्मेदवार भए पुनः मतदान गर्नुपर्ने स्थिति आउनसक्ने देखिन्छ । त्यस्तो अवस्थामा तेस्रो हुने उम्मेदवारको समर्थन निर्णायक हुनसक्छ ।

महासंघ निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत छ भने एशोसिएटको ३० प्रतिशत र वस्तुगत संघहरुको २० प्रतिशत रहेको छ ।

एशोसिएटमा प्रोक्सीका आधारमा मतदान हुने भएकाले त्यसको नतिजा पहिल्यै आकलन गर्न सकिने अवस्था छ भने वस्तुगतका अध्यक्षहरुमध्ये अधिकांशको कित्ता पहिल्यै खुलिसकेका कारण यो क्षेत्रबाट पनि निर्वाचित हुनेको मोटामोटी आँकडा निकाल्न थालिएको छ ।

महासंघ निर्वाचनमा यसपटक जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको मत निर्णायक हुने देखिन्छ । अढाई वर्षअघि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच भएको निर्वाचनमा एशोसिएट क्षेत्रले निर्णायक भूमिका निर्वाह गरे पनि यसपटक भने वस्तुगत र एशोसिएटका मतभन्दा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मत निर्णायक हुने देखिन्छ ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फका उपाध्यक्षहरुको उम्मेदवारीले पनि वरिष्ठ उपाध्यक्षको भविष्य निर्धारण गर्ने देखिन्छ । जिल्लानगर उपाध्यक्षमा दोस्रो प्रयासमा सफल भएका दिनेश श्रेष्ठ तेस्रोपटक सोही पदमा प्रतिस्पर्धामा उत्रिएमा भने उनका लागिमात्र नभै उनको टिमकै लागि यो जोखिमपूर्ण हुनसक्छ ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा अधिकांश राजनीतिक कार्यकर्ता चयन भएकाले परिणाम नआउने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । सत्ता समीकरण फेरिएसँगै महासंघको राजनीतिक समीकरणमा पनि बदलाव आउनसक्ने उनीहरुको भनाइ छ ।

महासंघ राजनीतिमा सत्ता समीकरणको लाभ वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले पाउने देखिन्छ । श्रेष्ठलाई सत्तारुढ नेपाली कांग्रेसको संस्थापनसहित दुवै पक्षको स्पष्ट समर्थन देखिन्छ । देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा कांग्रेसनिकट उम्मेदवारहरुको भारी बहुमत रहेको अवस्थामा पार्टीले प्रत्यक्ष ह्वीप जारी नगरे पनि अञ्जनकै पक्षमा माहौल बनाउने अवस्था देखिन्छ ।

अञ्जन श्रेष्ठको टीममा जिल्लानगर उपाध्यक्षका उम्मेदवार रहेका अरुणराज सुमार्गी प्रधानमन्त्री पुष्पकमल दाहालनिकट व्यावसायिक घरानाका रहेका कारण सत्तारुढ सबैजसो दलहरुको समर्थन यो टीमले पाउने देखिन्छ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठ र महासंघ वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठबीच ओलम्पिक कमिटी अध्यक्षमा दुईपटक प्रतिस्पर्धा भइसकेका कारण पनि माधव नेपाल समूहको सदभाव तुलनात्मक रुमपा अञ्जन श्रेष्ठ समूहले नै पाउने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठलाई प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट व्यवसायीहरुको खुला समर्थन रहने अवस्था छ । श्रेष्ठ एमाले अध्यक्ष ओली निकट मानिन्छन् भने उनलाई जीवनराम विरुद्ध ‘जति मत आए पनि लड्नू’ भन्दै ओलीले निर्देशन दिएकै कारण दुवैपटक ओलम्पिक कमिटिमा प्रतिस्पर्धा गरेको बताइन्छ ।

यद्यपि, कांग्रेसनिकट मानिएका पूर्वअध्यक्ष चण्डिराज ढकाल नै श्रेष्ठको पक्षमा रहेकाले कतिपय कांग्रेसनिकट व्यवसायीहरुले पनि श्रेष्ठलाई समर्थन गर्ने देखिन्छ । जिल्लानगरमा ढकालको कमजोर प्रभाव अघिल्लो निर्वाचनमै देखिएको भन्दै अञ्जन श्रेष्ठ र अरुणराज सुमार्गी समूह भने ढुक्कजस्तै देखिन्छ ।

महासंघ उपाध्यक्ष रामचन्द्र संघई सत्तारुढ राजनीतिक दलबाट समर्थनको प्रयासमा देखिन्छन् । नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा समानुपातिक सांसदको सूचिमा रहेका व्यवसायी सुरकृष्ण वैद्य उनकै प्यानलबाट जिल्ला तथा नगर उद्योग वाणिज्य संघ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेकाले सरकार समर्थित दलहरुबाटै सदभाव बटुल्ने उनको प्रयास देखिन्छ ।

कांग्रेस नेतृ एवं पूर्वप्रधानमन्त्री डा. आरजु राणा देउवाले संघईको पक्षमा केही व्यवसायीलाई ‘लाइन’ दिएको चर्चा पनि छ । डा. राणानिकट डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने चर्चाबीच यो लाइनले पनि केही काम गर्नसक्ने देखिन्छ । यद्यपि, अञ्जन श्रेष्ठ र आरजुका छोरा एउटै स्कुलमा पढेको र यो सम्बन्धले पनि त्यसमा प्रभाव पर्नसक्ने देखिन्छ ।

कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रभाव जिल्लास्तरमा रहेका कारण त्यसको लाभ अञ्जन श्रेष्ठले पाउन सक्छन् । यसअघि वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठसँगै प्रतिस्पर्धा गरेका अञ्जन श्रेष्ठले नाटकीय नतिजा निकाल्न सक्नुमा पनि कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य र हालका महामन्त्री थापाको प्रभावका रुपमा अर्थ्याइएको थियो ।

राष्ट्रिय राजनीतिमा पछिल्लो समय निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पनि अञ्जन श्रेष्ठलाई नै जाने देखिन्छ । रास्वपा सांसद मनिष झा लामो समयदेखि श्रेष्ठ निकट छन् भने यस पार्टीका अन्य नेताहरुसँग पनि उनको राम्रो सम्बन्ध रहेको बताइन्छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह